१२ साउन २०८२, आइतवार

अन्तर्वार्ता

‘मनमोहन प्राविधिक विश्वविद्यालयलाई दक्षिण एसियामै चिनाउनेछौं’

११ साउन २०८२, शनिवार
Image

डा. दिलनाथ फुयाँल कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय (मनमोहन टेक्नोलोजी युनिभर्सिटी, एमटियू) को संस्थापक रजिस्टार हुनुहुन्छ । इलामका स्थायी बासिन्दा डा. फुँयालले वित्तीय अर्थशास्त्रमा नेपालको वित्तीय विकेन्द्रिकरण र यसको प्रभाव विषयमा नर्थ बंगाल युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएको छ । प्रस्तुत छ डा. फुँयालसँग एमटीयूको चार बर्षको यात्राबारे उहाँसँग गरिएको संक्षिप्त कुराकानी ।

मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)को चार वर्ष कस्तो रह्यो ?

हाम्रो विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको हो । एकदमै नयाँ भएकोले पक्कै सुरुका दिनहरू सजिला थिएनन् । विश्वविद्यालय स्थापनाका बेलामा संरचना, जनशक्ति, कानैनी प्रक्रिया, तालिम र प्रशासनलाई एकैपटक अघि बढाउनु पर्ने चुनौती थियो । एकातिर कानूनको अभाव थियो भने अर्कोतिर भौतिक संरचना, विज्ञ र दक्ष जनशक्तिको । तर पनि स्थानीय तह, प्रदेश सरकार, कर्मचारी, शिक्षक र विद्यार्थीको विश्वास जित्नै पर्ने थियो । तर चुनौतीको बीचबाटै अवसर देख्ने बानी भएकाले हामी र हाम्रो मेरो टिम डराएनौं । निरन्तर रातदिन नभनी काम गरिरह्यौं । सोझो अर्थमा भन्दा हामीले पनि पिरामा बसेर काम गरयौ । त्यसैको परिणाम होला अहिले हेर्नुहोस् त देशकै पहिलो प्राविधिक विश्वविद्यालयको संरचना, पाठ्यक्रम र पहिचान स्थापित भइसकेको छ ।

इलामको शीतल हावापानी छोडेर विराटनगरको गर्मीमा बस्दा सुरुमा गाह्रो त भएन, फर्केर जाउँ जाउँ जस्तो लागेन ?

(हाँस्दै) सच्याउनुपर्छ, इलामको हावा शीतल मात्र हैन, अति नै मिठो छ । तर सेवा गर्ने ठाउँ जहाँ भए पनि काम गर्ने मन सफा हुनु पर्छ । विराटनगरको गर्मीभन्दा यहाँका विद्यार्थी र जनतासँगको न्यानोपन ठूलो कुरा हो । त्यसमाथि हाम्रो उपकूलपति (भाइसचान्सलर) पनि आफैमा काममा मरिहत्ते गर्ने पारदर्शी र दक्ष व्यक्त्ति भएको र एमटीयूका जति थियौ सुरुका कर्मचारीहरु पनि सबै मेहनती सहयोग अनि संरक्षण समिति र सभासदहरुको पनि मायालु व्यवहारले यहाँको गर्मीभन्दा जिम्मेवारीको ताप ठूलो थियो सुरुमा, अहिले भने त्यो पनि व्यवस्थापन गर्न सक्ने भएको छु । 

सुरुमा कोशी प्रदेशमा पनि विश्वविद्यालय छ र भन्ने अवस्था थियो तर एमटीयू अहिले देशमा मात्र नभएर भारतमा समेत चिनिन थालिसकेको छ । यहाँसम्म आइपुग्न के कस्ता कठिनाई झेल्नुपर्यो ?

सत्य के हो भने संसारमा सजिलै उपलब्धि पाइँदैन । कानुनी संरचना, स्थायी जनशक्ति, आवश्यक बजेट, भवन र प्रयोगशालासम्मको व्यवस्था गर्न धेरै सानो टिमसँग पहिले हामीले काम गर्यौ । कहिले बजेट अभाव, कहिले संरचनाको अभाव, कहिले नीतिगत तहमा ढिलासुस्ती– यी सबैको सामना गर्यौ । प्रदेश सभाबाट ऐन पारित भएर एमटीयू स्थापना भए पनि आन्तरिक कानुनहरु थिएनन्, पाठक्रम थिएन, योजना र रणनीतिहरु केही पनि थिएनन् । दुई बर्ष त हामीलाई आन्तरिक कानूनहरु, नियमावली र निर्देशिकाहरु बनाउनमै लाग्यो । २०७६ मा स्थापना भएको एमटीयूले बल्ल २०७८ देखि स्नातक तहमा पठनपाठन थाल्यो । गुणस्तरीय पाठक्रम निर्माणमा पनि हामीले धेरै जोखिम मोल्यौ । तर कालो बादलमा चाँदीको घेरा भनेझै यी कठिनाइहरूबाटै हामीलाई नयाँ बाटो खोज्ने अवसर प्राप्त भयो । अहिले हामी खुसी छौं ।   

