मेचीनगर, ३१ भदौ । मेचीनगरका जनप्रतिनिधिहरुले जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडपछि खण्डहर बनेको मेचीनगर नगरपालिका र वडा कार्यालयहरुबाट जतिसक्दो छिटो सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमवार नगरप्रमुख गोपाल बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना उप्रेती र अधिकांश वडाका अध्यक्षहरुसहित जनप्रतिनिधिहरुले सोमवार नगरपालिका पुगेर सेवा सुचारु गर्ने विषयमा छलफलसहित सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।
“विषम परिस्थितिपछि नगरबासीहरुलाई छिटोभन्दा छिटो सेवा कसरी दिन सकिन्छ भनेर प्रयत्नशील हुनुपर्छ,” नगरप्रमुख बुढाथोकीले छलफलका क्रममा भन्नुभयो– “क्यान्सर, मुटु, मिर्गौला लगायतका विरामीहरुलाई दिइने सेवा र अत्यावश्यक स्वास्थ्य सेवाका कामहरु हाम्रो पहिलो प्राथमिकता रहनुपर्छ ।”
मेचीनगरको नगरपालिका भवनका साथै वडा कार्यालय, जनप्रतिनिधि र कर्मचारीहरुका भवनहरु अराजक समूहले जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाट गरेको छ । ध्वस्त भएका भौतिक संरचनाबाट पहिलेकै जस्तो सरकारी सेवा प्रदान गर्न कठिन देखिएको छ । जनप्रतिनिधिहरुले खण्डहर बनेको भौतिक संरचनाको समेत अवलोकन गरेका छन् ।
नगरपालिका र वडा कार्यालयहरु नियमित सञ्चालन गर्ने, आगजनी र तोडफोडको मुचुल्का उठाउने, क्षतिको विवरण संकलन गर्ने लगायतका महत्त्वपूर्ण विषयमा छलफल केन्द्रित भएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
मेचीनगरको मुख्य प्रशासनिक भवन र शिक्षा शाखा भवन आगजनी र तोडफोडबाट ध्वस्त भए तापनि स्वास्थ्य, कृषि र सभा भवन जोगिएको छ । जनप्रतिनिधिहरुले सभा हलमै छलफल गरेका थिए ।
छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु कञ्चनकुमार तामाङ, प्रह्लादमणि ओली, कृष्णराज सिग्देल, गुणराज भट्टराई लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।
छलफलमा अराजक समूहले गरेको तोडफोड, आगजनी र लुटपाटका विषयमा छानविन हुनुपर्ने माग उठेको थियो भने जनताको सेवा दिनरात खटिइरहेका जनप्रतिनिधि र कर्मचारीहरुलाई भ्रष्टाचारीको लाञ्छना लगाउने र ज्यान मार्नेसम्मको धम्की दिने गतिविधिप्रति आपत्ति प्रकट गरिएको थियो ।
मेचीनगरका वडा नं. २, ४ र १० नम्बरका वडाध्यक्षलाई ज्यान मार्ने धम्की आएको बताइएको छ । जेनजी आन्दोलनका नाममा अराजक समूहले नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु गुणराज भट्टराई र मधु निरौला, वडा सदस्य वृक्षलाल राजबंशी लगायतका घरहरु आगजनी र तोडफोड गरेको थियो ।
छलफलको सहजीकरण वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले गर्नु भएको थियो । नगरपालिका र वडाहरुमा भएको आजगनी र तोडफोडको क्षतिको विवरण संकलन र मुचुल्का उठाउने कार्य सोमवारबाटै सुरु भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।