एचआईभी/एड्स
एचआईभी/एड्स
।। डा. लीना देबकोटा ।।
एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई प्राणघातक भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे ‘एचआईभी संक्रमण पो भयो कि भन्ने आशंकाले डराउँथे ।
विभिन्न कारणले एचआईभी संक्रमित भएकाहरुलाई सामान्य जीवन बाँच्न सहज थिएन । एचआईभी लागेपछि के हुन्छ ? काम गर्न सक्छन् वा सक्दैनन् ? कति बाँच्छन् ? यावत प्रश्न उनीहरुमाथि छेडिएको हुन्थ्यो । किनभने सुरुवाती अवस्थामा संक्रमितले औषधि उपचार पाएका थिएनन् । औषधिको अनुसन्धान भएको थिएन । त्यसैले संक्रमित भएकै कारण मृत्यु हुने जोखिम उच्च थियो ।
तर अहिले अवस्था त्यस्तो छैन । न एचआईभी संक्रमणको चर्चा हुन्छ, न यसबाट हुने सम्भावित मृत्युको भय नै ।
अहिले सहज रूपमा औषधि उपलब्ध छ । एचआईभी संक्रमितले पनि दीर्घरोग मधुमेह र उच्च रक्तचाप जस्तो जीवनभर औषधि सेवन गरेर सामान्य जीवन बिताउन सक्छन् । जसकारण अहिले यो रोगको आतंक घटेको छ ।
एचआईभीको संक्रमण दर अलिअलि घटेको हो । तर भय भने धेरै घटेको छ । नेपालमा संक्रमण फैलिंदा औषधि उपलब्ध थिएन । उपलब्ध भए पनि पहिले संक्रमित भएका व्यक्तिको मृत्युपछि मात्र अर्को संक्रमित व्यक्तिले औषधि पाउँथे ।
अहिले एचआईभी संक्रमण देखिने बित्तिकै काउन्सिलिङ गरेर औषधि सुरु गराइहालिन्छ । संक्रमण पुष्टि भएको ३–४ दिनमा नै औषधी सुरु गराइन्छ । औषधि सेवन गरेपछि संक्रमितलाई एड्स हुँदैन जसले गर्दा भय घटेको हो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमण दर घट्दै गएको पाइएको छ । दुई दशकमा नयाँ एचआईभी संक्रमण दर झण्डै ८४ प्रतिशतले घटेको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ ।
एचआईभीको भय घट्नुको मुख्य कारण भनेको औषधि उपचार प्रभावकारी हुँदै जानु हो । संक्रमित हुने बित्तिकै उपचारको व्यवस्था छ । जसले गर्दा विश्वभर नै संक्रमितको संख्या घट्दै गएको छ । यो संक्रमणको विषयका जनचेतना पनि राम्ररी फैलिएको छ जसले गर्दा नयाँ संक्रमितको संख्या घट्दो छ । संक्रमित भएकाहरू पनि एड्सको अवस्थासम्म पुग्दैनन् ।
भय कम भए पनि एचआईभी संक्रमितलाई गरिने व्यवहारमा भने परिवर्तन आएको छैन । उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । एचआईभी संक्रमणको जोखिम अहिले १८ देखि ४० वर्षको उमेर समूहलाई बढी छ ।
एचआईभी संक्रमण भएपछि जीवन नै सकिन्छ भन्ने जुन धारणा थियो, त्यो यथावत छैन । औषधि नियमित रूपमा सेवन गरेमा एचआईभीको कारण मृत्यु हुँदैन । संक्रमितहरूले पनि अन्य सामान्य व्यक्तिले जसरी नै जीवनयापन गर्न सक्छन् ।
एचआईभी संक्रमितले पनि पूर्ण जीवन बाँच्न सक्छन् । अहिले एचआईभीको नयाँ नयाँ औषधि उपलब्ध छन्, जसको नियमित सेवन गर्ने व्यक्ति उसको पूरा आयु बाँच्न सक्छन् ।
यदि श्रीमान् वा श्रीमतीमा एक जना एचआईभी पोजेटिभ र एक जना नेगेटिभ छन् भने जो नेगेटिभ छ उसलाई प्रेप भन्ने औषधि दिइन्छ । जो पोजेटिभ छ उसले आफ्नै औषधि सेवन गर्छन् । यसो गर्दा त्यो दम्पतीबाट जन्मिएको बच्चा नेगेटिभ हुन्छ र पार्टनर पनि नेगेटिभ हुन्छ त्यसरी १५ वटा जति बच्चा जन्मिसकेका छन् ।
एचआईभी संक्रमण भएको पाँचदेखि सात वर्षसम्म केही पनि लक्षण नदेखिन सक्छ । ज्वरो आउने, पखाला लाग्ने जस्ता सामान्य समस्या पनि नदेखिन सक्छ, जसकारण धेरै व्यक्ति ‘म स्वस्थ छु, मलाई त केही स्वास्थ्य समस्या छैन भन्ठान्छन् । आफू एचआईभीको जोखिममा पो छु कि भन्ने मान्छेले सोच्दैन । यो समयमा उसले अरूलाई संक्रमण सारिरहेको हुन सक्छ । संक्रमण हुने बित्तिकै लक्षण देखिने भए त सबै उपचारको पहुँचमा हुन्थे ।
एचआईभी संक्रमित भएको ५–७ वर्षपछि मात्र लक्षण देखिन थाल्छ । संक्रमण भएपछि शरीर संक्रामक रोगसँग लड्न असमर्थ हुन्छ, जसले लामो समयसम्म ज्वरो आउने, पखाला लाग्ने र वजन घट्ने जस्ता लक्षण देखिन्छन् ।
एचआइभी एक प्रकारको भाइरस हो । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई आक्रमण गरी कमजोर बनाउँछ । जब कोही एचआईभी संक्रमित हुन्छ, उसको शरीर संक्रामक रोगहरूसँग लड्न असमर्थ हुन्छ । एचआईभी भाइरसले प्रतिरक्षा प्रणालीको ती कोषिकाहरुलाई नष्ट गर्छ । एचआईभी भाइरसको समयमै उपचार गरिएन भने शरीरमा संक्रमण बढ्न थाल्छ र यसले एड्स निम्त्याउन सक्छ ।
(लेखक डा. देबकोटा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका मेडिकल अफिसर हुन् । उहाँको यो विचार अनलायन खबरबाट साभार गरिएको हो ।)