३१ भदौ २०८२, मङ्गलवार

झापाका १५२ वटा भवनमा आगजनी र तोडफोड

३१ भदौ २०८२, मङ्गलवार
Image

झापा, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा जिल्लामा सरकारी र निजी गरी १५२ वटा भवनमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी तेजप्रकाश प्रसाईका अनुसार पालिका, वडा कार्यालय, संघीय, प्रदेश अन्तरगतका कार्यालय, पार्टी कार्यालयहरु र व्यक्तिका घर गरी १५२ वटा भवनमा पूर्ण रुपमा क्षति पुगेको हो । 

गत भदौ २४ गते आन्दोलनका क्रममा १२ वटा पालिका, ५५ वटा वडा कार्यालय, ३७ निजी आवास, दुई वटा भन्सारसहित १० वटा संघीय कार्यालय, तीन वटा प्रादेशिक कार्यालय, नौ वटा इलाका प्रहरी कार्यालय, राजनीतिक दलका आठ वटा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी, छ वटा स्थायी प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, दुई वटा अस्थायी प्रहरी चौकी, दमक भ्यूटावर, गरामनी दुर्गा माविलगायतमा आगजनी र तोडफोड भएको प्रारम्भिक प्रतिवेदन संकलन भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका १५ पालिकामध्ये १२ वटाको प्रशासनिक भवन आगजनीमा ध्वस्त भएको छ । हल्दिबारी गाउँपालिकामा कुनै पनि क्षति भएको छैन भने कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा भने सामान्य क्षति भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार कनकाई, दमक, गौरादह, मेचीनगर, बिर्तामोड, अर्जुनधारा र भद्रपुर गरी सात वटा नगरपालिका, गौरीगन्ज, बुद्धशान्ति, बाह्रदशी, कचनकवल र झापा गरी पाँच वटा गाउँपालिकाको प्रशासनिक भवनमा क्षति पुगेको छ । जिल्लाका ५५ वटा वडा कार्यालयको भवनमा क्षति पुगेको छ ।

उहाँले जिल्लामा भएको भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको हुँदा आर्थिक क्षतिको मूल्याङ्न बाँकी रहेको बताउनुभयो । उहाँकै संयोजकत्वमा मूल्याङ्कन समिति निर्माण हुने भएको छ । समिति निर्माणका लागि कानुन बमोजिम सदस्यहरु पठाईदिन सम्बन्धित कार्यालयहरुसँग माग गरिएको उहाँले बताउनुभयो । 

समितिमा एक जना सिभिल इन्जिनियर, एक जना आइटी इन्जिनियर, अफिसर लेबलको सरकारी वकिल, प्रहरी इन्स्पेक्टर, कोलेनिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले तोकेका थप दुई जना प्रतिनिधि रहने उहाँको भनाई छ । 

जिल्लामा भएको क्षतिको विवरण प्रहरीले संकलन गर्ने र सोही अनुसारको सर्जिमिन मुचुल्का उठाउने काम धमाधम भइरहेको छ । त्यसैकै आधारमा मूल्यांकन समितिले क्षतिको मूल्याङ्कन गर्ने सूचना अधिकारी प्रसाईंले बताउनुभयो ।