१४ वैशाख २०८१, शुक्रवार

मेची उवासंघ चुनाव

‘दुबै प्यानलको मत पाउनसक्ने’ वलिया उम्मेद्वार कपिल

२० माघ २०७९, शुक्रवार
Image

मेचीनगर, २० माघ । मेचीनगरका आम व्यवसायीमाझ कपिल क्षेत्री (किशोर) ‘दुबै प्यानलको मत तान्नसक्ने’ बलिया उम्मेद्वार मानिनुहुन्छ ।

यसपालीको मेची उद्योग वाणिज्य संघको चुनावमा उहाँ अध्यक्षको उम्मेद्वार बन्नुहुने धेरैको अनुमान थियो । तर, लोकतान्त्रिक प्यानलले उहाँलाई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारमा खुम्च्यायो । 

चर्चामा आएभन्दा ‘एक स्टेप’ खुम्चिनु पर्दा उहाँलाई झनै फाइदा भएको छ । किनकि, अब उहाँले ‘अध्यक्ष बन्नुपर्थ्यो’ भन्नेहरुको सहानुभूति मत पनि पाउने सम्भावना बढेको छ ।

लोकतान्त्रिक प्यानलले ‘अर्कोपटक अध्यक्षमा’ उम्मेद्वार बन्न र यसपटक ‘मोहन निरौलालाई जिताउन’ आग्रह गरेपछि उहाँ आनाकानी नगरी वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्न राजी हुनुभयो ।

अध्यक्षको बलियो उम्मेद्वारको रुपमा चर्चा पाइसक्नु भएको क्षेत्री वरिष्ठ उपाध्यक्षमा पनि बलियो नहुने कुरै भएन । लोकतान्त्रिक प्यानलको पूर्ण समर्थन रहेको र छ दलीय गठबन्धनका साथीहरुको पनि प्रशस्त सहानुभूति पाइरहेको उहाँ दावी गर्नुहुन्छ ।

‘एउटा समूहमा बसिसकेपछि समूहको निर्णय मेरा लागि पदभन्दा ठूलो हुन्छ,’ उहाँले भन्नुभयो–‘साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा यसपाली उठ्नुपर्छ भन्नुभयो, मैले थपक्कै मानेँ ।’

धुलाबारी बजारमा संघर्षशील व्यापारीबाट उदीयमान उद्योगीको पहिचान बनाउनु भएका युवा व्यवसायी कपिल क्षेत्री (किशोर) आम व्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ ।

दार्जीलिङको सेन्ट लुइसबाट उच्च शिक्षा हासिल गर्नुभएको उहाँले युक्रेनको युनिभर्सिटीबाट सफ्टवेयर इन्जिनियरिङ उत्तीर्ण गर्नुभएको हो । 

गार्मेन्ट व्यवसायीको रुपमा परिचित उहाँको धुलाबारी बजारमा रेडिमेट पसल छ भने विर्तामोडमा कोल्ड स्टोर सञ्चालनमा छ । चीनबाट सामान नेपाल ल्याउने इम्पोर्टरको रुपमा व्यवसाय गर्नुभएको उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय राजस्व समितिको सदस्य समेत हुनुहुन्छ ।

उहाँले मेची आम्दा हस्पिटलमा अक्सिजन प्लान्ट ल्याउन, जोरसिमलको सशस्त्र चौकी हटाउन, कोरोनाकालमा विभिन्न राहतमूलक अभियानमा निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो ।

मेची उद्योग वाणिज्य संघको स्थापना गर्न र त्यसलाई सबैको साझा थलो बनाउने सन्दर्भमा उहाँको भूमिकालाई सबै विचार र क्षेत्रका व्यवसायीहरुले प्रशंसा गर्दै आएका छन् ।

‘उहाँ वान साइडेड भएर कहिल्यै पनि काम गर्नुहुन्न, यो राम्रो पक्ष हो,’ व्यवसायीहरु उहाँको कार्यशैली बारे भन्ने गर्छन्–‘उहाँ लोकतान्त्रिक विचारधारा बोक्नुहुन्छ, त्यो विषयमा उहाँ प्रष्ट हुुनुहुन्छ । तर सबैको विचारको उचित सम्मान हुनुपर्छ भन्ने उहाँको भावनाबाट साम्यबादी, राजाबादी र स्वतन्त्र मत राख्नेहरु समेत प्रभावित हुन्छन् ।’

