१० भदौ २०८२, मङ्गलवार

अलकत्राको ट्यांकर तातिएर आगलागी हुँदा कामदार घाइते

१० भदौ २०८२, मङ्गलवार
Image

झापा, १० भदौ । मेचीनगर–९ स्थित होलीबेल स्कुल नजिकै सडकमा कालोपत्रे गर्ने क्रममा अलकत्राको ट्यांकरमा आगलागी हुँदा एक जना कामदार घाइते भएका छन् ।

सोमवार राति पौने ८ बजेतिर मे१ख ३१३७ नम्बरको ट्यांकरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा ट्यांकरका कामदार सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ का ३१ वर्षीय गणेशकुमार राय घाइते हुनु भएको हो ।

ट्यांकरका चालक सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ७ का ४२ वर्षीय गणेश दाहाल सकुशल हुनुहुन्छ । घाइते रायको अनुहार, दुबै हात र खुट्टामा आगोको रापले पोलेको छ ।

उक्त सडक निर्माण गर्ने काम कञ्चन निर्माण सेवाले लिएको थियो । ट्याङकर तातिएर अचानक आगलागी भएको बताइएको छ ।

स्थानियबासी, प्रहरी र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

घाइते रायलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अलकत्रको ट्याङ्कर पूर्ण रुपमा जलेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।