झापा, १३ फागुन । आसान्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. २ यतिबेला थप राजनीतिक चर्चाको केन्द्र बनेको छ ।
नेकपा (एमाले) का तर्फबाट उम्मेद्वार बन्नु भएका पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएपछि क्षेत्र नम्बर २ चर्चाको केन्द्र बनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाईं, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं र चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय बनेसँगै महिला नेतृत्वको बहस चुलिएको छ ।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ७३ हजार ९५० र महिला मतदाताको संख्या ७३ हजार ५६७ रहेको छ भने अन्य पाँच जना मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदान स्थल र १६५ वटा मतदान केन्द्र तोकिएको छ ।
भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको इतिहास रोचक छ । वि.सं. २०४८ देखि हालसम्मको नतिजा हेर्दा यहाँ नेकपा (एमाले) को बलियो पकड रहँदै आएको छ । वि.सं. २०४८ मा देवीप्रसाद ओझा, वि.संं.२०५६ मा केपी शर्मा ओली, वि.सं.२०७४ मा पवित्रा निरौला खरेल र वि.सं.२०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसक्नुभएको छ ।
यसैगरी, वि.सं.२०६४ मा माओवादीका गौरीशंकर खड्का र वि.सं.२०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटीले पनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
यसपटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन । अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ । अर्जुनधारा–१० की गीता अधिकारी भन्नुहुन्छ, “हामीलाई पटक–पटक आश्वासन दिइयो, तर यसपटक ठोस काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ ।”
उहाँका अनुसार अधिकांश मतदाताहरू यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन् । पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको संगठित मत एकातिर छ भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाईंको कसरत र रास्वपाकी रानामगरको ’नयाँ अनुहार’ को लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन् ।
विकास निर्माणका मुद्दा, युवा स्वरोजगारी र कृषिमा आधुनिकीकरण जस्ता विषयलाई सबै उम्मेदवारले आफ्नो मुख्य एजेन्डा बनाएका छन् । महिला उम्मेदवारहरूको ठूलो संख्याले महिला मतदाताहरूमा उत्साह थपेको छ भने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिको उदयबीचको यो भिडन्तले झापा–२ को नतिजा कसको पक्षमा जान्छ भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ ।