५ जेठ २०८३, मङ्गलवार

काँकडभिट्टामा सुन र विदेशी मुद्रासहित भारतीय तस्कर पक्राउ

५ जेठ २०८३, मङ्गलवार
Image

झापा, ५ जेठ । पूर्वीनाका काँकडभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको २ नं. हेड क्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमवार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकडभिट्टा भन्सारको चेकपोस्टमा चेकजाँच गर्दा ठूलो परिमाणमा सुन, अमेरिकी डलर र भारतीय रुपैयाँ बरामद भएको बताउनुभयो ।

बरामद ५७० ग्राम २४ क्यारेट सुनको प्रचलित बजार मूल्य रु. एक करोड ४४ लाख ६५ हजार रहेको जनाइएको छ । निजको साथबाट २० हजार अमेरिकी डलर ( नेपाली रु. ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली रु. एक लाख ३६ हजार ६५७) समेत बरामद भएको थियो ।    

पक्राउ परेका भारतीय नागरिकबाट सवारी चालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ भने बरामद सामान मेची भन्सार कार्यालयमा बुझाइने उहाँले बताउनुभयो । 

पक्राउ पर्नु अघि निज पाठक भारतको पानीटंकी नाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गरेका थिए । काँकडभिट्टास्थित सीमामा तैनाथ सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयको टोलीले शंका लागेर संयुक्त चेकजाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अबैध सुन र विदेशी मुद्रा फेला परेको थियो ।