१२ वैशाख २०८१, बुधवार

पहिलोपल्ट बाहुनडाँगीमा तरुल महोत्सव

२ माघ २०७९, सोमवार
Image

झापा, २ माघ । मेचीनगरको वडा नं. ४ बाहुनडाँगीमा कृषि ज्ञान केन्द्र र वडा कार्यालयको आयोजनामा तरुल महोत्सव सम्पन्न भएको छ ।

परम्परागत रुपमा सबै समुदाय र भूगोलका नेपालीले स्वादिलो मानेर खाँदै आएको तरुलका विभिन्न प्रजाति महोत्सवमा प्रदर्शनी गरिएको थियो ।

आइतवार सम्पन्न कार्यक्रममा सन्ध्या बुढाथोकी (काउली बुढी) र उमेश राई (फुलन्देकी आमा) लगायतका राष्ट्रिय कलाकारहरु मनोरञ्जनात्मक प्रस्तुतिसहित सहभागी भए ।

“हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ, मानव जातिले जंगली जीवनमै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए,” मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले  तरुल महोत्सव बारे भन्नुभयो–“हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर महोत्सवको आयोजना गरेका हौं ।”

झापामा तीन वर्षपछि माइमेला

झापाको पवित्र कनकाई नदीमा तीन वर्षपछि मकर संक्रान्तिको अवसरमा माघी मेला सम्पन्न भएको छ ।

कोभिड–१९ को महामारी सुरु भएपछि कनकाईमा मेला लागेको थिएन । यसपाली नदीको पूर्वी किनारस्थित कोटीहोम क्षेत्रमा र पश्चिमतिरको माइधारमा अलगअलग माघी मेला लागेको छ ।

मकर संक्रान्तिका अवसरमा हरेक वर्षको माघ १ गते कनकाई नदीमा धार्मिक स्नान गर्न र मेला भर्न झापा, इलाम, पाँचथर र ताप्लेजुङदेखि भक्तजनहरु आएको गरेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ ।

नेपाल बाहिर भारतको दार्जीलिङ, आसाम र सिक्किमबाट समेत हजारौं तीर्थयात्री माइमेलामा आएको उहाँले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले कोटिहोम क्षेत्र र शिवसताक्षी नगरपालिकाले माइधार क्षेत्रको माइमेला व्यवस्थित गर्न मेलाको ठेक्का लगाउने गरेको छ ।

कनकाई नदीमा मकर संक्रान्तिमा स्नान गर्दा रोग निको हुने धार्मिक विश्वास छ भने मनोकामना पूरा गर्न भाकल गर्नेहरु समेत नदीमा मकर नुहाउन आए ।

कनकाई नदीमा तीन वर्षपछि मेला लाग्दा टाढा टाढाबाट आएका भक्तजनको घुइँचो देखिएको स्थानीय सताक्षीन्यूजका सम्पादक विनोद सापकोटाले बताउनुभयो । उहाँले भक्तजनलाई पूजा र स्नानका लागि सुविधा होस् भनेर स्थानीय पालिका, सुरक्षा निकाय र सामाजिक संघसंस्थाहरुले आपसमा समन्वयका साथ सहयोग पुर्याइरहेको पाइएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले माइमेलामा सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि दुई सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताउनुभयो । खासगरी कनकाई पुलमा सवारी जाम नहोस् भनेर ट्राफिक प्रहरीको विशेष परिचालन गरिएको उहाँले बताउनुभयो ।

मेलामा मनोरञ्जनका खेल तमासाहरु र खानपिनका होटलहरु दर्जनौंको संख्यामा सञ्चालनमा आएका थिए ।