३० भदौ २०८३, मङ्गलवार

म्याद गुज्रिएको पशुदाना बेच्ने पसललाई रु. दुई लाख जरिवाना

३० भदौ २०८३, मङ्गलवार
Image

झापा, ३० भदौ । जिल्ला प्रशासन कार्यालय झापाले म्याद गुज्रिएको पशुदाना विक्री गरेको कसुरमा मेचीनगर नगरपालिका वडा नं. ९ स्थित दास किराना पसललाई रु. दुई लाख जरिवाना गरेको छ ।

उपभोक्ताबाट गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत टिकाराम निरौलाको नेतृत्वमा खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक शंकरकुमार खत्री, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यदुनन्दन दाहाल रहनु भएको टोलीले पसलमा अनुगमन गरेको थियो ।

म्याद गुज्रिएको पशुदाना विक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्त भएपछि दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम रु. दुई लाख जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात ४९० किलोग्राम पशुदाना म्याद गुज्रिएको अवस्थामा पसलबाट भदौ २२ गते बरामद भएको थियो । 

बरामद पशुदानाको बोरामा उत्पादन मिति २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर उल्लेख थियो । उक्त पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई विक्री गरेको पाइएको थियो । सो पशुदाना खाएर उहाँले पालेको गाई विरामी भएको थियो । विरामी गाईको उपचारमा रु. चार हजार खर्च भएको आचार्यले बताउनुभयो । 

यसैगरी, प्रचलित बजारको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा काँडेतार विक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि बुद्धशान्ति गाउँपालिका वडा नंं ३ बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्समा आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाले सोमवार संयुक्त अनुगमन गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन समेत रहनु भएको टोलीले उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा शिवम् ट्रेड एन्ड सप्लायर्सका प्रोपाइटर नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२÷८३ का बिल बिजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजारमा प्रतिकेजी रु. १२५ मा पाइने काँडेतारलाई उक्त पसलले प्रतिकेजी रु. ३६० सम्ममा विक्री गरेको बिल र रकम भुक्तानीको प्रमाणसहित पीडित उपभोक्ताले प्रशासनमा उजुरी दिनु भएपछि पसलमा अनुगमन गरिएको जनाइएको छ ।