झापा, ४ असार । जंगली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।
प्रधानमंत्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले बताउनुभयो ।
“प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधवार भनिसकेको छ,” उहाँले भन्नुभयो– “अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।”
चार दिन अघि एकाविहानै मेचीनगर नगरपालिका वडा नं. ४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयबासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नु पर्ने माग राख्दै आएका छन् ।
सोही घटनापश्चात प्रतिनिधिसभा सदस्य डाँगी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जिउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा आवाज उठाउनु भएको थियो ।
सांसद् डाँगीले सोही विषयमा पाँच बुँदे मागपत्र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउनु भएको थियो । उहाँले समस्या समाधानका लागि सुरक्षाकर्मी परिचालनको विषयमा तत्काल पहल गर्न प्रधानमन्त्री शाहलाई भेटेरै ध्यानाकर्षण गराएको बताउनुभयो ।
‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र बन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको उहाँले जानकारी दिनुभयो ।
फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ । सो क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट ३० देखि १०० वटासम्म जंगली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ ।
बन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संघीय सरकार मातहत रहेका छन् भने सशस्त्र बन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् ।
‘स्पेसल टास्क फोर्स’मा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने यकिन भइसकेको छैन । सांसद् डाँगीले ५० जना सुरक्षाकर्मी माग गरिएको बताउनु भएको छ । उहाँले भन्नुभयो– “हात्ती नियन्त्रणका लागि अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले सुरुमा कम्तीमा दश जनाको संख्यामा भए पनि ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्दा हुने सुझाव आइरहेको छ ।”
मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले स्थानीयबासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जिउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले हात्ती नियन्त्रणका लागि प्रशिक्षण प्राप्त सुरक्षाकर्मी खटाउनु पर्ने सुझाव दिनु भएको छ ।
तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारी भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयबासीलाई ढुक्क महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नु पर्ने बताउनुहुन्छ ।
(सुरक्षाकर्मी परिचालनको फोटो एआईद्वारा निर्मित हो भने हात्तीको बथानको फोटो शंकर लुइँटेलले खिच्नु भएको हो । सं.)
