झापा, २ असोज । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सीसी क्यामेरा स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा पुनःस्थापना गरिदिनु भएको छ ।
भदौ २४ गते जेनजी आन्दोलन चर्किएसँगै भीडले चोकको रहेको ट्राफिक कार्यालय र सीसी क्यामेरा तोडफोड गरेर ध्वस्त बनाएको थियो । प्लाइउड उद्योगी खड्काले रु. तीन लाख ५० हजारको निजी खर्चमा ट्राफिकको कार्यालय निर्माण गर्नुका साथै चार वटा सीसी क्यामेरा जडान गरिदिएको बताउनुभयो ।
“मुलुक विषम अवस्थाबाट गुज्रिरहेको बेला राज्यलाई सहयोग पुर्याउनु हरेक नागरिकको कत्र्तब्य हो भनेर मैले स्वस्फूर्त सहयोग गरेको हुँ,” उहाँले भन्नुभयो– “देशमा नयाँ परिस्थिति आएको छ । सरकारी प्रशासनिक भवन र प्रहरीका कार्यालयहरु ध्वस्त भएका छन् । यो बेला शान्ति सुरक्षाका लागि मुख्य चोकमा सीसी क्यामेरा आवश्यक हुन्छ भनेर मैले सबै व्यवस्था गरिदिएको हुँ ।”
उहाँले जेनजी आन्दोलनकारीले आगजनी गरेको मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी र मेचीनगर–७ स्थित ट्राफिक प्रहरी पोस्टको समेत पुनःनिर्माण गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यसैगरी, कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरस्थित ट्राफिक प्रहरी पोस्ट स्थानीय टेकबहादुर बस्नेतलगायतका युवाले निजी खर्चमा बनाइदिनु भएको छ । उक्त प्रहरी पोस्ट गत भदौ २४ गते जेनजी आन्दोलकारीहरुले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।
“जेनजीको आन्दोलनपछि प्रहरी पोस्ट ध्वस्त भयो, त्यसपछि प्रहरीहरु यहाँबाट विस्थापित हुनुपरेकोमा ज्यादै दुःख लागेको छ,” बस्नेत भन्नुहुन्छ– “हिजोका दिनमा जे भयो भयो, त्यसलाई बिर्सेर प्रहरीहरु फेरि लक्ष्मीपुरको पोस्टमा बस्न आइदिनुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ । ध्वस्त भएको पोस्टलाई हामी युवाले नै मिलेर पहिलेको जस्तै बनाएका छौं ।”