झापा, २२ जेठ । कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया आज झापाको भद्रपुरमा सम्पन्न भएको छ ।
कानूनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इष्टिच्युट अफ ल विराटनगरको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा ईन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी सक्छ भन्ने प्रस्तुति दिएका थिए । आईटी विज्ञ कोइरालाले एआई परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए ।
उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए । विज्ञ कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रस्ट पारेका थिए । कोइरालाले एआईप्रति पूर्ण निर्भरता सिर्जनशील मानिसका लागि घातक हुने भनी सजग गराए । आईटी विज्ञ कोइरालाले कानूनका विद्यार्थी तथा कानून व्यवसायीले मस्यौदा लेखन, बहस नोट, सैद्धान्तिक ज्ञान जस्ता विषयमा एआई उपयोगी हुन सक्ने बताए । उनले प्रयोगात्मक विधिबाट प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौलाले एआई उपपोगी साधन रहेकाले नव कानून व्यवसायीले अधिकतम लाभ लिन सक्नु पर्ने बताए । उनले प्रविधि सिक्ने कुरामा पुरानाले पनि प्रयास गर्नु पर्नेमा जोड दिए । मनमोहन स्कूल आफ लका प्राचार्य अधिवक्ता कोषराज न्यौपानेले नयाँ प्रविधि सबैका लागि उपयोगी रहेको बताए । उनले नयाँ र पुराना सबै कानून व्यवसायी प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिए । कानूनी ज्ञान केन्द्रका अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले नव कानून व्यवसायीका लागि एआई निकै उपयोगी भएको बताए । उनले अबको कानूनी अभ्यास प्रविधि बिना सम्भव नहुने बताए ।
कार्यक्रमका सहभागी अधिवक्ता अजय घिमिरे र कानूनका विद्यार्थी कुन्दनकुमार कण्ठले अन्तरक्रिया फलदायी भएको बताए । उनीहरुले एआईको प्रयोगले कानूनको अभ्यासमा गुणस्तरको विकास गर्ने विश्वास व्यक्त गरे । ज्ञान केन्द्रका सचिव अधिवक्ता नरेश खातीले सबैले एआईको प्रयोग गर्नु पर्ने बताए । कार्यक्रममा मनमोहन इष्टिच्युट अफ लका विद्यार्थी तथा झापाका कानून व्यवसायीसमेत गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।