लोकमत
लोकमत
सन् २००३ को सेप्टेम्वरमा श्रीलंकामा भएको मानव हात्ती सम्वन्ध तथा द्वन्द्व नामक ३ दिने कार्यक्रममा भारतका एक संरक्षणकर्मीले आफ्नो प्रस्तुतिमा वागमति नदी किनारमा स्थापना गरिएको अर्धकदको गणेशको मूर्ति देखाउँदै हात्ती संरक्षणका लागि नेपाल र भारत एक उपयुक्त देश भएको दलिल पेश गरेका थिए ।
नेपाल र भारतमा हात्तीलाई भगवान गणेशको रुपमा पूजा गर्ने चलन रहेका कारण हात्तीले धनजनको क्षति गर्दा समेत भगवान गणेशको रुपमा आस्था राख्ने मानिसहरुको ठूलै संख्या अझै हाम्रो समाजमा रहनुले यसै भनाइलाई नै समर्थन गर्दछ ।
राजा महाराजाले युद्धदेखि यातायातको साधनका रुपमा उपयोग गर्ने हात्ती आजका दिनमा पनि जंगल सफारीका रुपमा प्रयोग हुने गरेको देखिएको छ । पर्याप्त यातायातका पूर्वाधार र साधनको अभावमा तराईमा जमिन्दारहरुले समेत हात्ती पाल्ने गरेका परिवारका सदस्यहरु केही त अझै जीवितै छन् ।
एक समयको आस्थाको प्रतिक, यातायात र मनोरञ्जनको साधन भएको हात्ती आज पनि सहरिया वर्गको लागि मनोरञ्जनको साधन वनेको छ भने निम्न आयका कारण ठूला आवासीय संरचना वनाउन नसक्ने परिवार र वनजंगलको आसपासमा खेती गर्ने किसानका लागि भने ठूलो समस्याको रुपमा रहेको छ ।
झापामा मात्र हालसम्म ५० भन्दा वढीले हात्तीको आक्रमणवाट ज्यान गुमाएका छन् भने धनमालको क्षतिको वास्तविक तथ्यांक नै प्राप्त गर्न कठिन रहेको छ । वनजंगल क्षेत्रमा निर्वाध हिँडडुल र यात्रा गर्न असुरक्षा भएको छ । बालबालिका र वृद्धवृद्धामा त्रासका कारण हुने मनोसामाजिक अवस्थाको त कुनै लेखाजोखा नै छैन ।
दिनभरी कृषि कार्यमा ब्यवस्थित रहने किसानहरु रातभर सुत्न नपाउँदा के हुने हो ? कस्ता रोगको शिकार हुनु पर्ने हो ? आम सहरवासीलाई थाहा नहुनु अनौठो होइन । प्लस टु अध्ययन गर्ने विद्यार्थीहरु हात्तीसँग विहानै जम्काभेट हुने डरले विद्यालय जान नसक्नेदेखि ग्रामीण क्षेत्रवाट सहरमा जागिर गर्नेहरुको घर फर्कदा हुन सक्ने हात्तीसँगको जम्काभेट लगायतका अनेकन समस्याको भार वहन गर्नु परेको छ । यिनै कारणले विगतदेखिको मानव–हात्ती सम्वन्ध समेत द्वन्द्वमा वदलियो र सहर र गाउँको सामाजिक सम्वन्धमा समेत असर परेको छ ।
संरक्षणकर्मी र वातावरणविद्का लागि भने हात्ती वसोवास गर्ने १३ देश (नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंका, म्यानमार, चीन, थाइल्यान्ड, मलेसिया, लाओस, कम्बोडिया, भियतनाम र इन्डोनेसिया¬)मा रहेका करिव ५५ हजार हात्ती (४० हजार एसियन र १५ हजार अफ्रिकन) पूर्वाधार (सडक, विद्युत, ंिसंचाई) निर्माणको तिव्रताले जोखिममा रहेको चिन्ताले सताएको छ ।
मानव वन्यजन्तु द्वन्द्व वढाउनका लागि मानिसकै ब्यवहार प्रधान छ भन्ने स्थापित गर्न संरक्षणकर्ताहरु निरन्तर लागेका छन् । यो उनीहरुको धर्म पनि हो । तराईमा १९५० अघि मलेरियाको प्रकोपका कारण सवै क्षेत्र जंगल रहेको र १९५० पश्चात औलो उन्मूलन भयो र तराईमा मानव वसोवास वढ्यो जसका कारण हात्तीको वासस्थान र आहारा अभाव भएको भन्ने आशिंक रुपमा सत्य साहित्यहरु जताततै छरपस्ट पाइए पनि, झापाको पूर्वोत्तर बाहुनडागीमा ३० को दशकमा हात्तीको नभई बाघको आतंक समेत रहेको स्थानीयहरुको वुझाई छ । वाघ घरमा पसेर मानिसलाई आक्रमण गर्दा मानिसको ज्यान गएको र नरभक्षी वाघलाई गोली हानी मार्ने ब्यक्तिहरु अझै पाइन्छ ।
