१३ वैशाख २०८१, बिहिवार

राजनीति

कांग्रेसले प्रचण्डलाई के भनेर फकाइरहेको होला ?

६ माघ २०७९, शुक्रवार
Image

झापा,६ माघ । प्रतिपक्षी नेपाली कांग्रेसले सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ भनेर जान्दा जान्दै किन राष्ट्रपति पदमा आफ्नो उम्मेद्वारले जित्ने दावी गर्छ ?

नेपाली राजनीतिमा पछिल्लो समय सबैभन्दा यक्ष प्रश्न भनेकै यही हो ।

यसको उत्तर अब प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले देखाउने व्यवहारबाट मात्र आउने छ । प्रचण्डको अलिकति मनपेट नपाई कांग्रेसले पक्कै पनि यत्रो आँट गरेको होइन होला भन्ने आम संशय पनि छ ।

कांग्रेसले राष्ट्रपति चुनावमा माओबादीबाट फ्लोर क्रस हुने र एमालेको उम्मेद्वार हार्ने आँकलन गरेको छ । जसका लागि वातावरण बनाउन कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल लगायत बाहिर नदेखिने गरी सक्रिय छन् ।

राजनीतिक वृत्तमा दक्षिणतिरको छिमेकी पनि यो प्रयासमा कम्मर कसेर लागेको अनुमान गर्छन् । तर, प्रचण्ड जतिसुकै द्विविधामा रहे तापनि अन्तिममा माओबादीले एमालेका उम्मेद्वारलाई भोट हालेर जिताउने सम्भावना बढी छ ।

कांग्रेसले सत्ता गठबन्धन फुटाउन नसके पनि गठबन्धनको प्रमुख घटक नेकपा एमालेको मनभित्र माओबादीप्रति शंका जन्माइदिन भने सफलता पाएको छ ।

त्यसैले, प्रचण्डको खास परीक्षा अब हुने राष्ट्रपति चुनावमा हुने मानिएको छ । अहिलेको गठबन्धन नै भत्काउने गरी प्रचण्डले एमालेको उम्मेद्वार हराएर कांग्रेसलाई राष्ट्रपति पुरस्कार देलान् त ? यसको उत्तर निश्चय नै अहिलेको परिस्थितिमा सकारात्मक आउँदैन ।

कांग्रेसले के भनेको होला ?

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई खुलेर र नखुलेरै राष्ट्रपति पदमा एमालेको नेतालाई नपुर्याउन दवाव बढाइरहेका छन् ।

आजका दिनमा राष्ट्रपति एमालेको तर्फबाट हुँदा संसद् विघटनताका के भयो र नागरिकता विधेयकमा के भयो भनेर प्रचण्डलाई कांग्रेसले झस्काइरहेको छ ।

यदि भोलिका दिनमा राष्ट्रपति फेरि एमालेकै भयो भने सभामुख एमालेकै हुँदा संसद् विघटनको नयाँ संस्करण निम्तिने डर पनि कांग्रेसले देखाइरहेको छ ।

आधा कार्यकाल बाँडीचुँडी गर्ने एमालेसँगको समझदारीका कारण अढाई वर्षपछि प्रधानमन्त्री पद पनि एमालेकै हातमा गएपछि सबै मुख्य पदमा एमालेको राइँदाइँ चल्ने त्रास पनि कांग्रेसले माओबादीलाई देखाइरहेको छ ।