७ वैशाख २०८१, शुक्रवार

सलाम सहारा

क्यान्सर लाग्दा सहारा बन्यो ‘जीवन बरदान’

११ पुष २०७९, सोमवार
Image

झापा, १२  पुस । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिना अघि ठूलो आन्द्रामा क्यान्सर रोग संक्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । 

उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएको कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्र जस्ता क्यान्सर संक्रमितहरु अत्तालिनु अस्वाभाविक होइन । स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधिको विभिन्न चरण पार गर्दा बिरामीले उपचारका लागि घरखेत नै उजाड्नु पर्ने बाध्यता आउने गरेको छ ।

तर, रोगले थलिएको कठिन अवस्थामा दर्जीको उपचार खर्च झापाको विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले व्यहोरिदिएको छ । क्यान्सर उपचारको अधिकांश खर्च सहारा नेपालले व्यहोरेपछि दर्जी चिन्तामुक्त भएर सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारमा जुट्नुभएको छ । 

“अस्पतालमा भर्ना हुँदाको बेड, अपरेसन र औषधि खर्च सहाराले नै भुक्तानी गरिरहेको छ,” हाल १२ औं चरणको केमो उपचार गरिरहनु भएका दर्जी भन्नुहुन्छ–“क्यान्सर लागेको पहिलोपल्ट थाहा पाउँदा उपचार गर्न नसकेर मरिन्छ होला जस्तो लागेको थियो, अब सबै खर्च सहाराले व्यहोर्ने भएपछि बाँच्छु भन्नेमा ढुक्क भएको छु ।”

सहारा नेपालले बिनाकारण उहाँको उपचार खर्च व्यहोरेको भने होइन । सहारा नेपालका सहकारी शेयर सदस्य दर्जी संस्थाको ‘जीवन बरदान’ कार्यक्रमको सदस्य रहनु भएको छ । हरेक शेयर सदस्यले वार्षिक रु. तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् । ती सदस्य जटिल बिरामी भएमा उपचार खर्च संस्थाले व्यहोर्दै आएको छ । 

‘जीवन बरदान’ के हो ?

आफ्नो संस्थाका सदस्य बिरामी भएको र दुर्घटनामा परेको अवस्थामा उपचार सुविधा पुर्याउनका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रम हो ‘जीवन बरदान’ ।

‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्नका लागि सबैभन्दा पहिला शेयर सदस्य हुन जरुरी छ । संस्थाले शेयर सदस्यलाई वार्षिक रुपमा शुल्क लिएर सदस्यता नवीकरण गरिदिन्छ ।

सदस्य बनेवापत एउटा स्मार्ट कार्ड पाउँछन् सदस्यले । शल्यक्रिया गर्नुपर्ने र बेडमा भर्ना हुनुपर्ने कुनै पनि अवस्थाको बिरामीले मान्यताप्राप्त स्वदेशी अस्पतालमा सो कार्ड देखाएर उपचार सेवा लिन सक्ने व्यवस्था संस्थाले मिलाएको छ । प्रदेश नं. १ को बीएन्डसी हस्पिटल, बिर्तासिटी हस्पिटल, मनमोहन हस्पिटल, ओमसाई पाथिभरा हस्पिटल, नोभेल मेडिकल कलेज, न्यूरो हस्पिटल, बिराट मेडिकल कलेज मात्र होइन काठमाडौंका नर्भिक हस्पिटल, ग्रान्डी हस्पिटल जस्ता ३४ वटा ठूला निजी हस्पिटलमा उपचार गराउन सक्ने सुविधा ‘जीवन बरदान’ कार्यक्रमले प्रदान गरेको संस्थाका उपनिर्देशक लक्ष्मणप्रसाद खतिवडाले बताउनुभयो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या काठमाडौंको वीर अस्पताल, सहाराको ‘जीवन बरदान’ कार्यक्रमका सदस्यले त्यहाँ उपचार सुविधा पाउने गरेका छन् । भारतको प्रख्यात राजीव गान्धी क्यान्सर अस्पताल, मेदान्त अस्पताललगायतमा समेत उपचार गराउन सकिने सुविधा संस्थाले प्रदान गरेको उहाँको भनाई छ ।

बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सहारा नेपालको ‘जीवन बरदान’ कार्यक्रमबाट क्यान्सर लगायतका ठूलो रोग लागेका बिरामीको उपचारको जिम्मेवारी लिएर समुदायबाट प्रशंसा पाएको बताउनुभयो ।