सुरुमा द्वन्द्वको तिव्रता झापाको पूर्वोत्तर साविक गाविस बाहुनडाँगीमा सवैभन्दा वढी रहेको भए पनि अव यो समस्या झापाका अन्य पालिकाहरुमा समेत फैलदो छ । झापा जिल्लामा साँघुरिदै गएको वनक्षेत्रमा स्थायी रुपमा हात्तीको वासस्थान नभएका कारण मानव वस्तीमा हात्तीको प्रवेश हुने र भण्डारण गरिराखेको अन्न खाने कारणले द्वन्द्व वढेको निश्चित छ । अन्य स्थानमा हुने मानवहात्ती द्वन्द्व र झापाको अवस्था धेरै मानेमा फरक छ ।
झापाको पूर्वोत्तर बाहुनडाँगी भारत पश्चिम वंगाल सुकुना आरक्षको अघोषित वफर जोनको रुपमा रहेकाले यहाँका कृषक र वासिन्दाहरु मारमा परेका छन् । भारतको पश्चिम वंगालवाट आउने सिजनल माइग्रेटरी हर्ड (मौसम अनुसार वसाइ सर्ने हञ्जा)का कारण विशेष गरी असारमा भित्राउने मकै र मंसिरमा भित्राउने धान जोगाउन कठिन छ । यद्यपि सन् २०१५ मा वैंकको सहयोगमा प्रकृति संरक्षण कोषद्वारा निर्मित सौर्य तारवारले हञ्जा हात्ती रोक्नका लागि ठूलो मदत गरेको भए पनि पछिल्ला दिनमा यो सोलार फेन्सिङ पनि प्रभावहिन हुन थालेको देखिएको छ ।
संरक्षणकर्मीहरुको चिन्ता हात्ती लगायत अन्य जैविक विविधताको क्षय हुने हो कि भन्ने भए पनि संरक्षणका लागि आवश्यक वासस्थान र आहाराको ब्यवस्थापनमा सुधार हुन सकेको छैन । संरक्षणकर्मीहरुका कुरा प्राथमिकतामा पर्ने र राज्यका नीति निर्माताहरुसम्म उनीहरुको पहुँच पुगे पनि संरक्षणका आधारभूत विषयभन्दा सभा, गोष्ठी र नीति निर्देशिका निर्माणमा नै उनीहरु ब्यस्त छन् । कृषि कर्ममा वाँचेका निम्न वर्गका कथा र ब्यथाहरु राज्यका नीति निर्माताहरु कहाँ मुस्किलले मात्र पुग्छन्, पुगिहाले पनि कमै कार्यान्वयन हुन्छन् ।
समाधानका अनेकन उपायहरुको प्रयोग हुँदासम्म पनि यो समस्या कायमै रहनु केही मानिसहरुका लागि अचम्म लाग्न सक्छ । स्वाभाविक हो यो द्वन्द्व अन्त्य गर्न सकिदैन तर न्यूनिकरण गर्न सकिन्छ । द्वन्द्वग्रस्त क्षेत्रमा वसोवास गर्ने मानिसहरुले समेत यो वुझ्न जरुरी छ कि पूर्ण रुपमा यसको समाप्ति हुँदैन । मानव र हात्ती यो पृथ्वीमा रहुञ्जेल यो द्वन्द्व कायमै रहन्छ । मुख्य कुरा आहारा र वासस्थान (वनजंगल)को संरक्षणका लागि जोड दिने, हात्ती खेदाउने प्रभावकारी विधि (तालिम प्राप्त र साधन सम्पन्न स्क्वाड, विद्युतीय तथा जैविक वार, वदमास प्रकृतिका हात्तीहरुलाई स्थानान्तरण)को प्रयोग गर्ने कार्यका लागि सरकारको सहयोग हुनु आवश्यक छ ।
राज्य अभिभावक हो । राज्यले ‘यसरी नै चल्दै गर्छ’ भन्ने सोच राख्ने हो भने मानव हात्ती द्वन्द्व नागरिक र राज्यको द्वन्द्वमा रुपान्तरण हँुदैन भन्न सकिन्न । लोपोन्मुख वन्यवन्तु संरक्षणका लागि विद्यमान कानुनहरुको परिपालनको एकोहोरो कार्यान्वयन मात्र समस्याको समाधान होइन । दीगो विकासको लक्ष्य हासिल गर्ने प्रतिवद्धता नेपाल सरकारको पनि छ । यसको मुख्य विषय भनेको पिपल, प्लानेट अनि प्रोसपरिटी रहेको छ । मानिस, पृथ्वी र समृद्धिका विषयमा सरकारले सोच्न आवश्यक छ ।
वातावरण विनासका लागि मानिस जिम्मेवार छ र यसको संरक्षणका लागि पनि उसकै सक्रियता आवश्यक छ । पहिला मानिसको संरक्षण हुन पर्छ त्यसपछि मात्र पृथ्वी र यसमा रहेका अनेकानेक जीवजन्तु र वनस्पतिको संरक्षण हुन सक्छ । मानिसनै नरहने हो भने समृद्धि कसका लागि ?
(बाहुनडाँगी निवासी लेखक मानव–हात्ती द्वन्द्वलाई नजिकबाट नियालिरहेका नागरिक समाजका प्रबुद्ध अगुवा हुन् ।)