१४ वैशाख २०८१, शुक्रवार

सभामुख घिमिरे : लोकतान्त्रिक राजनीतिमा त्याग र संघर्षका पर्याय

६ माघ २०७९, शुक्रवार
Image

झापा, ६माघ । प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देबराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर संघर्ष गर्नुभएको निष्ठावान राजनीतिक योद्धा हुनुहुन्छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो ।

वि.सं. २०७८ मा चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन हुनुभएको थियो ।

अर्जुनधारा–६ निवासी घिमिरे वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानको रुपमा जन्मनु भएको हो । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गर्नुभएको उहाँले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।

काठमाडौंको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके)को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिनु भएको थियो ।

वि.सं. २०३१ मा नेपाली कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर उहाँ वि.सं. २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आवद्ध भई पार्टीको राजनीतिक काममा लाग्नु भएको थियो । उहाँले पञ्चायती शासनविरुद्ध संघर्षको क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोग्नु भएको थियो ।

वि.सं. २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उहाँ भूमिगत राजनीतिकै क्रममा वि.सं. २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बन्नुभयो । 

वि.सं. २०३५ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता औपचारिक रुपमा प्राप्त गर्नुभएको उहाँ ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, संघर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल हुनुहुन्छ । उहाँ शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पुर्याएका त्यागी, अनुभवी र परिपक्व नेताको रुपमा समेत परिचित हुनुहुन्छ ।

उहाँ वि.सं. २०५६ मा राष्ट्रिय सभा सदस्य चयन हुनुभएको थियो भने वि.सं.२०७९ को आम चुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्नुभएको हो ।

नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउन्डेसनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्ष हुनुहुन्छ । 

उहाँले वि.सं. २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको संगठन विभाग प्रमुख, वि.सं. २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, वि.सं. २०४९ मा नेकपा माले र नेकपा माक्र्सबादीको एकीकरणपश्चात गठन भएको नेकपा (एमाले)को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।

उहाँ वि.सं. २०५० मा नेकपा (एमाले)को मेची अञ्चल इन्चार्ज, वि.सं. २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, वि.सं. २०७५ मा नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीचको एकीकरणपछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को अध्यक्ष हुनुभएको थियो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।