६ मंसिर २०८१, बिहिवार

अन्तरवार्ता

चरा खोज्दाखोज्दै नौ लाख सिध्याएँ

१० पुष २०७९, आइतवार
Image

मेचीनगर–६ काँकरभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर देबेन्द्र खरेल ‘मेची चरा तथा बन्यजन्तु संरक्षण समाज’को अध्यक्ष हुनुहुन्छ । नेपालमा नभेटिएका ‘हङ्रायो’ र ‘हरित परेवा’ पत्ता लगाएपछि उहाँको विश्वभर चर्चा चुलियो । चराको खोजी र संरक्षणका विषयमा लोकतन्त्र पोस्टका लागि उहाँसँगको लिइएको अन्तरवार्ता प्रस्तुत छ–

कसको प्रेरणाले चराको खोजीमा लाग्नुभयो ?

फोटो र भिडियोग्राफी मेरो पहिलेदेखिको शोख र पेशा थियो । दृश्यावलोकनमा जाँदा फुल, पुतली हुँदै चरासम्मको फोटो खिच्न थालियो । त्यसपछि चराको खोजिमै मेरो ध्यान केन्द्रित भयो । भारतको वाइल्डलाइफ फोटोग्राफर राथिका रामास्वामी र जीवविज्ञानमा कलम चलाउनु हुने कमल मादेनबाट म धेरै हदसम्म प्रभावित भएको हुँ ।

अहिलेसम्मको उपलब्धि ?

मेचीनगर–७ मा नेपालमै अहिलेसम्म नभेटिएको चरा हरित परेवा ‘ग्रीन इम्पेरियल पिजन’ भेटिएको छ । यो नेपालको ८८७ औं चरा बनेको छ । त्यसअघि ८८६ प्रजातिका चरा मात्र नेपालमा पाइने रेकर्ड थियो । अर्को चाहिँ, ‘रातो ढाँडे पुष्पकोकिल’ नामको सानो चरा रोङको कुटीडाँडामा फेला पारेको हुँ । सबैभन्दा महत्वपूर्ण उपलब्धि चाहिँ ‘हङ्रायो’ चरा डेढ सय वर्षपछि मैले फेला पारेको हुँ । प्रधानमन्त्री भीमसेन थापाको पालातिर नेपाल आउनु भएको विश्वप्रसिद्ध अंग्रेजी खोजकर्ता ब्रायन हड्सनले नेपालमा ‘हङ्रायो’ चरा पाइएको प्रमाण पेश गर्दै त्यसको नाम नेपालसँगै जोडिदिनु भएको थियो । यो चरा नेपालमै पत्ता लागेको तर वर्षौदेखि लोप भइसकेको भनेर औपचारिक प्रतिवेदन आइसकेको अवस्थामा हङरायो भेट्नु ठूलो उपलब्धि हो । यो खबर नेपालका लागि मात्र नभएर विश्वकै लागि सनसनीपूर्ण खबर थियो । ग्लोबल भ्वाइस मेगेजिनमा यो समाचार आएपछि पोर्तुगिज, अरबिक, अंग्रेजी, हिन्दी र फ्रेन्च भाषाका मिडियामा पनि यसले स्थान पाएको थियो ।

नेपाल र मेचीनगर चराका लागि किन स्वर्गतुल्य मानिएको हो ?

विश्वमा नेपालभन्दा ठूला अनेकन देशहरु छन् । तर चराको विविधता भएको देशमा नेपाल २६ औं स्थानमा छ । हामीभन्दा १७५ देश मुनि छन् । नेपालमा ८९० प्रजातिका चरा अभिलेख भइसकेका छन् । चीनमा १४०० र भारतमा १३०० को हाराहारीमा चरा पाइन्छन् । मेचीनगरमा ३०० भन्दा बढी चरा पाइएका छन् । खोज गर्ने हो भने ४०० पुग्छन् । नेपालका संरक्षित क्षेत्र बाहेक धेरै चरा पाइने क्षेत्र मेचीनगर हो । तसर्थ, नेपाल र मेचीनगर चराहरुको स्वर्ग हो । ‘हरित परेवा’ ज्यामिरगढीमा र ‘बगर बट्टाई’ बाहुनडाँगीमा भेटिएको हो । अति दुर्लभ पेट कैले कोइली, कालो टाउके बगेडी र भाइलेट कुकु पनि यही पाइन्छ । दुनियाँको सबैभन्दा स्पीडले उड्ने चरा ‘शाहीबाज’ मेचीनगरमा भेटिएको छ । 

नेपालमा चरा संरक्षणको अवस्था ?

एकदमै कमजोर । चरा पनि संरक्षण गर्नु पर्ने हो र भन्ने मान्छेहरु धेरै छन् । जनचेतना, सहभागिता र विज्ञताको ठूलो अभाव छ । कोशी टप्पु पूर्व एउटा पनि बन्यजन्तु आरक्षण छैन । नेपालमा अहिलेसम्म दुईवटा मात्र पश्चिमको घोडाघोडी ताल र जगदीसपुर ताललाई बर्ड सेन्चुरी (चरा अभयारण्य) घोषित गरिएको छ । भर्खर संरक्षणको प्रयास हुन थालेका छन् । 

भारततिर चाहिँ ?

