१४ वैशाख २०८३, सोमवार

मेची उद्योग वाणिज्य संघ

पूर्व अध्यक्ष तिम्सिनाको प्रस्ताव– “सबैलाई अटाएर सर्वसम्मत नेतृत्व छानौं”

१४ वैशाख २०८३, सोमवार
Image

धुलाबारी, १४ बैशाख । मेची उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिनाले सर्वसम्मत नेतृत्व चयनको मार्गमा अग्रसर हुन सबै पक्षलाई प्रस्ताव गर्नु भएको छ ।

लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै उहाँले अहिलेको आवश्यकता र आम व्यवसायीहरुको चाहना ‘सर्वसम्मत नेतृत्व’ रहेको बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाउन समेत आग्रह गर्नु भएको छ ।

“आम व्यवसायीको चाहना के छ र अहिलेको आवश्यकता के हो भन्ने कुरालाई सबै पक्षले मनन गर्नुपर्छ,” नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष समेत रहनु भएको तिम्सिनाले भन्नुभयो– “फुटेर होइन, जुटेर नयाँ नेतृत्व चयन गर्न सकियो भने हाम्रो संघलाई सबैको हक र हितका लागि जुट्ने साझा थलो बनाउन सकिन्छ ।”

संघको कार्य समितिमा प्रतिनिधित्व गर्न चाहने सबै पक्षले निस्वार्थ भावले सोच्ने र प्रयास गर्ने हो भने सर्वसम्मत नेतृत्व चयन टाढाको विषय नहुने उहाँको धारणा छ ।

लोकतन्त्रमा प्रतिष्पर्धा नराम्रो विषय नभए तापनि धेरै वर्षदेखि प्रतिष्पर्धाबाट नेतृत्व चुनेको अनुभव र त्यसका फाइदा र बेफाइदा बारेमा सबैजना जानकार रहेको उल्लेख गर्दै संघका पूर्व अध्यक्ष तिम्सिनाले व्यावसायिक एवम् सामाजिक संघ संस्थामा राजनीतिक दलहरुको हस्तक्षेपकारी भूमिकालाई आम व्यवसायीहरुले असहज रुपमा लिइरहेको आफ्नो बुझाई रहेको बताउनुभयो ।

उहाँले यसपाली संघलाई दलीय हस्तक्षेपबाट मुक्त राख्न र सबैको थलोको रुपमा रुपान्तरण गर्न सर्वसम्मत नेतृत्व चयनको मार्गमा अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले अमेरिका–इरान–इजरायल युद्ध र रुस–यूक्रेन युद्धका कारण विश्वव्यापी आर्थिक मन्दीको नकारात्मक असर खेपिरहेका आम व्यवसायीहरु संघको नयाँ नेतृत्व विभिाजित नभई सर्वसम्मत रुपमा आइदिओस् भन्ने चाहिरहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी संघको चुनावमा राजनीतिक दलको प्रतिनिधित्व गराउन प्यानल बनाउने चलनबाट अलग रहने र स्वतन्त्र रुपमा व्यवसायीहरु नै चुनावमा भाग लिन पाउने वातावरणको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“रास्वपाले मुलुकको र यस जिल्लाको पहिलो दल हुनुको नाताले केही दिन अघि सर्वदलीय बैठक राखेर सबै पक्ष मिलेर जाउँ भन्ने प्रस्ताव राखिसकेको छ,” उहाँले भन्नुभयो– “सवैलाई समेटेर जानुपर्छ भन्ने प्रस्तावबाट हामी अहिले पनि पछाडि हटेका छैनौं । आवश्यक परेमा हामी छलफललाई अझ अगाडि बढाउन प्रतिवद्ध छौं ।”

कसरी सबै पक्षलाई मिलाएर अघि बढ्न सकिन्छ र आम व्यवसायीको चाहना बमोजिम नयाँ नेतृत्व चयन गर्न सकिन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– “यो कुनै गाह्रो विषय होइन, हामीसँग यसको चित्तबुझ्दो समाधान र उपाय छ । आवश्यक परेमा त्यसलाई उचित समय र फोरममा सार्वजनिक गर्नेछौं ।”

मेची उद्योग वाणिज्य संघको निर्वाचन यही बैशाख २६ गते हुँदैछ । अध्यक्ष पदका लागि हाल तीन जनाको नाम चर्चामा छ । वत्र्तमान अध्यक्ष खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर) र उपाध्यक्ष भूमि पौडेलले अध्यक्ष पदमा उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहनु भएको छ ।