मेचीनगर, २५ असोज । युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरुको स्मृतिमा आज सम्पन्न गरेको ‘मेचीनगर रन २०८२’ मा दमकका धावकको वर्चस्व रहेको छ ।
प्रतियोगितामा दमकका २३ वर्षीय शरद सिंह पुरुषतर्फ प्रथम र दमककै पुष्पा लिम्बु महिलातर्फ प्रथम घोषित हुनुभयो ।
उहाँहरुले जनही नगद रु. पाँच हजार पाउनु भएको छ । यसैगरी पुरुषतर्फ विर्तामोडका १६ वर्षीय शिव कार्की द्वितीय र दमकका १८ वर्षीय मिङसेन लिम्बु तृतीय हुुनु भएको थियो ।
यसैगरी, दमककी मन्दिरा महतरा र रुबिना महतरा क्रमशः द्वितीय र तृतीय हुनु भएको थियो । दोस्रो हुनेले रु. तीन हजार र तेस्रो हुनेले रु. दुई हजारका दरले पुरस्कार पाउनु भएको थियो ।
प्रतियोगितामा १४६ जना पुरुष र १८ जना महिला गरी कूल १६४ जना युवा धावकले भाग लिएका थिए । मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी अगाडिबाट सुरु दौड पाँच किलोमिटर टाढा धुलाबारी मोडमा समापन भएको थियो ।
आयोजक युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनमा झापाबाट शहीद हुनु भएको दिनेश राजबंशी र गोपाल सेढाइको परिवारलाई जनही रु. ५० हजारका दरले सहयोग दिने घोषणा गरेको छ । आजकै कार्यक्रममा शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशीलाई रु. ५० हजार सहयोग प्रदान गरिएको सोसाइटीका सदस्य जयराम दाहालले बताउनुभयो ।
इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा शहीद हुनु भएको झापाका शहीदको छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको खर्च व्यहोर्ने बताउनु भएको छ ।
झापा विद्रोहका शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशीले ज्यामिरगढीमा रिबन काटेर उद्घाटन गर्नु भएको दौडको पुरस्कार वितरण समारोहमा जेनजी आन्दोलनका शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशी लगायत परिवारका अन्य सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शहीद परिवारले दौडका बिजेतालाई पुरस्कार वितरण समेत गर्नु भएको थियो ।
कार्यक्रममा मेचीनगर वडा नं. १० र १५ का वडाध्यक्षहरु नारायण खनाल र राजन भट्टराईको समेत उपस्थिति रहेको थियो ।