१२ साउन २०८१, शनिवार

हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं ः सन्तोष आचार्य

२३ जेठ २०८१, बुधवार
Image

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । प्यानलका अध्यक्ष उम्मेद्वार आर्चायसँग प्रकाश पौडेलले गरेको चुनावी वार्ता ः

तपाईं चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?

खानेपानी अविछिन्न उत्तराधिकारी संस्था हो । यो आम संघ–संस्था भन्दा अलि बढी संवेदनशील फरक र विशेषखालको संस्थाको पनि हो । किनकी यसले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । संस्थाको नेतृत्वमा गएपछि जीवन जिउनको लागि अति आवश्यक महत्वपूर्ण पानी वितरणको कुरा छ । यो चानचुने कुरा होइन । अहिले उम्मेद्वार भएर मत मागिरहँदा म निक्कै संवेदनशील र सजग भएर अघि बढेको छु ।

खानेपानीका चुनौतिहरु के के छन् ?

मुलत खानेपानी आधारभूत वर्गलाई पानी पुर्याउनु अहिलेको चुनौति हुन् । पानी अनिवार्य सर्त हो, समाजमा आफ्ना हरेक आवश्यकताका लागि मूल्य चुकाउने एउटा वर्ग छ । हाम्रै समाजमा अर्काे यस्तो वर्ग छ, जसले खानेपानीको समेत मूल्य चुकाउन सकिरहेको छैन । उसले खानेपानी समेत पाउन सकिरहेको छैन । त्यसैले हुनेसँग लिने र नहुनेलाई दिने हो भने यसको समाधान सम्भव छ । यो एउटा समाजवादी मोडल पनि हो । यसलाई कसरी मिलाउने भन्ने कुरा अबको नेतृत्वको चुनौति छ । यही मोडल अनुसार हामी अघि बढ्छौं भन्ने लागेको छ ।

तपाईंका चुनावी एजेण्डा के के छन् ?

मैले मुलत तीनवटा काम गर्ने भनेको छु । पानीको उत्पादनमा बृद्धि, त्यसको गुणस्तरमा नियन्त्रण र सेवामा विस्तार, आन्तरिक प्रशासनसँग सम्बन्धित जनमुखी सेवा र आर्थिक पारदर्शीतासहितको सुशासनलाई हामी कार्यान्वयन गराउने छौं ।

तेस्रो कुरा उपभोक्ता शिक्षाको अभाव देखिन्छ । भोट के का लागि दिने, किन दिने जस्ता कुराहरु उठ्ने गरेका छन् । मतदातालाई शिक्षित गर्ने एउटा महत्वपूर्ण अभियान हामी सामु छ भने भने सदस्यहरुको स्वास्थ्य र सरसफाइलाई उत्तिकै प्राथमिकतामा राखेको छौं । हामीले घोषणापत्रमा समेत धेरै कुरा समेटेका छौं ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

उहाँ मेरो दाई हुनु हुन्छ । उहाँ मेरो प्रतिष्पर्धी नभएर उहाँ शालीन भद्र र पुरानो काँकरभिट्टाबासी हुनुहुन्छ । म उहाँलाई सम्मान गर्छु ।

खानेपानी उपभोक्ता समितिलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा छ नि ? तपाईंको बुझाइमा के यो सकारात्मक कार्य हो ?

नगरपालिकाले प्रदान गर्ने सेवा कतिको गज्याङ छ, तपाईंलाई थाहा भएकै कुरा हो । सरकारी सेवा नेपालमा कहीँ कतै प्रभावकारी भएको हामीले सुनेका छैनौं र त्यो सम्भव पनि छैन । नगरपालिकाले खानेपानी संस्थाहरुलाई नियन्त्रण गर्न र आफ्नो मातहतमा ल्याउन खोज्छ भने त्यसबेला जनताले स्वच्छ खानेपानी पाउनबाट बन्चित हुने निश्चित छ । शुक्रबार पाइप फुट्यो भने आइतबारसम्म पर्खनु पर्ने हुन सक्छ । हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं । खानेपानी संस्थालाई नगरको मातहतमा ल्याउने काम गलत हुन्छ । हामी त्यसो हुन दिदैनौँ । यो उपभोक्ताले नै चलाउनु पर्छ ।

अन्त्यमा केही भन्नु छ ?

चुनावी मैदानमा छौं । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । म त विचारले पनि प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मान्यता राख्छु । कटु लोकप्रियताका लागि कुनै पनि कुरा गर्नु हुँदैन । उम्मेदवाहरु संवेदनशील हुनुपर्छ । जीवनसँग जोडिएको विषय भएकाले क्षमतावान व्यक्तिहरुलाई पठाऔं । त्यो सिक्नलाई जाने ठाउँ होइन, काममा दक्षता भएका र अनुभवी व्यक्तिहरु त्यहाँ पुग्न जरुरी छ ।