३० कार्तिक २०८३, आइतवार

थोप्लेबिरान सहकारीद्वारा रु. दुई करोड ८५ लाख निक्षेप संकलन

३० कार्तिक २०८३, आइतवार
Image

झापा, २९ कात्तिक । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको १२ औं साधारणसभा आइतबार सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष लक्ष्मी उप्रेतीकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चार जनालाई सम्मान गरिएको छ । 

सम्मानित हुनेहरुमा नियमित बचतकर्ता इलुमाया भण्डारी, बाल बचतकर्ता आभास प्रधान, असल ऋणिको रुपमा मनरानी लिम्बू र ज्येष्ठ नागरिक मनमाया तिम्सिना हुनुहुन्छ । उहाँहरुलाई नगदसहित प्रमुख अतिथि उप्रेतीले सम्मान गर्नुभएको थियो । 

वि.सं. २०७१ मा रु. दुई लाख ३२ हजार पाँच सय शेयर पूँजीबाट स्थापना भएको सहकारीको हालको शेयरपूँजी रु. ३२ लाख ५९ हजार ७०० रहेको अध्यक्ष डम्बरकुमारी श्रेष्ठले बताउनुभयो । 

उहाँले प्रस्तुत गर्नु भएको संस्थाको प्रतिवेदनमा सहकारीले रु. दुई करोड ८५ लाख ६१ हजार १९० भन्दा बढी निक्षेप संकलन, रु दुई करोड ८८ लाख ३६ हजार २४२ को हाराहारीमा कर्जा प्रवाह गरेको उल्लेख छ । 

चार सय ३२ जना शेयर सदस्य भएको संस्थामा ज्येष्ठ नागरिक बचतलाई निरन्तरता दिने, क्षेत्र क्षेत्रमा महिलाहरुलाई काुननी शिक्षा र सहकारी शिक्षा तालिम दिने, कृषि क्षेत्रमा महिलालाई प्रोत्साहन गर्ने, व्यावसायिक क्षेत्रमा अवलोकन भ्रमण गराउने लगायतका भावी कार्ययोजना प्रस्तुत गरिएको छ ।

संस्थाकी उपाध्यक्ष जानुका ओलीले स्वागत र व्यवस्थापक पवित्रा आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, वडा अध्यक्ष कञ्चन तामाङ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।