१० माघ २०८२, शुक्रवार

झापा–१

जहाँको चुनावले मुस्कान र संस्कार सिकाउँछ

१० माघ २०८२, शुक्रवार
Image

मेचीनगर, ९ माघ । सामान्यतया राजनीति र चुनाव भन्नेबित्तिकै हाम्रो मानसपटलमा तिक्तता, आरोप प्रत्यारोप र प्रतिशोधको तस्बिर झल्किन्छ । भनिन्छ– इतिहास जित्नेकै लेखिन्छ र हार्नेहरू प्रायः ओझेलमा पर्छन् । तर, पूर्वी नेपालको घामको पहिलो झुल्को देखिने झापा निर्वाचन क्षेत्र नं. १ को चुनावी इतिहास भने अलिक बेग्लै र गर्विलो छ । यहाँ चुनावले शत्रुता होइन, एउटा उच्च राजनीतिक संस्कारको बीउ रोप्ने गरेको छ ।

झापा–१ को चर्चा गर्दा दुई पात्रको नाम अगाडि आउँछ– नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका रविन कोइराला । २०७० सालको संविधानसभा निर्वाचनमा मैदानमा भिडन्त हुँदा परिणाम रविनको पक्षमा गयो । तर, दृश्य अचम्मको देखियो, पराजित भएका विश्वप्रकाश शर्माले मतगणना स्थलमै पुगेर विजेता कोइरालालाई अबिर र मालाले स्वागत गर्नुभयो । उहाँको अनुहारमा हारको पीडा होइन, लोकतन्त्रप्रतिको एउटा निश्चल मुस्कान थियो ।

त्यो संस्कार २०७४ सालमा पनि दोहोरियो । बाम गठबन्धनका राम कार्कीसँग पराजित हुँदा शर्मा पुनः माला र अबिर बोकेर कार्कीलाई बधाई दिन पुग्नुभयो । जब शर्माले कार्कीलाई अंकमाल गर्नुभयो, त्यहाँ उपस्थित कार्यकर्ताका आँखाहरू भावुकताले रसाएका थिए । चुनावी मैदानमा प्रतिस्पर्धी भए पनि व्यक्तिगत सम्बन्धमा उनीहरू सहयात्री जस्तै देखिए ।

संस्कारको यो कडी २०७९ को निर्वाचनमा पनि टुट्न पाएन । त्यसपटक पासा पल्टियो र तेस्रो प्रयासमा विश्वप्रकाश शर्माले जित हासिल गर्नुभयो । अग्नि खरेल पराजित हुनुभयो । धेरैलाई लागेको थियो, के खरेलले पनि विगतको त्यो शालीनतालाई निरन्तरता दिनुहोला ? खरेल पनि शालीन पथमै लाग्नुभयो । उहाँले चुनावी परिणामलाई सहर्ष स्वीकार गर्दै विजेता शर्मालाई भेटेरै माला लगाइदिनुभयो र बधाई साट्नुभयो । शर्माले सुरु गर्नुभएको त्यो ‘हारपछिको मुस्कान’को संस्कृतिलाई खरेलले पनि सम्मानका साथ पछ्याउनुभयो ।

चुनावमा प्रायः समर्थकहरू उत्तेजित हुन्छन् । कतिपय ठाउँमा गालीगलौज र हिंसाका घटना पनि सुनिन्छन् । तर झापा–१ का मतदाता र उम्मेदवारहरूले चुनावलाई एउटा उत्सव र लोकतान्त्रिक विधिको रूपमा मात्र लिने गरेका छन् । जनताको फैसला शिरोधार्य गर्ने यो क्षेत्रले देशकै राजनीतिलाई एउटा सन्देश दिइरह्यो, राजनीतिमा विचारको लडाइँ हुन्छ, मनमुटाव होइन भनेर ।

अहिले फेरि चुनावी सरगर्मी बढेको छ । यसपटकको मैदानमा १५ जना उम्मेदवारहरू भाग्य परीक्षा गर्दैछन् । कोही पुराना दलका छन्, कोही नयाँ दलका । स्वतन्त्रहरु पनि छन् । संयोगले यसपटक झापा–१ को त्यो ‘संस्कारी इतिहास’ कोरेका पुराना सारथिहरू विश्वप्रकाश शर्मा, रविन कोइराला, राम कार्की र अग्नि खरेल मैदानमा हुनुहुन्न ।

मैदानमा नयाँ अनुहार छन्, नयाँ नाराहरू छन् । तर, झापा–१ का सचेत मतदाताहरू भने चुनावी नतिजाभन्दा पनि बढी ती उम्मेदवारहरूमा पुरानै शालीनता, उच्च राजनीतिक सभ्यता र हारजितलाई सहज रूपमा लिने संस्कारको निरन्तरता खोजिरहेका छन् । पात्र फेरिए पनि शिष्टता र सौहार्दता नफेरिए हुन्थ्यो भन्ने चाहना यहाँका हरेक सडक, घर, पसल र चोकमा सुनिन्छ ।

चुनाव त सकिएर जान्छ, तर चुनावको क्रममा देखाउने उदारता र संयमता नै झापा–१ को वास्तविक पहिचान बनेर इतिहासको पाठशालामा बाँचिरहेको छ ।