चार वर्षमै एमटीयू विदेशमा पनि चिनिन थालिनुको पछाडि क कसको योगदान महत्वपूर्ण रह्यो ?  

यो सबै हाम्रो टिमवर्क, दूरदृष्टि र पारदर्शिताको प्रतिफल हो । दक्ष जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय प्राविधिक शिक्षा दिने र दक्षता विकासमा ध्यान दिनु हाम्रो पहिलो प्राथमिकता थियो र छ । यसैले हामीले दिनरात मिहेनत गर्यौ । पहिले देशभित्रका क्याम्पसहरुसँग आपसी सहकार्यका लागि समझदारी गर्यौ । त्यसपछि भारत आसामको गुवाहाटी विश्वविद्यालयसँग हाम्रो सहकार्य भयो । भर्खरै पटनाको एमिटी युनिभर्सिटीसँग पनि हामीले मौखिक समझदारी गरिसकेका छौ र चाँडै लिखित पनि गर्दैछौ । कोलकाताको नर्थबंगाल युनिभर्सिटीसँग पनि हाम्रो सोझो सम्बन्ध स्थापित भैसकेको छ । भारतको दिल्ली र बंगलादेशका युनिभर्सिटीसँग पनि हामी जोडिसकेका छौ । अहिले हामी दक्षिण एशियाका विभिन्न प्राविधिक विश्वविद्यालयहरूसँग साझेदारी, अनलाइन कार्यक्रम सञ्चालन, पाठ्यक्रमको स्तरीयता, तथा अनुसन्धान र नवप्रवर्तनका लागि प्रोत्साहन गर्ने सहकार्य गरिरहेका छौ । यसैले पनि हो एमटीयूको नाम चार बर्ष भित्रै देशको सिमाना बाहिर पनि जान सफल भयो ।  

के त्यसो भए एमटीयूमा विदेशी विज्ञहरु पनि सहभागी भइसक्नुभएको छ ? 

हो, एमटीयूमा पटना, दिल्ली, गुवाहाटी र बंगलादेशका विश्वविद्यालयका विज्ञहरुबाट पनि बिशेष कक्षा सञ्चालन हुन थालेको छ । हाल भौतिक रुपमै एमटीयूमा करारमा  ईन्जिनिरिंङतर्फ भारत मध्यप्रदेशको राजिव गान्धी टेक्नोलोजिकल युनिर्भसिटीका विज्ञ नन्दकिशोर सिंह र राजिव गान्धी युनिभर्सिटी हेल्थसाईन्स बेंगलोरका डा. सुनिल शुक्ला    कार्यरत हुनुहुन्छ ।  

एमटीयू भ्यागुतो जस्तो उफ्रन चाहन्छ तर बजेट अभावले सर्पजस्तै घस्रिरहेको छ भन्ने  गुनासो सुनिन्छ नि ?

सत्य हो, प्रदेश सरकारको बजेट सीमित छ । तर सीमितताभित्र पनि काम गर्न सकिन्छ भन्ने प्रमाण हामीले प्रस्तुत गरेका छौं । बजेट अभावलाई हामीले बाधा होइन, प्रगतिको उत्प्रेरकका रूपमा लिइरहेका छौं । यसैले पनि थोरै बजेटमा पनि धेरै भौतिक संरचना निर्माण गर्नेदेखि पाठ्यक्रम बनाउने, नयाँ नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बिषय विज्ञहरु नियुक्त्त गर्ने लगायतका कामहरु गरिरहेका छौं । तर कोशी सरकारले आफ्नो विश्वविद्यालयलाई गौरव मानेर मन्त्रालय सरह बजेट उपलब्ध गराएमा पाँच बर्षभित्रै एमटीयूलाई दक्षिण एसियामा चिनाएरै छाड्नेछौं । कसैले छेकेर रोकेर रोकिनेवाला छैन । 

सीमित बजेट र महत्वाकांक्षी योजना कसरी सँगसँगै अघि बढाइरहनु भएको छ ?

