१९ फागुन २०८०, शनिवार

विचार

केक नकाटी पनि मनाउन सकिन्छ जन्मदिन

२५ माघ २०७९, बुधवार
Image

हाम्रो पूर्वीय संस्कृतिमा जन्मदिनलाई विशेष दिन मानिन्छ । यो दिन शुभकार्य गरेर स्वस्थ रहने, दीर्घायु प्राप्त गर्ने आशीर्वाद लिइन्छ । दियो बाल्ने, अष्टचिरञ्जीवीको पूजा गर्ने, मन्दिर जाने र आमाबुबा तथा अन्य मान्यजनको आशीर्वाद लिनेजस्ता कार्य गरेर मनाइन्छ ।

जन्मदिनको दिन वृद्धाश्रममा पुगेर वृद्धवृद्धालाई खानेकुरा वा लुगाफाटो बाँड्ने, दुःखी–गरिबलाई खुवाउने, घरमै वा सार्वजनिक स्थानमा फलफूलका बिरुवा रोप्ने जस्ता परोपकार र वातावरणमैत्री काम गर्ने हाम्रो संस्कार हो । यस्तै जन्मदिनका दिन घरमै खिर, हलुवा, लड्डु, मिठाइजस्ता पदार्थ खाने र आफ्नालाई खुवाउने पनि हाम्रो संस्कृति हो ।

पश्चिमा संस्कृतिको अनुकरण गर्दै पहिले पहिले नेपालमा धनाढ्यहरूले जन्मदिनमा केक काटेर पार्टी गर्थे । तर अचेल अधिकांशको घरमा यो चलन पुगिसकेको छ । एक वर्ष पुगेका बच्चादेखि वृद्धवृद्धासमेतको जन्मदिन मनाइदिने (बर्थडे सेलेब्रेसन) चलन आएको छ, केक काटेर । अचेल जन्मदिनमा मात्र होइन विवाह वर्षगाँठ (म्यारिज एनिभर्सरी), संघसंस्थाको वार्षिकोत्सवलगायत अवसरमा केक काट्ने चलन मौलाएको छ । अचेल त हाम्रा नेताहरूले समेत केक काटेर जन्मदिन मनाएको रमाइलो दृश्य देख्न पाइन्छ, टेलिभिजन र युट्युबमा ।

जन्मदिनमा पश्चिमाको अनुकरण गर्दै मनाइने बर्थडेले मानिसको स्वास्थ्य मात्र होइन, मस्तिष्क पनि ध्वस्त पारेको छ । हो, पश्चिमा जगतको नक्कल गर्नुपर्छ, तर राम्रा कुराको । स्वस्थ रहन उनीहरूले दिएको ज्ञानको ‘फलो’ हामीले गर्नैपर्छ । तर आफ्नै समाजमा भएको भरिपूर्ण संस्कृति मेटाएर मानिसको स्वास्थ्य र देशको संस्कृतिलाई हानि पुर्याउने काम कुनै पनि अर्थले राम्रो मान्न सकिँदैन ।

पहिले पहिले जन्मदिन वा कुनै पनि शुभअवसरमा आफ्नै घरमा बनाएका परिकार खाने चलन थियो, जुन स्वास्थ्यका दृष्टिले हितकर थियो । तर अचेल जुनसुकै चाडपर्व वा शुभकर्ममा बाहिरकै परिकार (केक, मिठाइजस्ता)लाई महत्व दिइन्छ । अझ अहिले त घरमा नभई रेस्टुरेन्ट वा पार्टी प्यालेसमा पार्टी गर्ने चलन आएको छ । यसबाट एकातिर मानिसको सिर्जनशीलता मर्दैछ, अर्कोतिर रेस्टुरेन्ट र पार्टी प्यालेसका अस्वस्थकर खानेकुराले मानिसलाई दिनप्रतिदिन अस्वस्थ बनाइरहेको छ ।

