झापा, ६ भदौ । ताप्लेजुङबाट झापा आइरहेको यात्रुवाहक विद्युतीय भ्यान मेची राजमार्गमा दुर्घटना हुँदा घाइते भएका नौ जना घाइते भएका छन् । घाइतेहरुको विर्तामोडस्थित बीएन्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ३ धर्मकाँटास्थित सडकमा प्र१–०१–००१ज४०८८ नम्बरको उक्त भ्यान विहीवार राति १ः२० बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यानमा सवार चालकसहित नौ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बीएन्डसी हस्पिटल लगिएको र सडक अवरुद्ध नभएका कारण हाल भ्यान सडक किनारमै रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
घाइतेहरुमा ताप्लेजुङ जिल्लाको फुङलिङ गाउँपालिका २ बस्ने ३० वर्षीय चालक तथा सवारीधनी लाक्पा शेर्पा, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीय सेसेहाङ सुब्बा, सोही स्थानका ३४ वर्षीय प्रेम योङहाङ र सोही स्थानका ३२ वर्षीय टिका लिम्बु रहेका छन् ।
यसैगरी, घाइतेहरुमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने ४४ वर्षीय बिजय लिम्बु, सोही स्थानकी ४२ वर्षीया मनकुमारी लिम्बु, दमक नगरपालिका वडा नं. ३ बस्ने २१ वर्षीया मनिता धिमाल, सो स्थानका ४३ वर्षीया रीता धिमाल र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. १ की सुविमा लिम्बु रहेको प्रहरीले जनाएको छ ।