सञ्चालन खर्चभन्दा परियोजना र साझेदारीमा हामीले बढी जोड दिएका छौ । अनावश्यक खर्च कटौती, साझेदारी कार्यक्रम, अनलाइन कोर्स विस्तार, र प्रदेश तथा संघसँगको सहकार्यबाट पनि हामीले समाधान खोज्ने गरेका छौ । सीमित स्रोतमा बढी निचोड निकाल्नु नै व्यवस्थापन हो भन्ने बुझेको हाम्रो टिमले यसमा अथक मेहनत गरेक छ । म आफै व्यवस्थापकीय अर्थशास्त्रको विज्ञ हुँ । भीसी सर पनि आफै अथक मेहनत भएको क्रिएटिभ व्यक्ति हो । डिन सर पनि नेपालको ईन्जिनियरिङ क्षेत्रको एउटा नमुना नै हुनुहुन्छ । यसैले पनि हामीलाई सीमित बजेटमा महत्वाकांक्षी योजनाहरु अगाडि बढाउन बल पुगेको छ । 

एमटीयूमा चरम राजनीतिकरण छ भन्ने कतिपयको आरोप छ, तपाईंले महसुस गर्नुभयो ?

विश्वविद्यालय र राजनीति छुट्टिन गाह्रो हुन्छ । तर मलाई के लाग्छ भने यसलाई सन्तुलनमा राख्न सकिन्छ । मेरो अनुभवमा मैले नीतिगत निर्णय बाहेक राजनीतिक दवावको आधारमा निर्णय गरेको छैन । स्वच्छ प्रशासन र पारदर्शी प्रणाली राख्दा राजनीतिक हस्तक्षेप आफै कम हुन्छ । जहाँसम्म हाम्रो एमटीयूमा राजनीतिकरणको कुरा छ त्यो सत्य होइन । यहाँ विज्ञ, शिक्षक, कर्मचारी सबै फरक फरक भूगोलको र समावेशी हुनुहुन्छ । यहाँ नत विद्यार्थीको नत शिक्षक कर्मचारीको कुनै संघ संगठन छ । यो बाहिरको हल्ला मात्र हो । 

विश्वविद्यालयको कुशल रजिस्टार हुन के गुणहरू जरुरी पर्दोरहेछ ?

दूरदृष्टि, इमानदारी, कानूनी र प्रशासनिक ज्ञान, संयम र धैर्य हुनुपर्छ । सबैलाई सुन्ने र तथ्यका आधारमा निर्णय लिने क्षमता पनि जरुरी हुन्छ । सानो कुरामा रिसाउने होइन, सबैको विचारलाई सम्मान गर्ने तर नीतिमा सम्झौता नगर्ने बानी चाहिन्छ । सायद ममा पनि ती गुणहरु केही रहेछन् र थप मैले यहाँ आएर सिक्ने अवसर पाएको छु । 

क्याम्पस प्रमुख र विश्वविद्यालयको रजिस्टारमा के फरक देख्नुभयो ?

इलामका क्याम्पस प्रमुख हुँदा क्याम्पस भित्रको शैक्षिक, प्रशासनिक र विद्यार्थीसँगको सम्बन्धमा बढी केन्द्रित हुनुपथ्र्यो । तर रजिस्टारमा आएपछि नीति, कानून, बजेट, प्रशासन, एकाडेमिक कार्यक्रम, कर्मचारी र जनशक्तिको व्यवस्थापनदेखि विश्वविद्यालयको भिजन निर्माणसम्म सबैमा ध्यान दिनुपर्छ । जिम्मेवारीको दायरा फराकिलो हुन्छ, दृष्टिकोण फराकिलो बनाउनुपर्छ । मैले यही फरक पाएँ । 

कूलपति, सहकूलपति र उपकूलपतिको सहकार्य कस्तो छ ? दबाब र प्रभाव कत्तिको झेल्नुपरेको छ ?