सबैसँग छिटो घुलमिल हुने, संस्थामा काम गर्दा राजनीतिभन्दा माथि उठ्ने र जिम्मेवारी बाँडेर काम गर्ने उहाँको शैली छ । यही कार्यशैलीका कारण उहाँ कहिल्यै विवादमा पर्नुभएन । बरु फरक विचार राख्नेहरुमाझ झन् लोकप्रिय बन्नुभयो ।

धुलाबारी र काँकरभिट्टा वाणिज्य संघको एकीकरण गरेर मेची उद्योग वाणिज्य संघको पहिलो कार्यसमिति गठन हुँदा उहाँ संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँ ‘सिनियर क्यान्डिडेट’ हो भन्ने प्रष्टै छ ।

अहिले वरिष्ठ उपाध्यक्षका लागि संघका संस्थापक अध्यक्ष पन्नालाल जैन र स्वतन्त्र उम्मेद्वारी दिनु भएका हरि कोइराला उहाँको प्रतिष्पर्धी हुनुहुन्छ । दुबै जनासँग उहाँको राम्रो सम्बन्ध रहेको छ ।

प्रतिष्पर्धीका बारेका कुनै नकारात्मक टिकाटिप्पणी नगरी उहाँ आफ्ना लागि मतदातासमक्ष मत मागिरहनु भएको छ । ‘म यस्तो र उहाँहरु उस्तो भनेर टिप्पणी गर्न चाहन्न,’ उहाँ भन्नुहुन्छ–‘मेची उद्योग वाणिज्य संघमा कस्तो उम्मेद्वारलाई जिताउनु पर्छ भनेर आम व्यवसायीहरुले सोचविचार गरेर मत दिनुहुन्छ । विगतमा गरेका राम्रा काम र संस्थाप्रतिको मेरो लगावलाई देखेर उहाँहरुले मलाई नै मत दिनुहुन्छ, यो मेरो विश्वास हो ।’

विभिन्न कालखण्डमा उहाँले संघको भिन्नाभिन्नै जिम्मेवारी सम्हाल्नु भएको छ । रोटरी क्लव जस्तो मानवीय संस्थामा पनि उहाँले नेतृत्वदायी कार्य गरिसक्नु भएको छ । 

धुलाबारी बजार निवासी उहाँ मेचीनगरका आम व्यवसायीहरुको समस्या बारेमा परिचित हुनुहुन्छ । धुलाबारी बजारलाई चलायमान बनाउनु पर्ने, काँकरभिट्टालाई पर्यटकीय पूर्वाधारयुक्त आकर्षक सहरको रुपमा विकास गर्नुपर्ने र बाहुनडाँगी, इटाभट्टा, चारआली लगायतका बजारहरुमा आधुनिक सहरी सुविधा र व्यवस्थापन पुर्याउन जरुरी रहेको उहाँको धारणा छ ।

‘यी सबै समस्याको समाधान संघको आफ्नै स्रोत र साधनबाट सम्भव नहोला, तर सक्षम नेतृत्व चुनियो भने त्यसले विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरेर परिणाम दिन्छ’–उहाँ भन्नुहुन्छ ।

संघको नेतृत्वले व्यवसायीका समस्याको समाधानका लागि मेचीनगर नगरपालिकासँग धेरै सहकार्य गर्नुपर्छ । आम व्यवसायीहरुले क्षेत्रीलाई नगरपालिकाबाट सहयोग लिने क्षमता भएको व्यावसायिक नेताको रुपमा पनि पत्याउने गरेका छन् । 

मेची उवासंघ र व्यवसायीका लागि मरिमेटेर लाग्ने लोकप्रिय छवि बनाउनु भएको क्षेत्री सामाजिक संघ संस्थामा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । अहिले चुनावमा उहाँको यही छवि लोकप्रियताको सबैभन्दा ठूलो आधार बनिरहेको छ ।