२७ वैशाख २०८१, बिहिवार

धुलाबारी खानेपानी चुनाव

दलहरुलाई अध्यक्ष छान्न सकस

२९ फागुन २०७९, सोमवार
Image

धुलाबारी, २९ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी चैत १८ गते हुने चुनावका लागि अध्यक्ष पदमा आकांक्षीहरु धेरै देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस परिरहेको छ । 

२०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानीमा अहिलेसम्म नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । २७ वर्षदेखि कांग्रेसले खानेपानीको बागडोर समालिरहेको छ ।

स्थापना कालका संस्थापक अध्यक्ष राम कट्टेल, त्यसपछि मणिकुमार उप्रेती, छविलाल खतिवडा, बाचाङ नेम्बाङ, इन्द्रबहादुर बुढाथोकी र हालका अध्यक्ष अजय घिमिरे छन् । ३ वर्षे कार्यकाल रहेको खानेपानीमा अध्यक्ष बुढाथोकीले दुई कार्यकाल विताए । यी सबै कांग्रेसबाट अध्यक्षमा विजयी भएका हुन् ।

धुलाबारी खानेपानीमा ५ हजार ७ सय उपभोक्ता छन् । धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ नम्बर वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् भने थोरै मेचीनगर–१४ मा रहेका छन् । 

निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ११ जना विजयी हुनेछन् । ५ जना मनोनित गर्ने व्यवस्था छ । निवर्तमान अध्यक्ष स्वतः कार्यसमितिमा रहने व्यवस्था रहेको छ ।

अध्यक्ष बाहेक अन्य पदमा नेकपा एमाले लगायतका दलका उम्मेद्वार विजयी भएपनि २७ वर्षदेखि खानेपानी संस्थाको नेतृत्व कांग्रेसले मात्र गरिरहेको छ । 

यस पटकको लडाइ भने कांग्रेसले आफ्नो विरासत जोगाउन र एमालेले विरासत तोड्नका लागि हुनेछ । खानेपानीको चुनावलाई राजनीतिक दलहरुले अर्थपूर्णरुपमा हेरेका छन् ।

नयाँ नेतृत्व आफ्नो पकडमा पार्न दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी पनि सुरु गरिसकेका छन् । 

तेस्रो ठूलो दल माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगायत साना दलहरुले पनि खानेपानी समितिमा जान आन्तरिक गृहकार्य गरेका छन् । 

धुलाबारी खानेपानीमा विशेष गरेर कांग्रेस र एमाले निकट उपभोक्ता बढी छन् । दुवै पार्टी अध्यक्षसहित अन्य पदहरुमा जित्ने दावी गरेर उम्मेदवार छान्ने कसरतमा जुटेका छन् । 

यद्यपि दलहरुलाई उम्मेदवारहरुको नाम फाइनल गर्न सकस परिरहेको छ । एउटै पदमा आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुङ्ग्याउन निकै कसरत गर्नुपर्ने देखिएको छ । 

उम्मेदवारका विषयमा पार्टीभित्र छलफल व्यापक भइरहेको छ । खानेपानीको निर्वाचनमा सत्ता पक्षधर दलहरु मिलेर जान सक्ने संकेत पनि देखिएको छ । त्यसो हुँदा कांग्रेस–माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायत दलहरु एकातिर र एमाले अन्य दलसँग समिकरण गर्ने सम्भावना छ ।

यसपटक धुलाबारी खानेपानीको अध्यक्षमा कांग्रेसबाट धनकाजी दाहाल खत्रीको नाम चर्चामा छ । उनी वर्तमान खानेपानीको कार्यसमिति सदस्य हुन् । काँग्रेस मेचीनगरका उपसभापतिसमेत रहेका खत्री मेचीनगर–९ निवासी हुन् । 

खानेपानीका वर्तमान अध्यक्ष अजय घिमिरेले पनि इच्छा देखाएको बुझिएको छ । उनले आफ्नो कार्याकालमा आम्दा पछाडिको नयाँ ट्याङ्की बनाएको जस र अन्य धेरै काम गर्न बाँकी रहेकोले पार्टीले सर्वसम्मत गरे पछि नहने दावी गरेका छन् ।

यता एमालेबाट अध्यक्ष पदमा चेतन विष्ट, चन्द्रमणि पौडेल र रचिन्द्र श्रेष्ठको नाम चर्चामा छ । मेचीनगर–१० निवासी श्रेष्ठ खानेपानीको अघिल्लो कार्यसमिति सदस्य हुन् । पौडेल खानेपानीका उपभोक्ता मात्र हुन् भने विष्ट वर्तमान कार्यसमितिका उपाध्यक्ष छन् ।

अध्यक्ष पदमा एमालेबाट पौडेलको नाम अगाडि रहेको पार्टी स्रोतले बताएको छ । विष्ट र श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ । विष्टले पनि अध्यक्ष पदमा पार्टीमा आफ्नो भिजन सहितको दावी पेश गरेका छन् । एमालेले आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेर चाँडै टुंग्याउने बताएको छ ।

समितिले उपभोक्तालाई पुस महिना सम्मको महसुल बुझाउन चैत ३ गतेसम्मको म्याद तोकेको छ । सो समय अवधिभित्र महसुल बुझाएका उपभोक्ताले मात्रै मतदानमा सहभागी हुन पाउने अध्यक्ष घिमिरेले बताए ।  


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।