१३ जेठ २०८१, आइतवार

झापाका पर्यटकीय स्थलहरु बनभोजले भरिभराउ

२० पुष २०७९, बुधवार
Image

झापा, २० पुस (रासस) । पुस लागेदेखि नै झापाका पर्यटकीय स्थलहरु बनभोजमय बन्न पुगेका छन् । अरुबेला सार्वजनिक विदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ ।

कनकाई नदीको पाँच किलोमिटर वरपर आधा दर्जन ठूला पर्यटकीय स्थल रहेका छन् । उच्च धार्मिक महत्वको कोटीहोम र माइधारमा धार्मिक पर्यटकको घुइँचो लाग्छ भने मनोरञ्जन तथा डुलफिरका लागि यहाँको दोमुखा, धनुषकोटी, जामुनखाडी र हेप्पीलेन्ड नामका प्राकृतिक तथा मानव निर्मित पर्यटकीय स्थल सञ्चालनमा छन् ।

कनकाई नदीको दोमुखास्थित पूर्वी र पश्चिम किनारमा एक सातायता दैनिक सयभन्दा बढी समूह बनभोजका लागि आउने गरेका छन् । तीर्थस्थलको रुपमा नदीमा पूजापाठका लागि आउने धार्मिक पर्यटकको संख्या बनभोजमा आउनेभन्दा दोब्बर हुने गरेको छ ।

चुरे पहाड छिचोलेर तराईमा फुत्त निस्किए झैं लाग्ने कनकाई नदीको कलकल पानी, हरिया प्राकृतिक डाँडाकाँडा, चिल्ला ढुंगाको बगर, मानवनिर्मित मनोरञ्जन उद्यानले कनकाई नदी वारिपारि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावती बताउनुहुन्छ ।

नदीको पश्चिमतिर शिवसताक्षी–१० मा रहेको दोमुखा पर्यटकीय क्षेत्र बिगत तीन दशकदेखि बनभोजका लागि आकर्षक गन्तव्य बन्दै आएको छ । यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई समेटेर दर्जनौं सिनेमा, सयौं वृत्तचित्र र हजारौं गीति भिडिओ बनिसकेका छन् ।

पुस लागेयता वनभोजका लागि दैनिक पाँच हजार आन्तरिक पर्यटक दोमुखा क्षेत्रमा आउने गरेको अध्यक्ष लावतीले जानकारी दिनुभयो । पर्यटक सत्कारका लागि यहाँका होटल तथा अन्य व्यवसायीहरुले विभिन्न तालिम समेत लिएका छन् ।

दोमुखाको अर्को आकर्षण यहाँ तीन दशक अघि निर्मित नहरको बाँध पनि हो । कनकाई सिञ्चाई परियोजनाले बाँधेको बाँधले एकातिर पानीको सतह बढेको छ भने अर्कातिर नहरतिर बग्ने पानी मनमोहक देखिन्छ । यहाँ बल्छीमा माछा मारेर खानेहरु पनि आउने गर्छन् ।

पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करीब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा पर्यटकलाई बास बस्न र खानका लागि आधा दर्जन सुविधासम्पन्न होटल सञ्चालन भइसकेका छन् । होटलमा मौलिक खानेकुराको रुपमा कनकाई नदीको माछा, घुँगी, गङ्गटासमेत पाइन्छ ।

दोमुखा क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र व्यवस्थापनका लागि शिवताक्षी नगरपालिकाले रु.२३ करोडको लगानीमा पर्यापर्यटन गुरुयोजना अघि बढाएको छ । आन्तरिक स्रोतले मात्र नभ्याउने भएकाले प्रदेश र संघीय सरकारबाट समेत बजेट जुटाउने कार्य भइरहेको छ । 

सो क्षेत्रका प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी) साँवाले यसै वर्ष माइधारदेखि दोमुखासम्मको ग्राभेल सडकलाई कालोपत्रे गरिने जानकारी दिनुभयो । मुलुकको आर्थिक विकास र जनताको समृद्धिको मुख्य आधार नै पर्यटन भएको जनाउँदै उहाँले धार्मिक तथा पौराणिक महत्वको कनकाई नदी र स्थानीय पर्यटकीय स्थलको पूर्वाधार विकासमा सबै तहको सरकारलाई लगानीका लागि पहल गरिने बताउनुभयो  ।

नदीको पूर्वी किनारमा कनकाई नगरपालिकामा रहेको सुकेडाँगी तथा धनुषकोटी पर्यटकीय क्षेत्र रहेको छ । शिवसताक्षीको दोमुखा र कनकाईको धनुषकोटीलाई जोड्न कनकाई नदीमा फलामे झोलुंगे पुल निर्माण गरिएको छ । नदी, बाँध र उत्तरतिरको चुरे पहाडलाई पृष्ठभूमिमा राखेर झोलुंगे पुलमा फोटो खिचाउनेको भीड लाग्ने गरेको पत्रकार सरोज भट्टराई बताउनुहुन्छ ।

