झापा, १ बैशाख । पूर्वी नेपालका आदिबासी राजबंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आज सुरु भएको छ । हरेक वर्षको बैशाखको १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ ।
राजबंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजबंशीले बताउनुभयो ।
उहाँका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानीले छ्याप्ने, कादो सिरुवामा माटोको हिलो छ्याप्ने र रङ सिरुवामा अबिर लगायतका रङ दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ ।
पहिलो दिन पानी सिरुवामा महिलाहरुले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ । यसलाई ‘सात सागी’ भनिन्छ । त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ ।
सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ । औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिदै आएको छ ।
सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगब्याध नलागोस् भनेर कामना गरिन्छ । सार्जजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने यस पर्वको विशेष प्रचलन छ । सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक खानेकुरा पकाएर खाने र संस्कृति झल्किने विविध कार्यक्रमहरु गरिन्छ ।
पूजापाठ र खानपानसँगै पानी, हिलो र रङ छ्यापेर उल्लास मनाउनु सिरुवा पर्वको सबैभन्दा रोचक विषय हो । युवायुवती, बालबालिका मात्र नभएर वृद्धवृद्धाहरु समेत हिलो र रङले एकले अर्कालाई छ्यापेर रमाइलो मनाइरहेका हुन्छन् ।
रङ दल्ने चलन अरु समुदायको पर्वमा समेत छ । तर, हिलो खेल्ने चल्न राजबंशी समुदायको मौलिक परम्परा हो । पानी र हिलो सिरुवा खेल्न समुदायका मानिसहरु सार्वजनिक स्थानमा भेला हुने गर्छन् ।
मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको राजबंशी समुदायको बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ । २०७८ को जनगणना अनुसार उनीहरुको कूल जनसंख्या एक लाख ३२ हजार ५६४ छ । भारत र बंगलादेशमा समेत गरी राजबंशीहरुको जनसंख्या एक करोडभन्दा बढी रहेको छ ।