गिरीका अनुसार बीएन्डसी हस्पिटलमा सहारा नेपालले हेल्थ डेस्क नै सञ्चालन गरेर विरामीलाई उपचारमा सहजिकरण गरिरहेको जानकारी दिनुभयो । यस्तो हेल्प डेस्क झापाको बिर्तासिटी र मनमोहन हस्पिटलमा समेत राखिएको छ । ती डेस्कमा स्वास्थ्य क्षेत्रका जानकार कर्मचारी खटाइने गरेको छ ।

वार्षिक रु. एक करोडभन्दा बढी उपचार शुल्क तिर्नुपर्ने अस्पतालमा सहारा नेपालले ‘जीवन बरदान’ कार्यक्रमको हेल्पडेस्क राखिने गरेको कार्यक्रमका संयोजक भक्तबहादुर खड्का बताउनुहुन्छ ।  

छ लाखसम्मको शल्यक्रिया सुविधा

सहारा नेपालको ‘जीवन बरदान’ कार्यक्रमबाट बिरामीले शल्यक्रिया वापत रु. छ लाख र औषधि वापत रु. पाँच लाखसम्मको सुविधा पाउने गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । 

“क्यान्सरको उपचारकै कुरा गर्ने हो भने अपरेसन गर्दा छ लाखसम्म र केमो चढाउँदा पाँच लाख रुपैयाँसम्मको खर्च व्यहोर्दै आएका छौं,” ‘जीवन बरदान’ कार्यक्रमका परिकल्पनाकार गिरीले भन्नुभयो–“यसरी हेर्दा दश लाख भन्दा बढीको उपचार सहाराको सदस्यले ‘जीवन बरदान’बाट पाउनुहुन्छ ।”

नेपाली सेना र नेपाल प्रहरीको कल्याण कोषबाट सैनिक तथा प्रहरीले जस्तोसुकै विरामी र दुर्घटनाको अवस्थामा निःशुल्क उपचार पाउने गरेको थाहा पाएर त्यही उत्प्रेरणाबाट ‘जीवन बरदान’ कार्यक्रमको थालनी २०६७ सालमा सुरु गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।

“हामीले यो कार्यक्रम सुरु गर्दा ३५० जना सदस्य हुनुहुन्थ्यो, उहाँहरुलाई बिरामी भएको अवस्थामा उपचार गरेको बिलका आधारमा दश हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइन्थ्यो,” गिरीले भन्नुभयो–“२०७० सालदेखि मुटु, मिर्गौला र क्यान्सर जस्ता घातक रोगका बिरामीलाई २५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने निर्णय भयो ।” 

हाल सहारा नेपालको ३० हजार सदस्य जीवन बरदान स्वास्थ्य कार्यक्रमको सदस्य बनिसकेको कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।

सदस्यले वर्षेनी बुझाउने शुल्क र संस्थाले वार्षिक आयबाट छुट्याउने निश्चित प्रतिशत रकमको स्वास्थ्य कोष बनाएर राखिएको रकम नै हाल करोडौं भइसकेको छ । जसबाट सदस्यको उपचार खर्च व्यहोर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

संस्थाले जीवन बरदान कार्यक्रमलाई आफ्नो सबैभन्दा महत्वको परियोजना मानेको छ । विर्तामोडस्थित प्रधान कार्यालयमा यसको छुट्टै शाखा सञ्चालनमा छ भने अस्पतालहरुमा सेवाग्राहीको सुविधाका लागि हेल्पडेक्सहरु स्थापना गरिएका छन् । हेल्पडेक्सका कर्मचारीले सेवाग्राहीलाई अस्पतालको उपचार सेवामा सहजिकरण गर्दै आएका छन् ।

साना तथा मझौला रोगको उपचारका लागि १२ वर्षअघि परिकल्पना गरिएको जीवन बरदान कार्यक्रम हाल पूर्वी नेपालको आकर्षक स्वास्थ्य उपचार कार्यक्रमको रुपमा स्थापित भइसकेको  पहिलो सदस्य बन्नुभएका संस्थाका संस्थापक सदस्य छविलाल खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमका सदस्यको बाबुआमा र सासुससुरामध्ये कसैको निधन हुँदा संस्थाले क्रियाखर्च वापत रु. ३० हजार र सराय वापत रु. ३० हजार दिने गरिएको छ । सदस्य सुत्केरी हुँदा रु. दुई हजारको पोषण सहयोग र शल्यक्रिया भएका बिरामी अस्पतालबाट घर फर्किसकेपछि समेत ‘होम केयर’ सुविधा सुविधा दिइने गरिएको छ ।

