झापा, २२ जेठ । दमक–८ की २१ वर्षीया रमा तिवारीको हत्यामा भारतीय नागरिक राकेश पण्डित संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आज पत्रकार सम्मेलन गरी आरोपी पण्डित पक्राउ परिसकेको जानकारी दिनुभयो ।
जेठ १३ जेठ मध्यरातमा लेनदेन विवादमा तिवारीको हत्या गरेको आरोपीले स्वीकारेको प्रहरीको भनाई छ । टाइल्स मिस्त्रीको काम गर्दै आएका आरोपी भारतको अररिया घर भई दमकमा बस्दै आएका थिए ।
प्रहरीले पण्डितलाई बिहीबार दमक वडा नं. ५ स्थित डेराबाट पक्राउ गरेको थियो । पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको झापा प्रहरीकी प्रमुख खड्काले बताउनुभयो ।
प्रहरीका अनुसार आरोपीले पीडित रमा तिवारीलाई झाडीमा लगेर घाँटी थिची हत्या गरेका थिए । उनीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद भएको आरोपीले दावी गरेको प्रहरीको भनाई छ ।
घटना राति ११ बजे आसपास भएको थियो । घटनास्थल र आरोपीको कोठा नजिकै छ । युवतीको हत्यापछि पण्डितले कोठाबाट बोरा ल्याएर शवलाई प्याक गरेर सेतुमारी क्षेत्रको रतुवा पुलमुनि बगाएका थिए ।
जेठ १६ गते मात्र रतुवा खोलाको पुल मुनि स्थानीयले बोरामा हालेको शब देखेर प्रहरीलाई खबर गरेका थिए ।