७ जेठ २०८३, बिहिवार

एसियाली राजमार्ग

‘आर्क’ प्रविधिका ठूला पुल निर्माण द्रुत गतिमा

७ जेठ २०८३, बिहिवार
Image

झापा, ७ जेठ । एसियाली राजमार्ग (एशियन हाइवे) अन्तर्गत काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा ठूला पुलको निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ । 

आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेज अन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुलहरू निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उहाँले बताउनुभयो । 

सम्झौता अनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने म्याद छ । राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको कूल ९५ किलोमिटर सडक खण्डलाई विभिन्न प्याकेजमा वर्गीकरण गरिएको छ । जसमध्ये झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० वटा पुलमध्ये यी तीनवटा सबैभन्दा ठूला हुन् ।

रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीन वटै पुलको निर्माणमा आधुनिक र सुन्दर देखिने ‘स्टिल आर्क’ प्रविधिको प्रयोग हुने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

तीन वटा पुलको निर्माण सम्बन्धी ठेक्का कोभेक–सिआरइजीसी–चाइना स्टेट सेभेन्थ जेभीले रु. पाँच अर्बमा लिएको छ । पुलमा प्रयोग हुने स्टिल संरचना सम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ भने बाँकी सिभिल निर्माणका कार्य नेपाली साझेदार कम्पनीहरूले सम्हालिरहेको उहाँले जानकारी दिनुभयो ।

रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कंक्रिटको हुने जनाइएको छ । यस पुलमा तीनवटा स्पान रहने भएको छ । लोहन्द्रा नदीको ३८५ मिटर लम्बाई रहेको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।

मोरङको उर्लाबारीस्थित सडकको दक्षिण किनारमा स्टिलका पाटपुर्जाहरू फ्याब्रिकेसन (जडान) कार्य भइरहेको र त्यहाँ तयार गरिएका सामग्रीहरूलाई पुलको मुख्य संरचनामा ल्याएर जडान गर्ने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

वर्षा याममा पनि पुलको निर्माण कार्य प्रभावित नहुने गरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको छ । रतुवामा तीन वटा स्पानको काम सकिएर अर्को ‘आर्क’ थप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रतुवाको काम सकिए लगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कामलाई तीव्रता दिइने उहाँको भनाई छ ।

रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्कको कार्य विस्तार भइरहेको छ । स्टिलतर्फको धेरैजसो काम भइसकेको र अब कंक्रिटको काम मात्र बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको दावी छ ।

प्राविधिक कारणहरूले गर्दा पुलको निर्माण कार्य सम्पन्न गर्न सम्झौता अवधिभन्दा थप पाँच महिना जति बढी समय लाग्न सक्ने आयोजनाको अनुमान छ । “कामलाई निर्धारित समयमै सक्न आयोजना कार्यालय र निर्माण कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली साइट मै निरन्तर खटिइरहनु भएको छ,” प्रजापतिले भन्नुभयो– “अथक प्रयास गर्दागर्दै पनि प्राविधिक कारणले पाँच महिना थप अवधि लाग्न सक्छ ।”