झापा, १५ बैशाख । ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वीनाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ ।
अनुमगनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएको पेय पदार्थ बरामद भएको छ । अनुगमनमा खटिएको टोलीले विक्रीका लागि पसलमा राखिएको अवस्थामा कोकाकोला, फेन्टा, स्प्राइट, किन्ले लगायतका म्याद गुज्रिएका पेय पदार्थ फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।
संयुक्त अनुगमन टोलीले काँकडभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद संगम किराना पसल, कञ्चन कोल्ड स्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो ।
अनुगमनका गरिएका पसलबाट बरामद गरिएका म्याद गुज्रिएका पेय पदार्थलाई जफत गरेर रीतपूर्वक नष्ट गरिएको उहाँले बताउनुभयो । खान अयोग्य पेय पदार्थ विक्री गर्ने पसलेलाई कार्वाही स्वरुप सचेत गराउनुका साथै तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीय उपभोक्ताहरुले काँकडभिट्टा बजारमा म्याद गुज्रिएका सामानहरु खुलेआम बिक्री वितरण भइरहेको उजुरी गरेका थिए । ‘हेल्लो सरकार’मा परेको उजुरीलाई जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि पठाइएपछि अनुगमन भएको जनाइएको छ ।