झापा, ७ भदौ । एउटा वडाले कति बजेट पाउँछ होला ? रु. ५० लाख वा रु. एक करोड वा रु. दुई करोड ? योभन्दा धेरै बजेट वडाले पाउँछ भन्दा हत्तपत्त कसैले पत्याउँदैनन् ।
तर, आर्थिक वर्ष २०८२/८३ का लागि मेचीनगर नगरपालिकाको वडा नं. १० ले वार्षिक बजेट वापत रु. २९ करोड ५८ लाख १२ हजार २५६ पाएको छ ।
यो दावी वडाध्यक्ष नारायण खनालको हो । उहाँले नेपाल सरकार (संघीय बजेट), कोशी प्रदेश सरकार र स्थानीय सरकार (नगरपालिका)बाट यति धेरै वार्षिक बजेट प्राप्त गर्न सकेको बताउनुभयो ।
खनालका अनुसार मेचीनगर नगरपालिकाले यस वर्ष रु. दुई करोड १२ लाख ५० हजार बजेट वडा नं. १० का लागि छुट्याएको छ ।
यसैगरी, वडा कार्यालयले आफ्नै बजेटबाट रु. एक करोड ३५ लाख १२ हजार २५६ छुट्याएको छ भने संघीय सरकारले रु. नौ करोडभन्दा बढी बजेट वडाका विभिन्न परियोजनाका लागि बिनियोजन गरेको छ ।
यही वडामा विश्व बैंकको सहयोगमा सञ्चालित सडक लगायतका परियोजना चालू अवस्थामा छन् । सडकका लागि मात्र रु. १७ करोड बजेट विश्व बैंकले छुट्याएको उहाँले बताउनुभयो ।
यसरी वडामा खर्च हुनेगरी सबैतिरबाट प्राप्त हुन आएको कूल बजेट रु. २९ करोडभन्दा बढी भएको हो ।
आफ्नो वडामा एकै वर्षमा यतिधेरै बजेट आएकोमा वडाध्यक्ष खनाल हर्षित हुनुहुन्छ । मेचीनगर वडा नं. १० पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगरको केन्द्रभागमा रहेको छ । धुलाबारी बजार यही वडामा पर्दछ ।
मेचीनगर नगरपालिका बन्नु पूर्व धुलाबारी र काँकरभिट्टा अलग प्रशासनिक इकाई थिए भने धाइजन, ज्यामिरगढी र बाहुनडाँगी पनि अलग थिए ।
यही वडामा धुलाबारी क्याम्पस, मेची उद्योग वाणिज्य संघ, धुलाबारी मावि लगायतका ठूला संस्थाहरु छन् । नगरको मुख्य व्यापारिक केन्द्र धुलाबारी बजार पनि यही वडामा पर्दछ ।