१२ साउन २०८१, शनिवार

विद्यार्थी राजनीति

विद्यार्थी द्वन्द्वको अचानो बन्यो काँकरभिट्टा क्याम्पस (हेर्नुहोस् भिडिओ)

३ चैत २०७९, शुक्रवार
Image

मेचीनगर, ३ चैत । मेचीनगरको त्रिवि आवद्ध दुई क्याम्पसमध्ये काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लिएर द्वन्द्व चुलिएको छ ।

मुलुकका दुई ठूला विद्यार्थी संगठन मानिएका अनेरास्ववियू र नेविसंघ स्ववियूको सत्ता हत्याउन आपसमा भिड्दा क्याम्पस प्रशासन अचानो बन्न पुगेको छ भने क्याम्पसमा अनपेक्षित भिडन्तको त्रास बढेको छ ।

नेविसंघले यस क्याम्पसमा निर्धारित चैत ५ गते चुनाव हुनुपर्ने माग गरिरहेको छ भने अनेरास्ववियूले चुनाव रोक्न माग गरेको छ ।

परस्पर यही मागले उत्पन्न तनावका कारण क्याम्पस परिसरमा चौबीसै घण्टा प्रहरीको ठूलो संख्या सुरक्षाका लागि तैनाथ हुने गरेको छ भने ताला लगाउने र फोड्ने जस्ता भिडन्तउन्मूख गतिविधि भइरहेका छन् ।

‘एउटा संगठन चुनाव कुनै हालतमा रोकियोस् भन्ने माग लिएर आउँछ र धम्क्याउँछ,’ क्याम्पसका एक जिम्मेवार पदाधिकारी भन्नुहुन्छ–‘अर्को संगठन आउँछ र चुनाव चैत ५ गते नै हुनुपर्छ नत्र हामी जे पनि गर्छौं भन्छ ।’

यस्तो परिस्थितिमा चुनाव गराउनु भनेको थप भिडन्त निम्त्याउनु हो भन्ने ठानेर क्याम्पस प्रशासन, निर्वाचन समिति, प्राध्यापक संघ र त्रिवि प्रतिनिधिको शुक्रवार बसेको संयुक्त बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।

क्याम्पसको यो निर्णय आउनु अघि चुनाव रोक्न माग गरिरहेको नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताले आन्दोलनको नाममा अराजक गतिविधि गरेका थिए । उनीहरुले क्याम्पसको बोर्ड फाल्ने लगायतका अमर्यादित कार्य गरेका थिए ।

उच्छृंखल कार्य गरेको आरोपमा अनेरास्ववियूका नेता सन्तोष धमला र सन्देश पौडेललाई क्याम्पस प्रशासनले ३ महिनाका लागि निलम्बन कार्वाही गरेको जनाएको छ । निलम्बनप्रति अनेरास्ववियूको जिल्ला कमिटिले आपत्ति जनाइसकेको छ ।

क्याम्पसले चुनाव स्थगित भएको जानकारी दिन शुक्रवार अपरान्ह ३ बजे काँकरभिट्टा खानेपानी समितिको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलन सुरु हुनै लाग्दा नेविसंघका कार्यकर्ताहरुले उस्तै अराजकता प्रस्तुत गर्दै क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको हातबाट प्रेस विज्ञप्ति खोसेर च्याते ।

उनीहरुले अनेरास्ववियूको प्रभावमा परेर क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको आरोप लगाउँदै चुनाव गराउन नसक्ने भए क्याम्पस प्रमुखले पदबाट राजीनामा दिनु पर्ने बताएका थिए ।

नेविसंघका कार्यकर्ताले पत्रकार सम्मेलन कब्जामा लिएर कार्यक्रम विथोलेका थिए । नाराबाजीसहित धर्ना दिएपछि पत्रकार सम्मेलन बिथोलिएको थियो । 

शैक्षिक गतिविधिमा अब्बल मानिदै आएको काँकरभिट्टा क्याम्पसको छवि स्ववियू चुनावको सन्दर्भमा विद्यार्थी संगठनहरुबीच भइरहेको अस्वस्थ राजनीतिक प्रतिष्पर्धाका कारण धुमिल हुन थालेको छ ।

केही वर्ष अघि धुलाबारी क्याम्पसमा विद्यार्थी संगठनहरुको यस्तै द्वन्द्वका कारण प्रहरीको गोली लागेर विद्यार्थी मनिल तामाङको मृत्यु समेत भएको थियो । काँकरभिट्टाको विद्यार्थी संगठनबीचको राजनीतिक द्वन्द्वको छिटो समाधान नखोज्ने हो भने कुनै पनि बेला अप्रिय घटना नहोला भन्न सकिन्न ।

राजनीतिक दल, विद्यार्थी संगठन, क्याम्पस प्रशासन र स्थानीय प्रशासनले संवाद र सहमतिको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न विलम्ब नगरुन् ।

काँकरभिट्टा क्याम्पसको पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थी  (हेर्नुहोस् भिडिओ)।