जन्मदिन, विवाह वर्षगाँठमा काटिने केककै कुरा गरौँ । यो कुनै पनि दृष्टिले स्वस्थकर छैन । बजारबाट ल्याएको केक देख्दा मात्रै आकर्षक हुने हो । प्रयोग भएका सामग्री (कच्चा पदार्थ) र बनाउने तरिका नै स्वस्थकर हुँदैनन् । मैदा, चिनी, क्रिम बनाउन प्रयोग हुने पदार्थ स्वास्थ्यका लागि ठीक होइनन् । यसमा प्रयोग हुने गुलियोले बालकदेखि प्रौढसम्मको स्वास्थ्यलाई हानि गर्छ । त्यो कसरी बन्छ ? के के हालिन्छ भन्ने हामी देख्दैनौँ । बनाएर फूलबुट्टा भरेर जन्मदिन मनाउनेको नाम लेखेपछि मात्र हाम्रो हातमा पर्छ ।

पहिले पहिले केक काट्दा वरिपरि बत्ती बालेर मुखले फुकेर निभाउने चलन थियो । अचेल केक काट्ने वेलामा एक किसिमको झिरझिरे बत्ती (बर्थडे स्पार्कलर्स) बाल्ने चलन आएको छ । त्यो बिस्तारै माथि पुग्छ र घट्दै घट्दै केहीबेरमा निभ्छ । यसैगरी केक काट्ने समयमा ‘स्नो स्प्रे’ नामको रसायन छर्किने चलन पनि छ । झिरझिरे बत्ती एक्कासी माथि पुग्दा र बिस्तारै निभ्दै गर्दा निस्किने तथा स्प्रेको रसायन पर्दा केक झनै प्रदूषित बन्छ । आँखाले नदेखिने हानिकारक कणहरू केकमा पर्छन् । यस्तो केक खाँदा विशेषगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ । सुस्वास्थ्य र दीर्घायुको कामना गर्दैगर्दा हामीले खाने पदार्थ नै अस्वस्थकर भएपछि आशीर्वादको के अर्थ !

हामीले हाम्रा छोराछोरीलाई कस्तो बनाउने ? सानैदेखि अनि अर्को कुरा घरमै आफ्नो हातले बनाएका स्वस्थकर खानेकुरा खुवाएर उनीहरूलाई स्वस्थ बनाउने कि बजारका खानेकुरा खुवाएर सानैमा अस्वस्थ ? यहाँनेर स्वास्थ्य मात्र नभएर शिक्षा र संस्कारको पनि कुरा छ । उनीहरूलाई के सिकाउने ?

बत्ती (दीप) बालेर उज्यालो पारेर ‘उजस्तै निरन्तर बलिरहुँ’ भन्ने भावनाले मनाउनुपर्ने जन्मदिन अचेल बत्ती निभाएर मनाइन्छ । जन्मदिनमा ‘अब मेरो बाटो अँध्यारो होस्’ भन्न खोजेको पो देखियो । यस्तो देख्दा उनीहरूको मनमस्तिष्कमा ‘जन्मदिन भनेको बत्ती निभाएर केक काट्ने अवसर हो’ भन्ने बस्छ । जन्मदिनमा अस्वस्थकर खानेकुरा खानुपर्ने रहेछ भन्ने लाग्नसक्छ ।

घरमै परिकार बनाएर खाँदा स्वस्थ्य होइने पक्ष त छँदैछ, त्यसबाट उनीहरूले सिक्ने सिपको पनि महत्व छ । परनिर्भरबाट आत्मनिर्भर बनाउने कुरा छ । जन्मदिन मनाउँदा साथीभाइलाई चकलेटको साटो स्वास्थ्यलाई फाइदा गर्ने खानेकुरा– बदाम, छोकडा, किसमिस जस्ता ‘ड्राइ फ्रुट्स’ बाँड्नु राम्रो हो ।

म त भन्छु, जन्मदिनमा पश्चिमाको अनुकरण गर्दै मनाइने बर्थडेले मानिसको स्वास्थ्य मात्र होइन, मस्तिष्क पनि ध्वस्त पारेको छ । जन्मदिनमा हामीले केक मात्र काटेको होइन, संस्कृति काटेको हो । जानी नजानी स्वास्थ्यलाई जोखिममा पारेको हो ।

एकपटक मनन गरौँ ।

लेखकको बारेमा
Image
डा.अरूणा उप्रेती

स्वास्थ्य विषयमा उहाँ लेखहरु लेख्नु हुन्छ ।