९ भदौ २०८२, सोमवार

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

९ भदौ २०८२, सोमवार
Image

झापा, ९ भदौ ।  ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका वडा नं. १५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ ।

विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षकहरु विद्यालय पुग्न असम्भव हुँदा पढाई नै प्रभावित भएको हो । 

मेची पारिको ग्वाल बस्तीमा रहेको विद्यालयमा कक्षा दुईसम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र एक जना कर्मचारीको बसोबास मेची वारि छ ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजबंशीको घर मेची वारि छ । हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरु बर्खाको भेलमा पौडी खेलेर मेची पारि विद्यालय पुग्न सम्भव छैन ।

“साउन २५ गतेदेखि विद्यालय खुल्नु पर्ने हो,” विद्यालयका प्रधान अध्यापक थपलिया भन्नुहुन्छ– “विद्यालय जानका लागि मेची नदीमा पुल छैन । कसरी विद्यालय पुग्ने ?” बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाई सुरु हुनेछ ।

सीमानाको नदी मेचीमा बर्खा याममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता हो । बैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नु पर्ने हुन्छ ।

उत्तर र दक्षिणतिरको दुई वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बंगालको बाटो प्रयोग गर्नु पर्ने हुन्छ । यो बिकल्प प्रयोग गर्न पनि असम्भव नै छ ।

“विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु,” प्रअ थपलिया भन्नुहुन्छ– “अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो ।”

वि.सं. २०५७ मा मेची पारिको नेपालमा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो । त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन ।

कक्षा २ सम्म पढाई हुने उक्त विद्यालयमा हाल ११ जना विद्यार्थी छन् । साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा नं. १ मा रहेको ग्वाल बस्ती, शिशौ डाँगी र झाडु वस्ती भौगोलिक हिसाबले मेची नदी पारि रह्यो । अहिले ती तीनवटै गाउँ मेचीनगरको वडा नं. १५ मा पर्दछ ।

गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरु राजबंशी, यादव, सन्थाल लगायत आदिबासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिसहरु नहुनु र अधिकांशले खेतीपाती र पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकता बारेमा गाउँलेमा चेतनाको कमी छ ।

“त्यो गाउँमा कक्षा २ सम्म पढ्ने उमेरका बालवालिकाहरु यति नै हुन्,” प्रअ थपलिया भन्नुहुन्छ– “त्योभन्दा माथिको कक्षा पढ्न स्थानीय बालवालिकाहरु भारततिरै जान बाध्य छन् । केही मात्र मेची नदी तरेर वारिका विद्यालयमा पढ्न आउँछन् ।”

पाँच कठ्ठा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित छ । विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ । विद्यार्थीका लागि पिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्यूबवेल गाडिएको छ । विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन । 

विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयबासीले मेची नदीमा पुलको माग गर्दै आएका छन् । मुलुकमा राजनीतिक व्यवस्था फेरियो, तर मेची पारिको नेपाललाई सिंगो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन ।

पछिल्लो दुई दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुंगे पुल बनाउने आश्वासन सरकारले दिइरहेको छ । बल्ल आर्थिक वर्ष २०८२/८३ को बजेटमा झोलुंगे पुलका लागि रु. पाँच लाख बजेट बिनियोजन भएको छ ।

मेचीनगर–१५ का वडा सदस्य वृक्षलाल राजबंशीले रु. पाँच लाख बजेटबाट झोलुंगे पुलका लागि डीपीआर तयार पार्ने कुरा सुनेको बताउनुभयो । उहाँ भन्नुहुन्छ– “हामीले पुल चाहियो भनेर आवाज उठाइरहेका छौं । तर अहिलेसम्म झोलुंगे पुलसम्म बन्न सकेको छैन ।”