चरा मात्र होइन, जीवजन्तुको संरक्षणमा भारत हामीभन्दा धेरै अगाडि छ । आम जनतामा सचेतनाको हिसाबले पनि अगाडि छ । मेची तरेर पूर्व लाग्यौं भने आसामसम्ममा १२ वटा भन्दा बढी वाइल्डलाइफ सेन्चुरीहरु पाइन्छन् । जंगल बचाउनु पर्छ, जीवजन्तु मार्नुहुँदैन, चरा संरक्षण गरिनुपर्छ भन्ने उन्नत चेतना पाइन्छ । तर ठिक विपरीत हाम्रातिर जंगली जीवजन्तु देखियो भने मारिहल्नु पर्छ भन्ने घातक सोच पाइन्छ । 

मेचीनगरलाई ‘चरा अभयारण्य’ बनाउन सकिने सम्भावना कत्तिको छ ?

मेचीनगर, इलामको रोङ र सूर्योदयमा ‘बर्ड सेन्चुरी’ घोषणा गर्न हामी पहल गर्दैछौं । मेचीनगरको निन्दा किनारतिरको कुनै क्षेत्रमा ५० बिगाहा जतिको कृत्रिम पोखरी बनाउन जरुरी छ । जसको २० फिटको डिलहरुमा फलफुलका विरुवा हुर्काउनु पर्छ । चराका लागि पोखरीमा माछा पाल्नुपर्छ । साइबेरिया वा अन्यत्रबाट कोशीटप्पपुतिर उड्दै गरेका चराहरु ठूलो पोखरी देखेपछि आउँछन् । अरु साना चराहरु फलफुल पाइने भएकाले बच्चा कोरल्न त्यतैतिर बस्न थाल्छन् । सडकतिर दुर्घटनामा मरेका पशुहरुलाई सुरक्षित तरिकाले पोखरी बाहिर कतै फ्याकिदिने व्यवस्था मिलाइयो भने चील र गिद्ध प्रजातिका चराहरु आउने गर्छन् । त्यसो भयो भने चरा पाइने ठाउँ भनेर पर्यटकलाई सजिलै देखाउन सकिन्छ । यो काम गर्न सकियो भने मेचीनगरलाई अन्तर्राष्ट्रिय लेभलको पर्यटकीय केन्द्र बनाउन सक्छौं । 

चराको संरक्षण मानव जीवनका लागि किन महत्वपूर्ण छ ?

किंवदन्ती, उखान, गीत, लोकभाका र श्रुतिहरुमा चरा बाँचेका छन् । चराले बोलेको, गाएको, नाचेको भावलाई लिएर गीत र साहित्य रचना भएका छन् । विहानलाई बुझाउन कथा लेख्नु पर्यो भने चरा चिरबिर गरेको भन्ने गरिन्छ । चित्रकारले हिमाल मास्तिर चरा उड्दै देखाउँछ । चरा बिनाको ठाउँ निरस, बस्न अयोग्य मानिन्छ । धरतीलाई हराभरा बनाउन चराहरुको योगदान छ । चराले फलफुल खाएर बिस्टयाउँदा होस् या चुच्चोमा टिपेर फलफुल अर्को ठाउँमा पुर्याउँदा झुक्किएर झरेका बीजबाट बनजंगल फैलिएको हो । 

चरा खोजीमा लाग्दा भोग्नु परेको कठिनाईहरु ?

चरा खोज्न सजिलो छैन । चरा खोज्दाखोज्दै मैले नौ लाख सिध्याएँ । अहिले छोराछोरी पढाउन मुस्किल परेको छ । चरा जोगाउनु पर्छ भन्दा मानिसहरु हाँस्छन् । पाँच लाख जतिको क्यामरा र लेन्स झरेर क्षतिग्रस्त भयो । मलाई उन्नत प्रविधिको क्यामरा चाहिएको छ । कसैका अगाडि हात फैलाउन जान मलाई मेरो नैतिकताले दिदैन ।  

अबिस्मरणीय क्षण ?

हङ्रायो भेटेको बेला हो । फोटो खिचिसकेपछि यो खबर म कसलाई सुनाउँ, कुन मिडियालाई भनुँ, कि के गरुँ जस्तो भएको थियो । सूर्योदय–१ स्थित थुम्के भन्ने ठाउँमा हामी हिडँेका थियौं । दुईवटा भाले हङ्रायो ममाथिको आकाशमा उडेर जाँदै गरेको देखेँ । मेरो भाग्य, ती चरा रुखमै बसे । उडेर टाढा गइदिएका थिए भने मैले फोटो खिच्न पाउन सक्ने थिएन । मैले फटाफट फोटो खिचेँ ।

(प्रस्तुति : मोहन काजी/अर्जुन कार्की)