कनकाई नगरपालिका वडा नं. २ स्थित सुकेडाँगी सामुदायिक बनभित्र कनकाई नदीको पूर्वी किनारमा रहेको धनुषकोटी धाम तथा पर्यटकीय स्थल झापा र जिल्ला बाहिरबाट बनमोजका लागि आउने आन्तरिक पर्यटकको रोजाई बन्ने गरेको छ ।

पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर कालोपत्रे सडक हुँदै सहजरुपमा पुग्न सकिने धनुषकोटीमा बनभोजका लागि चौर, उद्यान, बिजुली, पानी, शौचालय आदिको सम्पूर्ण पूर्वाधारको व्यवस्था छ ।

“पश्चिम हेर्दा माइखोलाको कलकल पानी, उत्तर हेर्दा चुरे पहाडको तरेली र वरिपरि हरियो जंगलले नै यहाँ लोभ्याउँछ,” सुकेडाँगी सामुदायिक बनका अध्यक्ष शान्ति उपाध्याय भन्नुहुन्छ–“घुम्न, डुल्न परिवारका साथ आउनेहरु मात्र होइन, मनलाई शान्त बनाउन प्राकृतिक वातावरणमा रमाउन चाहनेहरुका लागि समेत धनुषकोटी धाम उपयुक्त स्थान हो ।”

संघ संस्था र युवा क्लवको साधारणसभा, जन्मोत्सव र बनभोजका कारण पुस र माघ महिनामा धनुषकोटी पर्यटकीय क्षेत्र पर्यटकले भरिभराउ हुने गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो । सामुदायिक बनले पर्यटकलाई सुविधा पुर्याउन वर्षेनी पूर्वाधार निर्माणमा लगानी थप्ने र सरसफाईमा ध्यान दिने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ दैनिक चार हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । बनको ७४२ हेक्टर बन क्षेत्रमध्ये पाँच हेक्टर क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको र त्यहाँ तीन जना सरसफाई कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभयो ।

झापाको विभिन्न पालिकाबाट मात्र नभएर मोरङ, सुनसरी, इलाम, चितवन र भारतको दार्जीलिङबाट समेत डुलफिर र बनभोजका लागि पुसको पहिलो सातादेखि नै हरेक दिन सरदर ३० वटा समूह बनभोजका लागि आउने गरेको उहाँको भनाई छ । 

बनभोजका लागि नजिकै रहेको अर्को प्रसिद्ध पर्यटकीय स्थल हो जामुनखाडी सिमसार । जामुनखाडी सिमसार नजिकै हेप्पीलेन्ड पार्क नामक पर्यटकीय आकर्षणको केन्द्र रहेको छ । जामुनखाडी, हेप्पीलेन्ड र धनुषकोटीलाई पर्यटक मार्ग नाम दिएर सडक सञ्जालले जोडिएको छ भने त्यहाँबाट दोमुखा जान कनकाईमा राजमार्गको पुल र दोमुखामै झोलुंगे पुल रहेको छ ।

कनकाईका रहेका पर्यटकीय स्थलहरुलाई सडक सञ्जालले जोड्नका लागि कनकाई नगरपालिकाले रु. ४३ लाख बजेट बिनियोजन गरिसकेको छ भने स्थानीय सामुदायिक बनहरुले यसमा बजेट थपेका छन् ।

कनकाई नगरपालिका वडा नं. १ र २ मा फैलिएको जामुनखाडी सिमसार झापाको पुरानो र देशमै पहिचान बनाइसकेको पर्यटकीय स्थल हो । कोरोना महामारी आउनुभन्दा अघिसम्म हरेक वर्ष अढाई लाख आन्तरिक पर्यटक भित्राउन सफल यसको उसबेलाको वार्षिक आम्दानी रु. तीन करोडसम्म हुन्थ्यो । 

“कोराना महामारीपछि पर्यटकीय क्षेत्र सुस्तायो, चहलपहल नै घट्यो,” जामुनखाडी सामुदायिक बनका अध्यक्ष ख्याम सिटौला भन्नुहुन्छ–“यसवर्षदेखि पर्यटकीय चहलपहल फेरि बढेको छ । बनभोज खान र डुलफिरका लागि टाढादेखि पर्यटकहरु आउन थाल्नु सुखद् विषय हो ।”

जामुनखाडी सिमसारमा २०६० सालमा निर्मित दुई वटा ठूला ताल छन् । जहाँ डुंगा सयरका लागि पर्यटक आकर्षित हुने गरेका छन् । बनले मिनी चिडियाखाना सञ्चालन गरेका कारण पर्यटकहरु लोभिने गर्छन् ।

झापाका सामुदायिक बनहरुले आफ्नो प्राकृतिक स्रोत र साधनको पहिचान रप्रचार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरेका छन् । चन्द्रगढी, खुट्टेडाँगी, कालिका, बाँसबारी लगायतका दर्जनौं सामुदायिक बनहरुले बनभोज स्थलको पूर्वाधार निर्माण गरेर पर्यटकीय आकर्षण बढाएका छन् ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।