६ असार २०८३, शनिवार

मेचीनगरबाटै सेवा-निवृत्त हुनुभयो ‘अग्नि सर’

६ असार २०८३, शनिवार
Image

मेचीनगर, ६ असार । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेचीनगरबाटै आफ्नो लामो सरकारी सेवा यात्राबाट अवकाश लिनुभएको छ ।

गौरादह निवासी अधिकारी दुई वर्ष चार महिनाअघि मेचीनगर नगरपालिकामा सरुवा भई आउनुभएको थियो । सोही अवधि पूरा गरी उहाँले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी र आफ्नो सरकारी जागिरे जीवनबाट गौरवमय बिदाइ लिनुभएको हो ।

कुशल प्रशासक र मिलनसार व्यक्तित्वका रूपमा स्वच्छ छवि बनाउनुभएका अधिकारीलाई मेचीनगर नगरपालिका र प्रेस क्लब मेचीनगरले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मानसहित बिदाइ गरेका छन् ।

नगरपालिकाको सभाहलमा शुक्रवार आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । सेवानिवृत्त अधिकारीलाई नगरपालिकाका तर्फबाट खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

‘म नथाकेको मन लिएर जागिरे जीवनबाट अवकाश लिइरहेको छु,’ आफ्नो जागिरे जीवनको अन्तिम मन्तव्य राख्ने क्रममा भावुक बन्दै अधिकारीले भन्नुभयो– ‘सेवाका अन्तिम दिनहरू बिताएको मेचीनगर मेरा लागि सदैव स्मरणीय रहनेछ । यहाँका जनप्रतिनिधि, कर्मचारी र सामाजिक संस्थाहरूबाट पाएको अगाध सहयोग र सद्भावकै कारण मलाई कार्यसम्पादन गर्न सहज भएको हो ।’

मन्तव्यकै क्रममा उहाँले महाभारतका विभिन्न प्रसङ्गहरू उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ‘आधा राजनीतिक र आधा प्रशासनिक’ प्रकृतिको हुने आफ्नो अनुभव सुनाउनुभयो ।

अधिकारी आउनुअघि मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू टिकेर काम गर्न नसक्ने ठूलो समस्या थियो । यसअघिका तीन जना प्रमुख प्रशासकीय अधिकृतहरू कोही केही दिन त कोही तीन महिना पनि नटिकी फर्किएका थिए ।

त्यस्तो अस्थिरताका बीच जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले कार्यालयको आन्तरिक द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्नुभएको कार्यक्रमका वक्ताहरूले स्मरण गरे । उहाँकै कार्यकालमा नगरपालिकाको सेवा प्रवाह चुस्त, नियमित, प्रविधिमैत्री र सुशासनयुक्त बनेको भन्दै वक्ताहरूले उहाँको प्रशंसा गरे ।

कार्यक्रममा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती र नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सेवानिवृत्त अधिकारीको कुशल कार्यसम्पादन शैली र प्रशासनिक परिपक्वताबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

सोही कार्यक्रममा मेचीनगरका नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई समेत खादा र माला लगाएर भव्य स्वागत गरिएको थियो ।

कार्यभार सम्हाल्दै श्रेष्ठले मेचीनगरको समग्र विकास निर्माण, सुशासन प्रवद्र्धन र नगरबासीको हितका लागि आफू पूर्ण प्रतिबद्ध भएर लाग्ने प्रण गर्नुभयो ।