२० जेठ २०८२, सोमवार

तिमी हिँड्ने पिच गर्दिन्छु रोड.......

१४ जेठ २०८२, मङ्गलवार
Image

म सूचना व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत छु । म कक्षा हुने दिन समयमा उठे भने प्रायःजसो क्याम्पस जान रुचाउँछु । मलाई हरेक दिन क्याम्पस जान प्रेरित गर्ने कुरा आफूले मन पराउन थालेको विषय अध्ययन गर्न एउटा कुरा भयो तर म हिड्ने बाटो मलाई झन् प्यारो लाग्छ । हरेक दिन त्यो बाटो हिँड्दै गर्दा मैले देख्ने, अनुभूत गर्ने कुराहरु धेरै छन् । 

विहान निन्द्राले समातिरहने चुनौती त छँदैछ, त्यसपश्चात तयार भई मैले प्रयोग गर्दै आएको यामाहाको बुलेट बाइक स्टार्ट हुन्छ हुँदैन भन्ने दोधारमा यात्रा सुरु गर्नु रोमाञ्चक र चुनौती दुवै लाग्छ । घरअघिको मेचीनगर–१० बाट मेचीनगर–१४ को पत्रसनबाडी जोड्ने कच्चीबाटो हुइँकिदै गर्दा हाम्रो देश देख्छु । कच्ची बाटो, बाटोका दायाँ–बायाँ अधिकांश साधारण सिमेन्टले बनेका घरहरु, केहि बनिदै गरेका घरहरु । सबै घर रुख–विरुवाले घेरिएका कसैको घर कम्पाउन्ड वालले सुरक्षित बनाएका रे..। खेतबारीमा समय अनुसारका खेतीहरु कुनै समय मकै, कहिले धान, यसबेला भने सजिवन, आँप र लिच्ची फलेका बोटहरु समेत देख्ने गर्छु ।

हरेकपटक पत्रसनबाडी हुँदै मेचीनगर–१४ को हाटखोला जोड्ने झोलुङ्गे पुल तर्दै गर्दा, त्यस पुलका निम्ति सानोभन्दा सानो योगदान गर्नु हुने अञ्जान व्यक्तित्वहरु सबैलाई धन्यवाद दिन्छु । झोलुङ्गे पुलपारि ठूला वर र पिपलका रुख छन्, त्यसैको आडमा ज्येष्ठ नागरिक समाज, वडा नं १४ को नेतृत्वले बनाएको वहुउपयोगी विश्रामालय छ । हडिया खोलाको बगर, दुई ठूला रुखहरुका वीचमा रहेको विश्रमालय अनि छेवैको कुलायन नेचुरल कृषि फार्म, साच्चै मनमोहक वातावरण अनि शितलता महसुस हुने त्यस ठाँउबाट अघिलाग्दा बल्ल मेचीनगर–भद्रपुर जोड्ने कालोपत्रे सडक भेटिन्छ । 

कालोपत्रे सडकमा पुगेपछि अघि हिँडेको कच्ची बाटो भएको मेरो गाउँभन्दा उन्नत र विकसित ठाउँ पुगेकोमा गर्व हुनुपर्यो नि, आखिर विकसित ठाउँको एउटा सूचक वा मानकको रुपमा कालोपत्रे पिच बाटो बनिसकेको छ ।

कालोपत्रे सडकमा भने मेरो बाइकको गति स्वाभाविक तीब्र हुने नै भयो, तर मेरो तीब्र गति पनि अरु सवारी–चालकको दाँजोमा सुस्त देखिनसक्छ । बाटो पिच भएकाले मात्र मैले त्यस ठाउँ विकसित र उन्नत भनेको भने होइन है । त्यो बाटो दायाँ–बायाँ मैले देश नेपाल देख्ने धेरै कुराहरु भेट्छु । शिवालय मन्दिर, लिच्चिको बगैँचा, खेतियोग्य जमिन अनि त्यहाँ बाह्रैमास हुने खाद्यवालीहरु, ठूला गाई–बाख्रा फार्म, सिङ्गापुर बेभरेजको चिसो पेय–पदार्थको उद्योग, नेपाल वहुउद्देशीय सहकारी संस्थाको कृषि परियोजना केन्द्र जस्ता धेरै कुराहरु त्यहि बाटो हिँड्दा मैले हरेक दिन देख्छु ।

