झापा, १९ कात्तिक । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएका ७७ थान हतियार फिर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत भदौ २४ गते अनारमनी र दमकको इलाका प्रहरी कार्यालयबाट ९९ थान हतियार लुटिएको थियो । जसमध्ये ७७ थान फिर्ता भइसकेको र २२ थान हतियार अझै फिर्ता हुन बाँकी रहेको कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार आज अपराह्न ४ः४५ बजेतिर विर्तामोड नगरपालिका वडा नं. ६ सुगम शान्ति टोलको सिमल तरुलको झाडीभित्र ०३११००८७२ नं. को एक थान इन्सास राइफल, एक थान म्यागजिन र २१ राउन्ड गोली वेवारिसे अवस्थामा फेला परेको छ ।
उक्त भेटिएको इन्सास अनारमनी इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार भएको उहाँले बताउनुभयो । बरामद हतियार अनारमनी इप्रकामा ल्याएर राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो अनियन्त्रित भीडले अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए ।