१५ वैशाख २०८१, शनिवार

कनकाईको प्रवेशद्वारमै राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिक

२७ पुष २०७९, बुधवार
Image

झापा, २७ पुस । झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने तपाईलाई सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिब्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकले स्वागत गर्नेछ ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको शालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरुको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउनुहुन्छ ।

“कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको शालिक देख्न पाउँदा गौरवबोध हुन्छ,” विर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत रहिसक्नु भएको ओझा भन्नुहुन्छ–“संघीय सरकारले भर्खर राष्ट्रिय विदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान गर्यो ।”

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै शालिक स्थापना गरिएको बताउनुभयो ।

“कम्युनिस्ट आस्था बोकेको मेयरले किन राजाको शालिक ठड्याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे,” शालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भन्नुहुन्छ–“दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने माहान व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित हुनुहुन्छ ।”

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ । गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले शालिकको अनावरण गरेको थियो ।

नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले शालिक निर्माणको प्रस्ताव २०७७ सालमै लैजानु भएको थियो । उहाँ यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित हुनुभएको हो ।

“मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा शालिक बनाउनु पर्छ भनेर नगरबोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो,” उहाँले भन्नुभयो–“बोर्डका साथीहरुसँग बाहेक जनजाति संगठन र नगरभित्रका राजनीतिक दलहरुसँग पनि सल्लाह गरेका थियौं । सबै सकारात्मक हुनुभयो ।”

नगरपालिकाले पृथ्वीनारायण शाहको शालिक निर्माणका लागि रु. सात लाख बजेट बिनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्बाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुंगामा पृथ्वीनारायण शाहको उक्त शालिक कुँद्नु भएको हो ।

नगरको यो शालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटकहरु शालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन् ।

यसपाली कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिनुभयो ।

नगरभित्रका विद्यालयहरु प्रतियोगितामा सहभागी थिए । आफ्नै बजेटमा पृथ्वीनारायण शाहको शालिक बनाउने कनकाई नगरपालिका नेपालकै पहिलो पालिका भएको उहाँले दावी गर्नुभयो ।

झापाको कचनकबद गाउँपालिकाले समेत वडा नंं ५ पाठामारीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेको छ । पूर्व अध्यक्ष अन्जार आलमले वडा कार्यालयले जग्गाको व्यवस्था मिलाएपछि पालिकको रु. छ लाख बजेटबाट शालिक निर्माण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पूर्वअध्यक्ष आलमले पार्टीले नै पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक र राष्ट्र निर्माताको रुपमा सम्मान गर्ने नीति लिएको हुँदा शालिक बनाइएको बताउनुभयो ।

आदिबासी राजबंशी र मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको कचनकबलमा निर्मित पृथ्वीनारायण शाहको शालिकमा हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रमको आयोजना हुने गरेको छ । 

झापाको अर्को गाउँपालिका हल्दिबारीले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मानमा वर्षेनी स्थानीय विदा दिदै आएको छ । 

मुलुक संघीयतामा प्रवेश गरेपछि नेपालमै पहिलोपटक हल्दिबारीले पृथ्वी जयन्तीमा विदा दिने परम्पराको थालनी गरेको पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । विगत वर्षदेखिको यो विदाको परम्परा यसपाली पनि कार्यान्वयन भइरहेको छ ।

पालिकाका अध्यक्ष लिङ्देनले आफ्नो कार्यकक्षमा बिगत पाँच वर्ष अघिदेखि नै पृथ्वीनारायण शाहको तस्वीर राख्दै आउनु भएको छ । पुस २७ गते स्थानीय विदा दिने निर्णय उहाँले सुरुवात गरेपछि झापाको कचनकबल र गौरीगञ्जमा समेत स्थानीय विदा दिने गरिएको थियो ।

कार्यकक्षमा राष्ट्रनिर्माताको फोटो राख्ने हल्दिबारी गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङ्देन यस अघि र अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । नगरपालिकाको प्रवेशद्वारमा शालिक राख्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि दुबै कार्यकाल नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।