९ भदौ २०८२, सोमवार

भब्य सहभागितामा ब्रह्मकुमारी राजयोगको रक्तदान कार्यक्रम सम्पन्न

६ भदौ २०८२, शुक्रवार
Image

झापा, ६ भदौ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीले आज मेगा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मेचीनगर वडा नं. १० धुलावारीस्थित राधास्वामी सत्संग भवनमा विहान ८ बजेदेखि कार्यक्रम सुरु भएको थियो । 

कार्यक्रममा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल विशेष अतिथि हुनुहुन्थ्यो ।

उहाँहरु दुबै जनाले उद्घाटन सत्रमा बोल्दै रक्तदान महान कार्य भएको बताउनु भएको थियो । सेवा केन्द्रले अध्यात्मिक जागरण र मानव जीवनमा शान्ति ल्याउन अतुलनीय योगदान पुर्याएको धारणा ब्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य कुसुम कोइराला, रेडक्रसकी मेचीनगर उपसभापति बीना तामाङ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, सामाजिक व्यक्तित्व ईन्जिनियर कमल कोइराला लगायतको उपस्थिति रहेको थियो ।

ब्रह्मकुमारी अनुसा दिदीको अध्यक्षतामा र ब्रह्मकुमारी अनिसा दिदीको उद्घोषणमा भएको कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सफल बनाउन धुलाबारी क्याम्पस, रोटरी क्लव लगायतका संस्थाहरुले सहयोग पुर्याएका थिए । प्राविधिक सहयोग रेडक्रस सोसाइटी झापाले गरेको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको समाजसेवा प्रभागले आह्वान गरेको ग्लोबल मेगा रक्तदान अभियानको क्रममा धुलाबारीमा कार्यक्रमको आयोजना गरिएको हो ।

विश्वका १३७ देशमा केन्द्रको शाखा रहेको र सबै शाखामा यसै साता रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

(सबै फोटो : रञ्जना रजक)