झापा, ३० भदौ । जनेजी आन्दोलनकारीले जलाएको भवनको भुइँमा भग्नावशेषमाथि त्रिपाल ओछ्याएर कनकाई नगरपालिकाको आज कार्यपालिका बैठक बसेको छ ।
नगरप्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा बसेको बैठकले जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाउन पुगेका शहीदहरुप्रति श्रद्धाञ्जलि दिने पहिलो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।
नगरपालिकाको सेवा मंगलवार सुरु गर्ने, क्षतिको लगत संकलन गर्ने र लुटिएका सामान खोजी गर्ने समेत बैठकले निर्णय गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भव्य भवन आगजनीपछि क्षतिग्रस्त भएको छ भने त्यहाँका कागजातहरु जलेर खरानी भएका छन् ।
नगरप्रमुख पोखरेल स्वयम्को निजी निवास समेत आन्दोलनकारीको नाममा आगजनी गरेर ध्वस्त बनाइएको छ । खरानी टकटक्याएर फेरि उठ्नु पर्ने धारणा राख्दै सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई उच्च मनोवलका साथ जनसेवामा परिचालन हुन नगरप्रमुख पोखरेलले आग्रह गर्नु भएको बैठकका एक सहभागीले बताउनुभयो ।