मैले देखिरहेका र लेखिरहेका यी सब कुराहरु साविक दुवागढी गाविसमा पर्छन् जसलाई अहिले मेचीनगर नगरपालिकाको वडा नं– १४ बनाइएको छ । कसैलाई सोधेर वा ऐतिहासिक प्रमाणका आधारमा लेखेको होइन तर सम्पूर्ण संसारको हितका निम्ति ‘अल्लाह’सँग दुवा माग्ने समुदायको उल्लेख्य बसोवास रहेकाले त्यस ठाउँलाई दुवागढी भनिएको हो कि जस्तो मलाई लाग्छ । मुसलमान समुदायको अलावा राजवंशी, मेचे, पहाडी ब्राह्मण, क्षत्री, राई, लिम्बु, आदि जस्ता मिश्रित समुदाय त्यस ठाउँको विविधतामा सुन्दरता थप्ने अर्को आयाम समेत हो । 

राज्यको राजनीतिक, सामाजिक, शैक्षिक वा अन्य क्षेत्रहरुमा प्रभाव र उपस्थिति कम देखिए पनि बसोबास र इतिहासका आधारमा हेर्ने हो भने सन्थाल समुदाय हाल मेचीनगर नगरपालिकाले समेट्ने क्षेत्रको महत्वपूर्ण आदिवासी समुदायको रुपमा बुझ्नुपर्ने हुन्छ ।

त्यहि सन्थाल समुदायका मेचीनगर वडा–१४ ‘पारिजात टोल’ मा बस्दै आउनु भएका विशु काकाको र सिङ्गो समुदायको रैथाने शिप, हस्तकला, र बाँसका उपयोगी सामाग्री बनाउने पेशा झल्कने बाँसको फोहोर फाल्ने ढाकी ‘डस्टबिन’ धेरैको घर र पसल अगाडि देखिन्छ । मलाई यस बाटोमा देखिने धेरै बस्तुमध्ये असाध्यै मन पर्ने त्यो बाँसका चोया खिपेर बनाइएको फोहोर फाल्ने डस्बिन हो । पसलमा केहि किनेर खाए पस्वात प्लास्टिकका खोल बाँसको डस्टबिनमा हाल्दै म प्रायः दोकानहरुमा भन्ने गर्छु, दुवागढीको पहिचान बनिसक्यो यो डस्टबिन । सबैलाई बाँसको सामाग्री बनाइदिनु हुने विशु काकाको वासस्थान चाँहि कसले पो बनाइदेला र, मलाई चिन्ता लागेर आउँछ ।

भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको सिमानामा सानो पक्की पुल पर्छ, त्यसपुलभन्दा अगाडि मस्जिद छ अनि मस्जिदसँग जोडिएको कृष्ण प्राथमिक विध्यालय । हेर्नुस् सौहार्दता, सहिष्णुता अनि समभाव विध्यालयको नाम कृष्ण प्रावि अनि छेउमा मस्जिद । बाटो दक्षिण रहेका यी दुई संरचना अनि बाटो उत्तर सानो चिया बगान । जाडोयाममा बाटोभरि हुस्सु र चिसोसँग जुध्दै त्यहाँ पुग्दा झिसमिस हुन्थ्यो अनि निक्कै जाडो पनि । मस्जिदको टुप्पोमा रहेको चन्द्रमा र तारा हेरेर ‘अल्लाह हु अकबर’  भनी कराउँदा एकछिन चिसो बिर्सने मैले आजभोलि त्यसरी चिच्याउन बिर्सिए भने लौ के छुटाएँ जस्तो भान हुन्छ । 

चिया बगानमा विषादी स्प्रे गर्ने उपयुक्त समय घाम चर्केको बेला हुँदो हो । मलाई मनपर्ने त्यो ठाउँ, त्यो बाटो र चिया बगान घाम चर्किएको समय हिड्न नपरे हुन्थ्यो भन्ने लाग्छ । एकछिन बाटो हिड्ने मलाई गन्हाउँछ, सास फेर्न उकुसमुकुस महसुस हुन्छ भने हातमा पञ्जा, मुखमा मास्क, आधा शरीर छोपिने लुगा लगाएर विषादी छर्कने बगानका श्रमिकको स्वास्थ्यमा कस्तो असर हुँदो हो ? त्यसस्थान वरपरका बासिन्दा अनि चिया पिउने हामीलाई कति असर गर्दो हो ? नसोचौ यस्ता वाहियात कुराहरु, प्राकृतिक अनि विषादी–औषधि रहित आजभोलि पानी समेत हँुदैन होला ।