एमटीयूमा नेतृत्वको सहकार्य एकदमै राम्रो छ । सबैका आआफ्नै दायरा र जिम्मेवारी छन् ।  कहिलेकाहीँ मतभेद आउनु स्वाभाविक भए पनि हामीमाझ कहिल्यै त्यस्तो भएन । हामी सबैले संस्थागत हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यौ । व्यक्तिगत भन्दा संस्थागत निर्णयलाई प्राथमिकता दिने संस्कृतिले दवाव र प्रभावलाई व्यवस्थापन गर्न सजिलो हुँदोरहेछ । मैले एमटीयूमा आएपछि धेरैजना कूलपति र सहकूलपतिसँग सहकार्य गर्ने अवसर पाएँ । भिसी सरसँगको पहिलो कार्यकाल एकदमै सौर्हादपूर्ण रुपमा बित्यो र दोस्रो कार्यकाल पनि उहाँकै नेतृत्वमा भएकोले अझै राम्रो सहकार्य हुनेछ । यसले प्रस्ट हुनुपर्छ, मैले कहिल्यै कुनै दवाव झेल्नुपरेन, मात्र आफ्नो कामको बाहेक । 

मनमोहन पोलिटेक्निक एमटीयूको आंगिक होइन, जबरजस्ती थोपरिएको हो भन्ने बाहिर चर्चा छ, वास्तविकता के हो ?

मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षाको सशक्त पाटो हो । यसलाई विश्वविद्यालय अन्तर्गत ल्याउनुका कारण व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्न हो । जबरजस्ती भन्दा पनि यसले प्रदेश र राष्ट्रलाई दक्ष जनशक्ति उत्पादनमा मद्दत गर्ने गरी अघि बढाइएको छ । पोलिटेक्निक नै एमटीयुको जग हो । र, अझ प्रस्ट रुपमा भन्नुपर्दा हाम्रो विश्वविद्यालय ऐनले नै पोलिटेक्निकलाई आंगिक शिक्षालय स्वीकार गरिसकेकोले अब कसैले होइन भनेर पनि फरक पर्दैन । किनभने ऐनमा प्रस्ट रुपमा पोलिटेक्निक आंगिक शिक्षालयका रुपमा रहेको कुरा उल्लेख छ । 

अझै के भए विश्वविद्यालय तीब्र गतिमा अघि बढ्न सक्छ ?

स्थायी जनशक्ति, पर्याप्त बजेट र पर्याप्त भौतिक प्राविधिक अझ मजबुत बनाउन सके एमटीयूले अझै तीब्र गतिमा छलाङ मार्न सक्छ । अनुसन्धान र नवप्रवर्तनमा जोड, दक्ष जनशक्तिमा लगानी र प्रविधि उपयोगका कार्यक्रमलाई थप तीव्र बनाउने हो भने एमटीयूले फड्को मार्न सक्छ । आशा गरौ आगामी दिनमा सरकारले बजेटको आकारलाई अझै फराकिलो बनाउँदै लैजानेछ । 

हाल एमटीयूमा कुन कुन विषय अध्यापन भैरहेका छन् ? 

एमटीयूमा तीन स्कुल छन्,  ईन्जिनियरिङ, हेल्थ एन्ड एप्लाईड साईन्स र एप्लाईड साईन्स एन्ड मेडिकल । तीनबटै स्कुल अन्तर्गतका अलग अलग विषयमा स्नातक र स्नातकोत्तर तहमा पठनपाठन सुरु भैसकेको छ । ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एन्ड ईलेक्ट्रोनिक्स अनि एप्लाईडतर्फ कानुन र अस्पताल व्यवस्थापन । अनि मेडिकलतर्फ फार्मेसी बिषयको पठनपाठन भैरहेको छ । आंगिक शिक्षालयतर्फ डिप्लोमा तहमा पनि आठवटा विषयमा पठनपाठन भइरहेको छ । हाल विश्वविद्यालयमा उच्च शिक्षातर्फ र डिप्लोमा तर्फगरी जम्मा ७ सय बढी विद्यार्थी अध्यनरत् छन् । 

विश्वविद्यालय डिग्री दिने मात्र भए अनुसन्धानमा आधारित भएनन् भन्ने जनगुनासो छ, एमटीयू पनि त्यस्तै हो ?

होइन । एमटीयू एकदमै अनुसन्धानमा आधारित विश्विद्यालय हो । यहाँ पढाई नै पचास प्रतिशत थ्यौरी र पचास प्रतिशत प्राक्टिकल अनिवार्य गरिएको छ । एमटीयूको आफ्नै अनुसन्धान केन्द्र छ । यसैले एमटीयूले धमाधम एकपछि अर्को अनुसन्धान पनि गरिरहेको छ । भर्खरै आफनै देशका रैथाने जडिबुटी प्रयोग गरेर भिक्स र सन्चो जस्तै ओखती उत्पादन गर्न सफल भैसकेको छ । सँगै नेपाली जडिबुटी नै प्रयोग गरेर मधुमेह रोग उपचार गर्ने अनुसन्धानलाई पनि बिशेष महत्वकासाथ अगाडि बढाइरहेको छ । यसबाहेक एमटीयूले थप दशवटा अनुसन्धानहरु पनि गरिरहेको छ र ती मध्ये ब्याक्टेरियोफेजलाई हामीले पहिलो प्राथमिकता दिइरहेका छौं ।  

एमटीयूको भावी रणनीति के र कस्ता छन् ?

