९ भदौ २०८२, सोमवार

झापामै महावीर पुनले बेचे दुई करोड २५ लाखको किताब

८ भदौ २०८२, आइतवार
Image

झापा, ८ भदौ  राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ । 

आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक विक्री अभियान लिएर उहाँ गत एक महिना झापाका रहनु भएको थियो । यस अवधिमा उहाँको पुस्तक विक्रीबाट रु. दुई करोड २५ लाख संकलन भएको छ ।

महाकालीबाट पुस्तक विक्री गर्दै मेचीको किनार आइपुग्दा उहाँको सबैभन्दा बढी पुस्तक विक्री भएको जिल्ला झापा हुन पुगेको छ । उहाँको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति विक्री भएको थियो ।

झापाको १५ वटै पालिकामा उहाँ पुस्तक विक्रीका लागि पुग्नु भएको थियो । भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् रु. २४ लाख १४ हजार २५० को पुस्तक विक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्नु भएको भद्रपुरका दिपेश ढकालले बताउनुभयो ।

“उहाँ अति साधारण जीवन शैली भएको व्यक्तित्व हुनुहुँदोरहेछ,” ढकालले भन्नुभयो– “पुस्तक विक्री अभियानमा हिँड्दा उहाँले बाटामा पोलेका मकै र मोमो खाएर भोक मेटाउनु हुन्थ्यो । ऐस, आराम र सम्मानमा उहाँको रुचि हुँदैनथ्यो । आफुले लगाएका लुगा आफै धुनुहुन्थ्यो ।”

झापाबाट पुस्तक विक्रीका लागि इलाम पुग्नु भएको वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी हुनुहुन्छ । सामान बोक्ने सवारी साधनमा आउनु भएको उहाँ त्यही गाडी लिएर अभियानमा पुग्नुहुन्छ । उहाँको सहयोगीले गाडी हाँक्नुहुन्छ ।

विक्रीबाट संकलन भएको नगद उहाँले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रुपमा जम्मा गर्नुहुने ढकालले बताउनुभयो । “दिनभरि किताब बेच्न हिँड्दा खुट्टा सुन्निने गरेका छन्,” ढकाल भन्नुहुन्छ– “उहाँलाई आफ्नो स्वास्थ्यको पनि त्यति चिन्ता देखिदैन, जति चिन्ता उहाँ वीरगञ्जको औजार कारखाना चलाउने विषयमा लिनुहुन्छ ।”

पुस्तक विक्रीबाट संकलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले बताउनु भएको छ ।

आत्मकथा बेच्दै हिँडेको पाँच सय दिन पूरा भएको जनाउँदै वैज्ञानिक पुनले अहिलेसम्म दुई लाख ३० हजार भन्दा धेरै पुस्तक विक्री भइसकेको बताउनुभयो । “अहिलेसम्ममा खर्च कटाएर लभगभ रु. १२ करोड बच्यो । त्यहि पैसाले बीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरु पनि थपेको हो ।”

आफुले नेतृत्व गरेर सञ्चालनमा ल्याएको बीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० जना इन्जिनियरहरुले रातोदिन काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।