१३ कार्तिक २०८२, बुधवार

गरामनीमा एमालेको लगत्तै राप्रपाको र्याली, तनाव बढ्ने संकेत

१३ कार्तिक २०८२, बुधवार
Image

झापा, १२ कात्तिक । विर्तामोडको गरामनी क्षेत्रमा झापा विद्रोहका शहीदहरुको शालिक तोडफोड भएको विषयलाई लिएर तनाव बढ्दै गएको छ ।

गरामनी बजारमा रहेको कम्युनिस्ट शहीदहरुको शालीक जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक जत्थाबाट तोडफोड भएको थियो ।

यही विषयलाई लिएर विरोध जनाउँदै केही दिन अघि नेकपा एमालेले गरामनी क्षेत्रमा र्याली र सभा आयोजना गरेको थियो । एमालेका नेताहरुले शहीदको शालिक तोडफोडमा विभिन्न व्यक्तिहरुको संलग्नता रहेको भन्दै नामहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए ।

यही विषयलाई लिएर राप्रपाले आज गरामनी बजारमा सद्भाव र्यालीको आयोजना गरेको छ । नागरिक तहको भनिए तापनि र्यालीमा सहभागी अधिकांश राप्रपाका कार्यकर्ता तथा समर्थक छन् ।

एमालेको र्यालीकै काउन्टरमा आजको राप्रपाको र्याली निस्किएको आशंका गर्दै स्थानीयबासीले गरामनीमा राजनीतिक तनाव बढ्दै गएको बताएका छन् ।

आजको र्यालीका सहभागीहरुले सामाजिक सद्भाव कायम गरौं, मजदूर एकता जिन्दाबाद, गरामनीबासी एक हौं, शान्ति सुरक्षा कायम गरौं लगायतका नारा लगाएका थिए ।

र्यालीका सहभागीले राप्रपाको झण्डा भने बोकेका थिएनन् । उनीहरुले गरामनी बजार परिक्रमा गरेका थिए । 

झापा विद्रोहका कम्युनिस्ट शहीदहरुको सबैभन्दा धेरै शालीक गरामनीमा स्थापना गरिएको थियो । अराजक जत्थाले ती शालिकको तोडफोड गरेर कतिपय शालिकको टाउको सडकमा फ्याँकेको पाइएको थियो ।