हामीले पहिले दश वर्षे रणनीति तयार गरेका छौं । जस अन्तर्गत सन् २०३० सम्म एमटीयू दक्षिण एसियामा चिनिएको विश्वविद्यालय हुनेछ । यो अवधिमा एमटीयूले १० वटा नयाँ पाठ्यक्रम निर्माण गरेर दुई वटा विषयमा विद्यावारिधि, ५ वटामा स्नातकोत्तर र ५ वटामा स्नातक विषय पठनपाठन गराउन थाल्ने छ । समग्रमा सन् २०३० भित्र एमटीयूले  अन्तर्राष्टिय स्तरको पूर्ण प्राविधिक विश्विद्यालयको रुप धारण गरिसक्नेछ ।   

सरकारले अस्पताल नदिँदा मनमोहनले मेडिकलतर्फका शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएनन् भन्ने गुनासो थियो, अहिले अवस्था के छ ?

हामी प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौ । हामीलाई यसैपाली धनकुटा अस्पताल हस्तान्तरण गर्ने निर्णय भैसकेको छ । अस्पताल हस्तान्तरण हुनासाथ हामी चाँडै वीएस्सी नर्सिङ, अप्टोमेट्री, रेडियोलोजी, ल्यावरोटरी टेक्नोलोजी, फिजियोथेरापी तथा एमवीवीएस, एमडी र एमएस कार्यक्रमहरु सुरु गर्नेछौं ।   

तर, केहीले त कोशी सरकारले विश्वविद्यालय धान्न सक्दैन । उसका लागि सेतो हात्ती भयो । यसले देखिनेगरी काम गर्ने भन्दा पनि बाहिरी हल्ला धेरै गर्यो भन्ने पनि छन् नि ?

भनाई नै छ देखासेखी गरिखा, आरिसे जति मरिजा । अब कसैलाई एमटीयू स्थापना भएकै मन नपरेको पनि होला । अनि कसैलाई प्रगतिले इष्र्या भएको पनि होला । हो, उनीहरुले नै भ्रम छरेका होलान् यस्ता कुरा । तर वास्तविकता के हो भने हामी हल्ला गर्ने हैन यथार्थको धरातलमा रहेर काम गर्छौ र गरिरहेका छौ । त्यसैको प्रतिफल हो शुन्य अवस्थाबाट यति चाँडै विदेशमा पनि एमटीयू चिनिन सफल भएको । र मैले अगाडि नै भनिसके हामी सिमित स्रोतमा चमत्कार खोज्दै यसैले एमटीयूो प्रगतिमा कुनै बाधा आउँदैन र निरन्तर अगाडि बढेर जान्छ । हामीले महशुस गरे अनुसार एमटीयुलाई कोशी सरकारले आफ्नो गौरव मानेको छ सेतो हात्ती होइन । यसैले त हरेक बर्ष बजेट बढाएर विनियोजन भैरहेको छ । जहाँसम्म धान्न सक्दैन भन्ने कुरा छ हामी अहिले एक सय भन्दा बढि कर्मचारी यहाँ कार्यरत छौ त । यो सख्या अझै निरन्तर बढेर जानेछ । 

विद्यार्थी र अभिभावकले किन मनमोहन नै रोज्ने ?

गुणस्तरीय शिक्षा, दक्षता विकासमा ध्यान, रोजगारमुखी पाठ्यक्रम, दक्ष शिक्षक, प्राविधिक र व्यावहारिक ज्ञानसँगै अनुशासित वातावरण एमटीयूमा छ । विद्यार्थीका सपना साकार पार्नका लागि दक्ष जनशक्ति निर्माण हाम्रो पहिलो प्राथमिकता हो । यही कारणले विद्यार्थी र अभिभावकले मनमोहन रोज्नु उत्तम हुन्छ । एमटीयू आफ्नै देशमा एकदमै कम शुल्कमा  गुणस्तरीय प्राविधिक शिक्षा पढाउने विश्वविद्यालय हो । अब विदेशमा गएर धेरै पैसा खर्च गर्न पर्दैन । एमटीयूले विभिन्न विषयमा विद्यार्थीलाई सरकारको तर्फबाट पारदर्शी तरिकाले छात्रबृत्ति पनि वितरण गर्छ ।