२३ भदौ २०८१, आइतवार

अर्जुनधाराको पशुबजार सार्न ८७ सटर निर्माण

५ माघ २०७९, बिहिवार
Image

झापा, ५ माघ । प्रसिद्ध अर्जुनधारा जलेश्वरधामको धार्मिक सौन्दर्य संरक्षणका लागि शनिश्चरेको साप्ताहिक हटिया र पशु बजारलाई स्थानान्तरण गर्न आधुनिक बजार निर्माण गरिएको छ ।

प्रदेश नं. १ सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा रु. दुई करोड २० लाखमा सुविधासम्पन्न बजार निर्माण गरिएको अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताउनुभयो ।

अर्जुनधारा–८ मा १० कठ्ठा जग्गामा नवनिर्मित बजारमा पसल सञ्चालनका निम्ति ८७ वटा सटर निर्माण सम्पन्न भएको छ । गत जेठ मसान्तमै निर्माण कार्य सम्पन्न भइसके तापनि बजार सञ्चालनमा आउन सकेको छैन ।

नवनिर्मित बजारमा सडक, विद्युत, सञ्चार, खानेपानी, शौचालय लगायतका सुविधा पुर्याइएको छ । खसी, कुखुरा, सुँगुर र राँगा बध गर्नका लागि बजारमा अत्याधुनिक कटिङ सेन्टर र ऊर्जा स्रोतका लागि बध गरिएका पशुबाट निस्कने फोहोरबाट चल्ने ३५ घनमिटरको ग्याँस प्लान्ट निर्माण भएको छ ।

“अर्जुनधारा धाम देश विदेशमा प्रख्यात धार्मिकस्थल भएकाले त्यहाँ वरिपरि राँगा, खसी, कुखुरा र सुँगुर काट्न दिनुहुँदैन भनेर पहिल्यैदेखि आवाज उठिरहेको थियो,” सो बजारको अवधारणासहित पहल गर्नुहुने अर्जुनधारा नगरपालिकाका निवत्र्तमान नगरप्रमुख हरिकुमार राना भन्नहुन्छ–“वर्षेनी लाखौं पर्यटक आउने धार्मिक क्षेत्रको उचित संरक्षणका लागि पशु बजार, मासुपसल र साप्ताहिक हटियालाई बजारबाट बाहिर व्यवस्थित गर्न यो बजारको निर्माण गरेका हौं ।”

शनिश्चरेको पशुबजार र हटियालाई सार्ने नगरपालिकाले प्रयास गरिरहे तापनि कतिपय स्थानीयबासीले बजार नसार्न दवाव दिइरहेका छन् । धाम प्रवेश गर्ने सडक र बजारको बीचमै जथाभावी पशुबध गर्ने र खुद्रा पसल थाप्ने कार्यले शनिश्चरे बजार अस्तव्यस्त हुँदै आएको छ ।

सुविधासम्पन्न सटरसहितको आधुनिक बजार निर्माण भइसकेको हुँदा परम्परागत रुपमा जथाभावी लाग्दै आएको हटिया र मासु बजारलाई निकट भविष्यमै त्यहाँ स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताउनुभयो ।

“धार्मिक पर्यटकीय क्षेत्र भएकाले बजार र मन्दिर भएको क्षेत्रमा पशुबध गर्न हुँदैन भनेर सबैले मनन गरिसक्नु भएको छ,” उहाँले नगरपालिकाको योजना बारे भन्नुभयो–“सबै राजनीतिक दल, व्यवसायी र नगरबासीबाट बजार छिटो सञ्चालनमा ल्याउन सहयोग प्राप्त हुने विश्वास लिएका छौं ।” 

सो आधुनिक बजार निर्माणका लागि स्थानीयबाट अर्जुनधारा नगरपालिकाले १० कठ्ठा जग्गा दानमा प्राप्त गरेको हो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।