४ वैशाख २०८१, मङ्गलवार

नयाँ सांसद्, नयाँ विचार

कक्षा १० सम्म विद्यालयमै खाना दिन सांसद् रानामगरको माग

१० पुष २०७९, आइतवार
Image

बुट्टाबारी, १० पुस । सामाजिक अभियन्ताबाट प्रतिनिधिसभा सदस्य बन्नु भएकी झापाकी इन्दिरा रानामगरले सरकारी विद्यालयको कक्षा १० सम्मका सबै विद्यार्थीलाई निःशुल्क रुपमा पोषणयुक्त खाना विद्यालयमै दिइनु पर्ने माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद् उहाँले शनिवार अर्जुनधारा वडा नं ११ स्थित बन्दी सहायता नेपालको पुनस्र्थापना गृहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त माग गर्नुभएको हो ।

कारागारमा रहेका कैदीबन्दीका नाबालक छोराछोरी र सडक बालबालिकालाई आश्रय र शिक्षादीक्षा दिलाउन रानामगरले झापाको बुट्टाबारी लगायत देशका दर्जन स्थानमा बन्दी सहायता नेपालको पुनस्र्थापना गृह सञ्चालन गर्दै आउनु भएको छ ।

‘इन्दिरा आमा’को रुपमा सम्मान पाउनु भएकी उहाँलाई रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिर ४ गतेको आम चुनावमा प्रतिनिधिसभाको समानुपातिक उम्मेद्वार बनाएको थियो । उहाँ सांसद् निर्वाचित हुनुभएको छ ।

“पोषणयुक्त खानेकुरा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो,” उहाँले पत्रकारहरुसँगको भेटमा भन्नुभयो– “कक्षा १० सम्मका सबै विद्यार्थीलाई विद्यालयमै निःशुल्क रुपमा पोषणयुक्त खाना पाउनु पर्ने विषयमा म संसद्मा जोडदार आवाज उठाउनेछु ।”

नेपालमा लाखौ बालबालिका पोषणयुक्त खानेकुरा नपाएर रोगाइरहेको र कैयन अभिभावकविहीन रहको उल्लेख गर्दै राज्य र सरकारले उनीहरुको लालनपालन र शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने उहाँको धारणा थियो ।

सडक, कारागार र असहाय बालबालिकाहरुको अवस्था अहिले पनि दयनीय रहेको बताउँदै सांसद् रानामगरले गरीवी र खानेकुराको अभावकै कारण असंख्य बालबालिका विद्यालय पुग्न नसकिरहेको जिकीर गर्नुभयो । 

सरकारले कारागारमा कैदीबन्दी आमाहरुसँगै बस्न बाध्य भएका निर्दोष बालबालिकाहरुको भत्ता पर्याप्त मात्रामा वृद्धि गर्नु पर्ने समेत माग गर्नुभयो । उहाँले यस विषयमा सदनमा आफुले जोडतोडका साथ सबैको साथ लिएर आवाज बुलन्द गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाल सरकारले कैदीबन्दीलाई दैनिक रु ५० र उनीहरुका छोराछोरीलाई रु ३० का दरले भत्ता दिएको जनाउँदै बन्दी सहायता नेपालकी अध्यक्ष समेत रहनुभएकी सांसद् रानामगरले भन्नुभयो–“यो भत्ता ज्यादै अपर्याप्त भयो । म संसद्मा यो विषयमा सरकारको ध्यान आकर्षित गरे भत्ता बढाउन पहल गर्नेछु ।”