मेचीनगर, २५ जेठ । मेचीनगर–१० को सहज महिला समूह नेपालले मेचीनगरका महिलाहरुलाई कामकाजमा प्रयोग हुने घरायसी विद्युतीय सामग्रीको सुरक्षित प्रयोगका बारेमा तालिम दिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक साझेदारीमा मेचीनगरका १५ वटै वडाबाट प्रतिनिधित्व गराइएको तालिममा प्रशिक्षक केदार भण्डारीले त्यस्ता उपकरणको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा प्रयोगात्मक तालिम दिनु भएको थियो ।
तालिम तीन चरणमा गरिएको थियो । संस्थाकी अध्यक्ष भीमकला खरेलले इलेक्ट्रोनिक इलेक्ट्रिकल सामानहरुको प्रयोग आधुनिक भान्साका लागि अपरिहार्य भइसकेको धारणा व्यक्त गर्दै सानो लापरवाहीले ठूलो दुर्घटना समेत निम्तिने भएकाले जोखिम न्यूनीकरणका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा १५ वटै वडाबाट प्रतिनिधित्व गर्नुभएका १२० जनाभन्दा बढी सहभागी हुनुहुन्थ्यो । घरायसी प्रयोगमा आउने फ्रिज, चुल्हो लगायतका सबै प्रकारका विद्युतीय सामानहरुको सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने र सानोतिनो मर्मत सम्भार कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको थियो । सहभागीहरुले यस्तो उपयोगी तालिम पहिलोपल्ट लिन पाएको बताएका थिए ।
पहिलो चरणमा जेठ ११ र १२ गते मेची उद्योग वाणिज्य संघको सभाहलमा, जेठ १३ र १४ गते ज्येष्ठ नागरिक हल भृकुटीमा र जेठ १५ र १६ गते सरस्वती आमाविमा तालिम सञ्चालन गरिएको थियो ।
पहिलो चरणको कार्यक्रममा मेचीनगरको सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, दोस्रो चरणको कार्यक्रममा वडाध्यक्ष दिपक बराल र तेस्रो चरणको कार्यक्रममा वडाध्यक्ष प्रह्लादमणि ओली प्रमुख अतिथि रहनु भएको थियो ।