मधुमेह, रक्तचाप, दम, थाइराइड लगायतका दश वटा दीर्घरोगका विरामीको औषधि खरिदमा ५० प्रतिशत अनुदान यसै कार्यक्रमबाट दिइने गरिएको छ । 

कार्यक्रमका संयोजक खड्काका अनुसार आव २०७६/०७७ मा एक हजार २३८ जना, आव २०७७/०७८ मा एक हजार ३०५ जना, आव २०७८/०७९ मा एक हजार ४६० जना र चालू आर्थिक वर्षको पाँच महिनामा ५७० जना बिरामीले ‘जीवन बरदान’ कार्यक्रमबाट उपचार सुविधा लिइसकेका छन् । बिगत १२ वर्षमा यस्तो स्वास्थ्य उपचार सुविधा लिने सदस्यको संख्या पाँच हजार नाघिसकेको उहाँले बताउनुभयो ।

उपचार पाउनेमा अधिकांश महिला रहेको र उल्लेख्य संख्यामा मुटु, मिर्गौला, क्यान्सर जस्ता जटिल रोग लागेकाहरु रहेका छन् । 

सहिद दशरथ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् राजनीतिकर्मी हरिचरण बानियाँ सहाराको ‘जीवन बरदान’ कार्यक्रम ग्रामीण तथा सहरमा बस्ने विपन्न तथा मध्यम वर्गका समुदायको स्वास्थ्योपचारका लागि अत्यन्त आवश्यक सावित भएको बताउनुहुन्छ ।

“म र मेरी श्रीमती दुबै जना क्यान्सरको उपचार गराइरहेका छौं, यसमा सहाराको यस कार्यक्रमबाट धेरै सुविधा पाएका छौं,” उहाँले भन्नुभयो–“अरु सहकारीहरुले सदस्यसँग बचत तथा ऋणको मात्र कारोवार गर्छन्, तर सहाराले रोग लाग्दा उपचारको समेत जोहो गरिदिएको छ ।”

सहारा नेपालको यो स्वास्थ्य उपचार कार्यक्रम लोकप्रिय भएपछि संस्थाको शेयर सदस्य बन्न चाहनेहरु बढेका छन् । संस्थाका अध्यक्ष हरि राजबंशीका अनुसार निकट भविष्यमा सहाराका सबै सदस्यलाई उपचार निःशुल्क बनाउने लक्ष्य राखिएको छ । 

शेयर पूँजी डेढ अर्ब नाघ्यो

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी डेढ अर्ब नाघेको छ ।

सदस्य र पूँजीका आधारमा देशकै ठूलो सहकारी संस्था बनेको दावी गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा शेयर पूँजी रु. एक अर्ब ६३ करोड १४ लाख ८० हजार पाँच सय पुगेको जानकारी दिनुभयो ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी ६ जिल्लामा ७९ वटा सेवा केन्द्र रहेको सहारा नेपालमा एक लाख ५९ हजार ७७८ जना शेयर सदस्य र ५१५ जना कर्मचारी कार्यरत छन् । 

संस्थाको जगेडा कोषमा रु. एक अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० जम्मा रहेको र कूल वासलात रु. १५ अर्ब ३८ करोड पुगेको उहाँले बताउनुभयो ।

बचत, ऋण, लघुवित्त, स्वास्थ्य उपचार र सामाजिक सेवाका विभिन्न कार्यमा अग्रणी रहेको यस सहकारीले बैङ्किङ, गरीवी निवारण, रोजगार सिर्जना, व्यावसायिक प्रवर्धन, सामाजिक जागरणका क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको संस्थाका अध्यक्ष हरि राजबंशी बताउनुहुन्छ ।

कोरोना महामारी र युक्रेन युद्धका कारण सिर्जित आर्थिक मन्दीसँग जुझ्दै सहारा नेपालले आफ्ना सदस्यहरुको आर्थिक क्रियाकलापमा कमी आउन नदिएको जनाउँदै अध्यक्ष राजबंशीले यस वर्ष रु. ४९ करोड ७७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।

रासस


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।