८ असोज २०८३, बिहिवार

झापाका जयरामद्वारा लोबुचे हिमालको सफल आरोहण

८ असोज २०८३, बिहिवार
Image

झापा, ८ असोज । मेचीनगर -१५ मेचीनगर–१५ का जयराम दाहालले लोबुचे हिमाल सफल आरोहण गरेका छ्न् ।

मेचीनगर–१५, झापाका पर्वतारोही तथा पर्वतीय गाइड जयराम दाहालले ६,११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका हुन्।

दाहालले असोज ७ गते राति १२:३० बजे लोबुचे हाई क्याम्पबाट आरोहण यात्रा सुरु गरेका थिए। खराब मौसमका बीच करिब १० बजे हिमालको शिखरमा पुग्न सफल भएका उनी दिउँसो ३:१५ बजे सुरक्षित रूपमा हाई क्याम्पमा फर्किएका थिए।

केही दिनयता लगातार हिमपात भइरहेका कारण यसपटक आरोहण चुनौतीपूर्ण बनेको थियो। रातभर परेको नयाँ हिउँका कारण बाटोमा थप हिउँ जम्दा आरोहणका क्रममा कठिनाइ भए पनि दाहालले सफलतापूर्वक शिखरमा पुगेर सुरक्षित रूपमा फर्किन सफल भए।

दाहालसँगै हङकङकी नागरिक सोलोङ चनले पनि लोबुचे हिमालको सफल आरोहण गरेकी छन्।

दाहालका अनुसार, “हिमालको टुप्पोमा पुग्नु मात्र ठूलो उपलब्धि होइन, सुरक्षित रूपमा क्याम्पमा फर्किनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।”

आरोहणसँगै दाहालले हिमाली क्षेत्रमा देखिँदै गएको जलवायु परिवर्तनको प्रभावप्रति चिन्ता व्यक्त गरेका छन्। तापक्रममा आएको परिवर्तन, हिउँको मात्रा घट्दै जानु, हिमनदी तथा हिमतालमा देखिएका परिवर्तन र मौसममा हुने तीव्र उतारचढावले हिमाल आरोहण तथा हिमाली जीवनमा समेत चुनौती थपिँदै गएको उनको भनाइ छ।

उनले भनेका छन्, “यसरी नै हिमाल परिवर्तन हुँदै जाने हो भने आगामी पुस्ताले हिउँले ढाकिएका हिमाल नदेख्न पनि सक्छन्। हिमाल त रहला, तर हिउँबिनाको कालो हिमाल कस्तो देखिएला? यसले प्रकृति, पर्यटन र मानव जीवनमा कस्तो असर पार्ला—हामीले आजै सोच्नुपर्ने बेला आएको छ।”

हिमालै हिमालको देश नेपालमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा यसको विषयमा नेपालले मात्र होइन, विश्व समुदायले पनि गम्भीर रूपमा आवाज उठाउन आवश्यक भएको उनको भनाई छ ।