झापा, १५ भदौ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक सहकारी संस्थाद्वारा स्थापित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार उमाकान्त खनाल आज सम्मानित हुनु भएको छ ।
प्रत्येक वर्ष वितरण हुँदै आएको पुरस्कारको नगद राशी रु. नौ हजार ९९९ र सम्मान पत्र रहेको छ । भद्रपुरमा आयोजित एक समारोहमा खनाललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित पत्रकार खनाल देशसञ्चार अनलाइनका उपसम्पादक र खबरमञ्च अनलाइनका प्रधान सम्पादक हुनुहुन्छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील उहाँले बीबीसी नेपाली सेवालगायत थुप्रै सञ्चारमाध्यममा आवद्ध रहेर पत्रकारिता गरिसक्नु भएको छ ।
यसैगरी, कुशल संगठक एवम् निष्ठावान कर्मचारी स्व. प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति पुरस्कारबाट चार जना कर्मचारी सम्मानित हुनु भएको छ ।
प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल र कनकाई सब डिभिजन बन कार्यालयकी कार्यालय सहयोगी देवका गौतम सम्मानित हुनु भएको छ । उहाँहरुले जनही रु. १० हजार १५० नगद पुरस्कार र सम्मान पत्र पाउनु भएको छ ।
सोही अवसरमा बिर्तामोडको मोहनमाया माध्यमिक विद्यालयकी ताकिता शर्मालाई वि.सं. २०८१ को कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेवापत प्रमोद तामाङ स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो । उहाँलाई नगद रु. पाँच हजार १०० प्रदान गरिएको थियो ।