झापा, २ असोज । जेनजी आन्दोलनका कारण बजार र यातायात बन्द हुँदा व्यावसायिक केरा खेती गरिरहेका किसानहरु मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरु बताउँछन् ।
भद्रपुर र गौरीगञ्जमा ८० बिगाहा क्षेत्रफलमा केरा खेती गरेका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु. २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाएर बगानमै खेर गएको बताउनुभयो ।
“बजारमा लैजाने तयारी हुँदै थियो, आन्दोलन सुरु भइहाल्यो,” खड्काले भन्नुभयो– “बन्दका कारण उत्पादनलाई बजार पुर्याउन पाइएन । बगानमै पाकेर खेर गयो ।”
श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर–४ मा २० बिगाहा र गौरीगञ्ज–५ मा ६० बिगाहा जग्गा लिजमा लिएर बिगत केही वर्षदेखि ठूलो लगानीमा व्यावसायिक केरा खेती गर्दै आएको छ ।
यसपाली उत्पादन असाध्य राम्रो रहेको तर बजारिकरणमा समस्या आएको उहाँले बताउनुभयो । जेनजी आन्दोलन सकिए तापनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले बगानमा पाकेको ठूलो मात्राको उत्पादन विक्री नभई नष्ट हुने थप जोखिम बढेको उहाँ बताउनुहुन्छ ।
झापामा उत्पादित केरा राजधानी काठमाडौं, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलाम लगायतका जिल्ला बाहिरका सहर बजारमा विक्रीका लागि पुर्याउने गरिएको छ ।
किसानहरुले प्रति घरी केरा (एउटा बोट) रु. ६०० देखि ८०० सम्ममा विक्री गर्दै आएका छन् । तर, भारतबाट सस्तो मूल्यमा भित्रिने केराले नेपाली बजारमा स्वदेशी उत्पादनलाई चुनौति थपिएको किसानहरुको गुनासो छ ।
कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिगाहा क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातको केराखेती गरिरहनु भएको बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षतिको चोट नथाक्दै अहिलेको विषम राजनीतिक परिस्थितिले दुई सय घरी पाकेको केरा बगानमै नष्ट भएको बताउनुभयो ।
“वैशाखमा हावाहुरीले आधाजसो बगानमा क्षति पुर्यायो, अहिले बजार र यातायात बन्दले,” पराजुलीले भन्नुभयो– “पाकिसकेको उत्पादन तत्कालै बजारमा पुर्याउनु पर्ने बाध्यता छ । स्टोर गर्ने कोल्डसेन्टर छैन । अब दशैंमा नयाँ उत्पादन लैजाने तयारी गरिरहेका छौं ।”
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट जिल्लामा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको बताउनुहुन्छ । जिल्लामा वार्षिक ३८ हजार ८३३ मेट्रिक टन केरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।