भद्रपुर टेक्नासाथ सुरु हुन्छ मैले बनाएको ‘कृष्ण जोन’, प्रणामी सम्प्रदायमा रमाउनु हुनेको बाक्लो बसोबास भएर होला राम्रै भौतिक संरचना रहेको कृष्ण प्रणामी मन्दिर छ बाटो पश्चिम । मन्दिरको विपरितमा बाटोपूर्व खुल्ला व्यायामशाला, जहाँ यदाकदा साना साथीहरु खेलिरहेको पाउँछु । पुरानो कालोपत्रे बाटो भत्केको छ, पानी जमेको खाल्डा–खुल्डीमा म बुलेट बाइकमा हुइँकिदै गर्दा बिहानको समय दुध बोक्ने पेशा गर्नुहुने ग्वाला बुवा–दाजुहरु दुध बोक्न भाँडाहरु झुण्ड्याइएको साइकल पेलिरहेको पाउँछु ।

केहि तल घोडामारातर्फ अघि बढ्दा सानो पुरानो अनि रङ्ग उडिसकेको संरचना छ, नियालेर हेर्ने हो भने फलामकोगेट अनि गेटभित्र सानो शिवलिङ्ग । फलाममा लेखिएको छ ‘हर हर महादेव’ । मैले आफुले तोकिदिएको यो ‘शैव क्षेत्र’ हो । शैव क्षेत्रबाट केहि तल रहेको ग्यालेक्सी इङ्गलिस स्कुल भने नयाँ कालोपत्रे सडकबाटै पुगिन्छ । ठूलो क्षेत्रफल बाटोभन्दा पर पश्चिम दिशामा कम्पाउन्ड वालभित्र रहेको यो संस्थागत विध्यालय सुन्दर, शान्त अनि सफा देखिन्छ । पर्खालहरुको बाहिरी भागमा आकर्षक वालमैत्री चित्रहरु बनाइएका छन् । स्कुल तलतिर नयाँ कालोपत्रे सडक सकिन्छ अनि सुरु हुन्छ बखान नगर्दा हुने हाम्रो आफ्नै मौलिक नेपाली पहिचानको बाटो । बाटोपूर्व बाक्लो सुकुम्वासी बस्ती । 

स्थानीयसँग यति केहि सय मिटर बाटो चाँहि किन कालोपत्रे भएन भनि जिज्ञासा राख्दा सबैको एउटै जवाफ पाएँ, ‘खै भाई के भन्ने नेता–कर्मचारी–उध्योगी जस्लाई भने पनि एउटै गीत गाँउछन् ।’ 

‘कुन गीत हौ त्यस्तो नेपाली–हिन्दी–अङ्ग्रेजी ?’ प्रतिप्रश्न गर्छु म । 

स्थानीयहरु भन्नुहुन्छ, ‘कुन गाउँछन् र उहि के त – तिमी हिँड्ने पिच गर्दिन्छु रोड.. ।’  ईट्टा बनाउने उध्योग, चिया बगान हुदै घोडामारा पुगिने त्यति थोरै कालोपत्रे गर्न बाँकी सडक सायद छिट्टै पिच हुन्छ होला ।

कहिलेकाँहि आकाशमा देखिने बुद्ध, यतिका जहाजहरु, प्रहरी चौकी, पशुपति आधारभूत विध्यालय, भुपेन्द्र यादव दाइको मोटरसाइकल ग्यारेज, राजवंशी दिदीको खाजा पसल, मुसलमान काकाको हार्डवेयर र किराना पसल अनि अन्य थुप्रैका पसल र घरहरु भएको शान्ति चोकबाट केहि पश्चिम गएर दक्षिण दिशामा अघिलाग्दा सशस्त्र प्रहरी बल नं २ गण हेडक्वाटर हेर्दै खेतबारीका वीच जाने कालोपत्रे सडकबाट पुगिन्छ पूर्वी नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य– मेची वहुमुखी क्याम्पस ।

लेखकको बारेमा
Image
ऋषब

मेचीनगर–१० निवासी ऋषब सामाजिक विषयवस्तुमा लेख्न रुचाउनुहुन्छ ।