६ मंसिर २०८१, बिहिवार

अन्तरवार्ता

‘बेथितिविरुद्ध उठेको हुँ, पार्टीको झोला बोक्दिन’

१८ माघ २०७९, बुधवार
Image

युवा उद्यमी हरिप्रसाद कोइराला मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ । पार्टीको झोला बोक्नेहरुले संघप्रति आम व्यवसायीको विश्वास घटाउँदै लगेको हुँदा कुनै प्यानलमा नलागी स्वतन्त्र उम्मेद्वार बनेको बताउनु हुने उहाँसँगको कुराकानी प्रस्तुत छ–

तपाईलाई बागी उम्मेद्वार भन्छन्, खास कुरा के हो ?

म बागी होइन, व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा उम्मेद्वार हुँ । मेची उद्योग वाणिज्य संघ भनेको उद्योगी व्यापारीहरुको व्यावसायिक हकहितका लागि नेतृत्व गर्ने संस्था हो । अहिले त्यहाँ राजनीति हावी भएको छ । यहाँ त संघमा टिकट पाइएन भने खानेपानीमा पनि उम्मेद्वारी दिने प्रवृत्ति छ । दलीयकरणका कारण जो व्यवसायी छ, हकहितमा लड्छु भन्छ, उही मान्छे व्याक हुनुपर्ने अवस्था बनाइन्छ । पार्टीको झोला बोकेर हिँड्नेले मात्रै उम्मेद्वार बन्न पाउने स्थिति हुनुहुँदैन । म यस्तो बेथितिविरुद्ध व्यवसायीहरुको हितका लागि लड्ने एजेन्डा बोकेर वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वार बनेको छु । मलाई बागी नभनिदिनु होला । म पार्टीको उम्मेद्वार होइन ।

किन वरिष्ठ उपाध्यक्षमै उठ्नुभयो ? अध्यक्ष नै उठेको भए हुँदैनथ्यो र ?

अध्यक्ष उठ्दा पनि हुन्थ्यो । म पहिलोपल्ट उम्मेद्वार बन्दैगर्दा एकैचोटी अध्यक्षमा दावी गर्ने कुरा हुँदैन । अर्कोपटक त्यो पनि गरौंला । अध्यक्षसँग पावर शेयरिङ गरेर व्यवसायीको हितमा काम गर्न सकिने शक्तिशाली पद भएकाले वरिष्ठ उपाध्यक्ष नै रोजेको हुँ ।

तपाईको चुनावी प्रतिवद्धता के हो ?

वाणिज्य संघमा राजनीति घुसेपछि त्यसले व्यवसायीको हितमा काम गर्न सक्दैन भन्ने कुरा पटकपटक प्रमाणित भइसकेको छ । यसअघिको संघका पदाधिकारीहरुले कोरोना महामारीमा तड्पिएका व्यवसायीहरुको पक्षमा केही काम गर्नु भएन । चुइक्क बोल्नु भएन । करोडौं लगानी व्यवसाय गरिएको छ । व्यवसायको मुद्धामा संघले कुनै आवाज उठाएको पाइँदैन । बैंकको नाफा बढ्दै जाने तर व्यवसायीहरुको घाटा बढेर आत्महत्या गर्नुपर्ने स्थिति छ । यस्तो बेथितिको अन्त्य गर्ने र व्यवसायीहरुको हितमा राजनीतिक स्वार्थभन्दा अलग बसेर सेवा गर्नेछु । बैंकको व्याज बढेर दोहोरो अंकमा पुगेको छ । व्यवसायीले आत्महत्या गरिरहेका छन् । मेरो मुख्य मुद्धा यो हो । राजनीतिकरण गर्नहुँदैन संघमा । राजनीति गर्ने ठाउँ अन्तै छ । वाणिज्य संघले हकहितमा बोल्न छाडेको हुँदा व्यवसायीहरु रिन्यु गर्न आउन छाडे । म व्यवसायीहरुको आत्मविश्वास बढाउँछु । उनीहरुलाई यो संघ भनेको व्यवसायीहरुको आफ्नै संस्था हो भनेर चिनाउँछु ।

आफुलाई कसरी चिनाउनु चाहनुहुन्छ ?

व्यक्तिगत स्वार्थ नराख्ने, पार्टीको झोला नबोक्ने र समस्यामा परेका व्यवसायीको पक्षमा उभिने एउटा सचेत व्यवसायीको रुपमा म आफुलाई चिनाउन चाहन्छु । मेचीनगर–११ म अध्यक्ष रहेको एसियन लुब्रिकेन्टस् कम्पनी प्रालि छ भने मेचीनगर–९ मा जनता पेन्टस् इन्डस्ट्रिज प्रालि सञ्चालन गरिरहेको छु । म जस्तै व्यवसायीमा सानो वा ठूलो लगानी गर्नुभएको तर राज्यको गलत नीति र परिस्थितिका कारण रुनु न हाँस्नुको अवस्था भोगिरहनु भएको आम व्यवसायीहरुको नेतृत्व गर्छु भन्ने आँट, सोच र भिजन बोकेर वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बनेको छु ।

पन्नालाल जैन, कपिल क्षेत्री जस्ता हेभिवेट उम्मेद्वारसँग प्रतिष्पर्धा गर्न सजिलो छ र ?

म अरु उम्मेद्वार यस्तो उस्तो भनेर नकारात्मक टिप्पणी गर्न चाहन्न । पन्नालाल जैन हाम्रो संघको संस्थापक हुनुहुन्छ । उहाँ घटुवा भएर नउठिदिएको भए हुन्थ्यो भनेर व्यवसायीहरु नै भनिरहनु भएको छ । कपिलजी यसअघि उद्योग उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनिसक्नु भएको छ । अब के गर्न बाँकी छ उहाँले ? म प्रश्न सोध्न चाहन्छु, कपिलजी तपाईले कोरोना महामारी र व्यवसायीहरुलाई साह्रो गाह्रो परेका बेला कति काम गर्नुभयो ? म त एकपटक वरिष्ठ उपाध्यक्ष भएपछि दोहोरिएर त्यही पदमा चुनावमा उठ्दिन । प्रमोसन भएर अध्यक्ष पदमा पो प्रतिष्पर्धा गर्नुपर्छ ।  

चुनाव जित्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?

पार्टीभन्दा माथि उठेर मलाई सबै व्यवसायीहरुले मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु । उम्मेद्वारको प्यानल होला, भोटरको प्यानल हुँदैन । राजनीतिक रुपमा जो जता लागे पनि मलाई भोट आउँछ । म जित्छु ।