झापा, २४ कात्तिक । शिवसताक्षीस्थित दुधे रंगशालामा आज सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतिष्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लवलाई १–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लव फाइनल खेलमा बिजयी भएको होे ।
उपाधिसँगै पुलिस क्लवले नगद रु. १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपिएफ फुटबल क्लवले नगद रु. पाँच लाख प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लवकी मिना देउवाले हात पारेकी छन् । उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर रु. २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु. एक लाख ५० हजार प्राप्त गरेकी हुन् ।
प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लवकी पूजा रानाले जितेकी छन् । यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लव), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लव), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लव), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लव), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लव) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लव) बनेकी छन् । उत्कृष्ट विजेताहरुले जनही रु. २५ हजार प्राप्त गरेका छन् ।
आजको खेल रोमाञ्चक रहेको थियो । खेलको २२ औँ मिनेटमा पुलिस क्लवकी मीना देउवाले आफ्नो टोलीलाई १–० गोलको अग्रता दिलाएकी थिइन् ।
विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गर्नु भएको थियो ।